तेस्रो त्रैमासको बित्तीय बिबरणको गहन अध्ययन गर्नुहोस्, लगानीको योजना बनाउनुहोस्

Apr 21, 2017 Merolagani

तिलक कोइराला

कम्पनीहरुले तेस्रो त्रैमासमा गरेको प्रगतिको बिबरण पस्कने क्रम धमाधम सुरु भएको छ । कम्पनीहरुको प्रगतिको अबस्था अध्ययन गरेर सेयर बजारमा सुरक्षित लगानी गर्न खोज्नेहरुका लागि बैशाख महिनाले बिशेष महत्व राख्दछ । चौथो त्रैमासमा प्रगति कस्तो होला र आउने साधारणसभामा कुन कम्पनीले कस्तो लाभांश प्रस्ताब गर्नसक्छन् भन्ने कुराको छनक पनि यसैबाट पाईने हुनाले सेयर बजारमा संभावित प्रतिफल हेरी दीर्घकालीन लगानी गर्न चाहनेहरुका लागि तेस्रो बित्तीय बिबरण धेरै महत्वपूर्ण छ ।

यसकारण महत्वपूर्ण छ बित्तीय बिबरण 

हल्लाको भरमा लगानी गर्ने र छिनमै उचालिने, छिनमै पछारिनेहरुका लागि यस्ता बित्तीय बिबरणहरु कौवालाई बेल पाक्यो हर्ष न बिस्मात होलान् तर आम सर्बसाधारण लगानीकर्ताले सेयर बजारमा सुरक्षित लगानी गर्ने हो भने कम्पनीहरुको बित्तीय बिबरण अध्ययन गर्नेपर्छ ।

जो सेयर बजारमा दीर्घकालीन लगानी हैन, ब्यापार गर्छन, आज सेयर किनेर भोलि वा पर्सी बेचेर दोब्बर, तेब्बर नाफा कमाउने सपना देख्छन्, उनीहरुलाई यस्ता कुराहरु वाहियात लाग्न सक्छन् तर वास्तविक लगानीकर्ताले तथ्य बुझेर लगानीको योजना नबनाई हुन्न । 

सबै लगानीकर्तासँग कम्पनीको भित्री सूचनाहरुको पहुँच हुँदैन । हरेक कम्पनीको कार्यालयमा फोन गरेर वा गएर उसको बिबरण प्राप्त गर्न पनि संभव हुँदैन । कम्पनीको समग्र अबस्थाबारे जान्न चाहनेहरुका लागि बित्तीय बिबरण नै मुख्य आधार हो । यसमा कम्पनीको चुक्ता पूँजी जगेडा कोष, ब्यापार बिस्तार अर्थात निक्षेप, कर्जा परिचालन, कमाएको रकम, कमाईका स्रोतहरु, कम्पनीको खराब कर्जा, मुद्धा मामिला, संस्थागत सुशासन, कम्पनीका अवसर र चुनौतिहरु लगायत धेरै कुराहरु समेटिएको हुन्छ । तीन वटा त्रैमासको बित्तीय बिबरणको तुलनात्मक बिबरण समेत राखिने हुँदा लगानीकर्ताले सहजै कम्पनीको अबस्था थाहा पाउन सक्छन् । आफुले लगानी गरेको वा गर्न चाहेको कम्पनीको अबस्थाबारे जान्न चाहनेहरुलाई बित्तीय बिबरण महत्वपूर्ण औजार नै हो । यद्यपी सबै कम्पनीको बित्तीय बिबरण सही नै हुन्छन भन्ने छैन ।

कसरी अध्ययन गर्ने बित्तीय बिबरण ?

बित्तीय बिबरणमा सबैभन्दा पहिले सुरुमा कम्पनीको चुक्ता पूँजीको तीन त्रैमासको तुलनात्मक अबस्था प्रस्तुत गरिएको हुन्छ । त्यसलाई दजाँएर हेर्नुहोस् । अघिल्लो त्रैमास भन्दा गत त्रैमासमा चुक्ता पूँजी बढेको छ कि छैन बिचार गर्नुहोस् । त्यसपछि जगेडा कोेषमा रकम थपिएको छ कि घटेको छ, यकिन गर्नुहोस् । चुक्ता पूँजी पनि क्रमशः बढेको छ र जगेडा कोष पनि बढेको छ, चुक्ता पूँजी भन्दा जगेडा कोष बढी छ वा हाराहारी छ भने त्यो कम्पनी राम्रो हो भन्ने यकिन गर्नुहोस् ।

