बुधबार नेप्से परिसुचक २ दशमलव ०८ अंकले ओरालो लागेर १६ सय ७० दशमलव ३० अंकमा झरेर बन्द भएको छ । यसदिनको कारोबारमा अधिकांस समूह सकारात्मक रहेपनि वाणिज्य बैंक, होटल र उत्पादन समूह नकारात्मक रहेका छन । विकास बैंक, जलविद्युत , वित्त, बिमा र अन्य समूह सकारात्मक रहेपनि बजार ओरालो लाग्यो ।
यसदिन १ सय ४५ कम्पनीको १४ लाख ९० हजार कित्ता सेयर ९५ करोड ५१ लाख बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले कम हो ।
बजार दुई अंकले घट्दा बुधबार सेयरबजारका लगानीकर्ताको सम्पत्ति दुई अर्बले नै घटेको छ । यसदिन समग्र बजारपूँजीकरण १९ खर्ब ३५ अर्ब कायम भएको छ । मंगलबार समग्र बजार पूँजीकरण १९ खर्ब ३७ अर्ब थियो।
यसदिन राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको संस्थापक तथा साधारण सेयर गरेर ९ करोड बढीको सेयर किनबेच भयो । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५४ लाख रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको छ । नेपाल लाइफले बिक्री गरेको एफपीओको सेयर लगानीतकर्ताको डिम्याट खातामा आएकाले यसको उच्च कारोबार भयो । धेरै लगानीकर्ताले एफपीओ सेयर बिक्रीमा राखेपछि यो कम्पनीको सेयरमूल्य भने ओरालो लागेको छ ।
ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक तथा प्रभु बैंक र ज्योति विकास बैंक पनि उच्च कारोबार गर्नेको अग्रपक्तिमा छन । ज्योति विकास बैंकको आजै शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन भएकाले यसको कारोबार धेरै भएको हो । यी सबै कम्पनीहरुको ३ करोड बढीको सेयर किनबेच भयो ।
यस दिन चार कम्पनीको सेयरमूल्य दश प्रतिशतको दरले बढेको छ । महिला सहयात्रा माइक्रो, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य दश प्रतिशतले बढेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक, नयाँ नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट,अरुण फाइनान्स तथा ललितपुर फाइनान्स लगायतको सेयरमुल्य पनि नौ प्रतिशत बढीले बढेको छ ।
आजै चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकको सेयरमूल्य सामान्य बढेको छ भने एनबी बैंकको घटेको छ । ग्लोबल आइएमईबको सेयरमूल्य ११ रुपैयाँले बढेको छ भने एनबी बैंकको प्रतिकित्ता १४ रुपैयाँले घटेको छ ।
सिर्जना फाइनान्स, मिथिला लघुवित्त, रिडी हाइड्रो, जेबिल्स फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एनबी बैंक, वुटवल पावर कम्पनी लगायतका कम्पनी धेरै गुमाउनेमा परे।