हाइड्रो भिलेज म्याग्दीको नारच्याङमा १० जलविद्युत् आयोजना बन्दै

Apr 20, 2017 RSS

कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज)का रुपमा चिनिन थालेको छ ।

नारच्याङमा विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण गरिएको थियो । जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताए ।

अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट गरी नारच्याङमा मात्रै करिब २९० मेगावाट विद्युत् उत्पादन गर्न सकिने गुरुङको भनाइ छ ।

“अहिले आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” उनले भने । पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत्् आयोजना निर्माणको कार्य सुरु भएको छ ।

त्यसैगरी ३८ मेगावाटको निलगिरि, ६२ मेगावाटको निलगिरि क्यास्केट, १० मेगावाटको रेलेखोला आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न भएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो, ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएका छन् ।

यस्तै लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जले विस्तृत सर्वेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण समेत गरिसकेको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँमा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।

नारच्याङमा करिब ४८० घरधुरीको बसोबास रहेको छ । घलेम्दीखोला आयोजनामा करिब ९० जना स्थानीयवासीले रोजगारी पाएका छन् । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजाल आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप विकास गरी क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताए। नारच्याङ गाविसका बासिन्दाले करिब रु एक करोड आयोजनामा सेयर लगानी समेत गरेका छन् ।

उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोवस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत बढ्न थालेको छ भने जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको लागि सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढेको छ ।

स्थानीयवासी अर्जुन मगर नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसरमात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन समेत सहयोग पुगेको बताए । रासस

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।