त्यसपछि ब्यापार बृद्धितर्फ ध्यान दिनुहोस् । बैंक तथा बित्तीय संस्था भए अघिल्ला त्रैमाासहरु भन्दा गत त्रैमासमा निक्षेप संकलन र कर्जा परिचालन बढाएको छ भने त्यो कम्पनीले ठीकै गर्दैछ भन्ने सोच्नुहोस् । निक्षेप संकलन घटेको छ र कर्जा परिचालन बढेको छैन भने शंका गर्नुपर्ने ठाउँ रहेछ भनेर बुझ्नुहोस् । खराब बैंकहरुमा पैसा राख्ने धेरै जाँदैनन् र फिर्ता माग्नेहरुकै भीड हुन्छ भने राम्रा कर्जा असुल हुँदै गएर खराब कर्जा मात्रै बाँकी रहेको पनि हुनसक्छ ।

कर्जा बिबिधिकरण गरेको छ कि एउटै क्षेत्रमा धेरै कर्जा परिचालन गरेर जोखिम धेरै मोलेको छ ? जस्तो घरजग्गा वा सेयर धितोमा मात्रै बढी रकम परिचालन गरेको छ भने कम्पनीले बढी जोखिम लिएको छ भन्ने देखिन्छ, सबैक्षेत्रमा लगानी बिबिधिकरण गरेको छ भने कम्पनीले सुरक्षित कर्जा लगानी गरेको छ भनेर बुझ्न सकिन्छ ।
अन्य कम्पनीहरु भए ब्यापार बृद्धि र त्यसबाट भएको खर्च आम्दानीको अबस्था तुलना गर्नुहोस् ।

अब खुद नाफा कति गर्यो भनेर हेर्नुहोस् । अघिल्ला त्रैमास भन्दा खुद नाफा क्रमशः बढाउँदै ल्याएको रहेछ भने राम्रो कम्पनी भनेर ठम्याउनुहोस् । खुद नाफा अघिल्ला त्रैमास भन्दा घटेको छ भने शंका गर्नुहोस् कतै कम्पनी खराब बाटोमा जाँदैछ कि ? खुद नाफा बढाएको छ भने माथितिर हेर्नुहोस्, ब्याज आम्दानी कतिले बढ्यो ?
कर्मचारी र संचालन खर्च धेरै मात्रामा बढेको छ भने त्यसलाई पनि विवेचना गर्नुहोस् ।

संचालन मुनाफामा कति बढोत्तरी भयो ? कम्पनीले खराब कर्जा उठाएर आम्दानी बढाएको हो कि सम्पति बेचेर ( गैरसंचालन आम्दानीबाट) खुद नाफा बढी देखाएको हो ? शुल्क, कमिशन र अन्य संचालन आम्दानी कति गरेको छ ? खराब कर्जा वापत कति प्रोभिजन गरेको छ ? धेरे ब्याज आम्दानी गरे पनि खराब कर्जा वापतको प्रोभिजन धेरै गर्नु पर्यो भने त्यो कम्पनी घाटामा गएको हुनसक्छ । कतिपय कम्पनीको खराब कर्जा धेरै हुन्छ, त्यस्ता कम्पनीहरु खतरापूर्ण हुन्छन् । सामान्यतथा निस्क्रिय कर्जा एक प्रतिशत भन्दा कम हुने कम्पनीहरु राम्रा हुन्छन् ।
बीमा भए चुक्ता पूँजी, जगेडा कोष, बीमा कोष, अन्य कोषहरु कति छ ? बीमा शुल्क आर्जन बढेको छ कि छैन ? बीमा दाबी भुक्तानीको अबस्था के छ ? केलाउनुहोस् ।

अन्य आधारभुत सूचकहरु पनि हेर्नुहोस् । बैंक तथा बित्तीय संस्था भए पूँजीकोष ११ प्रतिशत भन्दा बढी छ कि छैन, हेर्नुहोस् । पूँजी कोष त्यो भन्दा धेरै हुने कम्पनी पनि राम्रा हुन्छन् ।

प्रति सेयर आम्दानी हेर्नुहोस्, प्रति सेयर आम्दानी धेरै हुने कम्पनी राम्रा त हुन्छन् तर कमाएर बाड्न सक्छ कि सक्दैन यो पनि हेर्नुपर्छ । बजारमा सेयर मूल्य कति छ ? त्यो पनि हेर्नुहोस् र प्रति सेयर आम्दानीले सेयर मूल्यलाई भाग गर्नुहोस् मूल्य आम्दानी अनुपात निस्कन्छ । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ भने त्यो कम्पनी लगानीका लागि राम्रो हो ।

अब ईक्विटीमा प्रतिफल(आरओई)को हिसाब पनि निकाल्नुहोस् । आरओई बढ्दै गएका र आरओई बढी हुने कम्पनीहरु पनि राम्रा हुनसक्छन ।

कम्पनीको प्रति सेयर नेटवर्थ र प्रति सेयर सम्पतिको मूल्य धेरै भएको कम्पनी राम्रो हो । प्रति सेयर नेटवर्थ एक सय रुपैयाँ भन्दा जत्ति धेरै माथि हुन्छ, त्यो राम्रो हो । एकसय रुपैयाँ भन्दा कम भएका कम्पनीहरु खराब हुन । त्यस्तै प्रति सेयर कुल सम्पतिको मूल्य पनि धेरै हुनु राम्रो हो ।

तीन वटा त्रैमाासिक बित्तीय बिबरणहरुलाई हेर्दा ब्यापार बढाउँदै लगेको, जगेडा कोष बढाउँदै लगेको, पूँजी बढाउँदै लगेको, प्रति सेयर आम्दानी बढाउँदै लगेको, निस्क्रिय कर्जालगायतका जोखिम मापन सूचकहरु घटाउँदै लगेका, भबिष्यमा राम्रो प्रतिफल दिनसक्ने संभावना भएको कुरा यकिन गर्नुहोस् । बिगतमा बोनस कम दिएर वा नदिएर हकप्रदबाट मात्रै पूँजी बढाएको कम्पनीप्रति सतर्क हुनुहोस्, त्यस्तो कम्पनीले तत्काल राम्रो प्रतिफल दिनसक्दैन ।

राम्रो प्रगति गर्दै गएको छ भने पूँजी धेरै भएको कम्पनी भन्दैमा लगानीका लागि डराउनु पर्दैन, जस्तै नेपाल ईन्भेष्टमेन्ट बैंक र कृषि बिकास बैंक । सवाल यो हो कि उसले पूँजी बढाए अनुसार ब्यापार बढाएको छ कि छैन र प्रतिफल बाड्न सक्छ कि सक्दैन । सानो पूँजी आधार भएको कम्पनीले धेरै जोखिम बहन गर्न सक्दैन र त्यस्ता कम्पनीहरुमा लगानी गर्नेहरु धेरै जोखिममा हुन्छन् ।

तेस्रो त्रैमासको बित्तीय बिबरणलाई गहन अध्ययन गरी लगानीको योजना बनाउनु यस कारण धेरै महत्वपूर्ण छ कि कम्पनीहरुले चौथो त्रैमासमा यो भन्दा राम्रो प्रगति अबश्य गर्नेछन् । बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै तेस्रो त्रैमास हेरेर चौथो त्रैमासको आँकलन गर्ने र राम्रो संभावना भएका कम्पनीमा लगानी एकीकृत गर्दै जानाले आगामी दिनमा धेरै प्रतिफल हासिल गर्न सकिन्छ । त्यसैले अहिले धमाधम प्रकाशन भईरहेका बित्तीय बिबरण अध्ययन गर्नुहोस् र लगानीको योजना बनाउनुहोस् । आज नेप्से बढ्ला कि घट्ला भन्ने बेकारको चिन्ता गर्न अहिले नै छाड्नुहोस् । राम्रो कम्पनीहरुमा तपाइँले लगानी बिबिधिकरण गर्नु भयो भने यस्ता चिन्ता गर्नुपर्दैन ।

राम्रो कम्पनीको सेयर सस्तोमा किन्नुहोस र राम्रोसँग समाएर बस्नुहोस् अर्थात बाई राईट, होल्ड टाईट ।

जदौ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।