मेलम्चीको पैसा फर्किनेमा धेरै आशाबादी छौ -अजय श्रेष्ठ, प्रमुख कार्यकारी, बैंक अफ काठमाण्डु

Apr 26, 2017 Merolagani

दुई बाणिज्य बैंक एक भएर बनेको बैंक अफ काठमाण्डुले मर्जरपछिको अबस्थामा अभुतपूर्व प्रगति गर्ने आशा लगानीकर्ताहरुको थियो । बितेको नौ महिनाको अवस्था हेर्दा बैंक मर्जरकै प्रसव बेदनाबाट गुज्रिएको देखिन्छ । तर बैंकका प्रमुख कार्यकारी अजय श्रेष्ठ मर्जरपछि अब बिस्तारै सिनर्जी आउँन थालेको बताउँछन् । प्रस्तुत छ, श्रेष्ठसँग मेरोलगानीका सम्पादक तिलक कोइरालाले गरेको कुराकानी:

प्रमुख कार्यकारीज्यू, सबैभन्दा पहिले बीओके र लुम्बिनीवीचको मर्जरपछिको प्रगति कस्तो रह्यो भन्ने प्रसंगबाट कुराकानी सुरु गरौ कि ?

कुरा सुरु गर्दा राष्ट्र बैंकको पूँजी बृद्धिको योजनाबाटै गर्नुपर्छ । राष्ट्र बैंकले मर्जरबाटै पूँजी बृद्धि गर्नुपर्छ भन्ने सोच राखेको थियो जस्तो लाग्छ । हामी त्यही प्रक्रियाबाट अगाडि बढ्यौ । मर्जर राम्रो हो तर यसमा कन्सोलिडेशनको आवश्यकता पर्छ । हामीले मर्जरपछिको नौ महिना पार गरेका छौ । लगभग हामी दुईवटा बैंकको कन्सोलिडेशन सकिएको अबस्था छ । केही शाखाहरु सार्ने क्रममा छौ । मर्जपछिको ७४ शाखा पुरै संचालनमा आउन असारसम्म लाग्ला । कर्मचारीको कन्सोलिडेशनको काम अब सुरु हुन्छ । शाखा स्थानन्तरण गरिसकेपछि मात्र यो पुरा हुन्छ ।

यहाँसँग टेलिफोनमा कुरा हुँदा मर्जबाट एक, एक साढे दुई हुनुपर्थ्यो भन्नुहुन्थ्यो । त्यो किन भएन भन्ने कुरा गर्नुहुन्थ्यो । हामीले पोष्ट मर्जरको १२ देखि १८ महिनापछि सिनर्जी आउँछ भन्ने ठानेका थियौं । अब त्यो पुरा हुँदैछ । त्यसपछि अगाडि बढ्ने कुरा आउँछ । हामीले दुई बर्षमा एकसय एक र चार बर्षमा एक सय ५१ शाखा पुर्याउने भनेका छौ ।

 प्रगतिको समीक्षा गर्दा तेस्रो त्रैमाससम्ममा कहाँ पुगेका छौ र चौथो त्रैमासमा कस्तो होला ?

छ महिनाको ग्रोथ हेरिहाल्नुभयो । त्यस आधारमा हेर्दा त्यसलाई हामी निरन्तरता दिन्छौ जस्तो लाग्छ । छ महिनापछि नै बजारमा तरलता अभावको समस्या आयो, त्यसको प्रभाव छदैछ । चौथो त्रैमासमा पनि छ महिनाकै प्रगतिको लयलाई कायम गर्छौ ।

अब संस्थापक र साधारणको अनुपात मिलाउन ६२ लाख कित्ता संस्थापक नयाँ सेयर (एफपीओ) जारी गर्ने भन्ने निर्णय साधारणसभाबाट पारित गराउनु भएको छ तर अहिलेसम्म धितोपत्र बोर्ड जानु भएन, असारसम्म भ्याउनुहुन्छ त ?


हामीसँग अहिले ८० दिन जत्ति बाँकी छ । तीब्र रुपमा तयारीहरु भईरहेका छन् । सबै कुराको हिसाब गर्दा समयमा शेयर जारी गर्न सकिन्छ ।

प्रिमियम तय गर्ने कामै भएको छैन, धितोपत्र बोर्डबाट स्वीकृति पाउन पनि समय लाग्छ, कसरी संभव हुन्छ ?

चाँडै नै कामहरु सम्पन्न हुदैछन् र हामी समयमै संस्थापक एफपीओ ल्याउन सक्छौ । धितोपत्र बोर्डले जुन आधार तय गरेको छ, त्यसै आधारमा संस्थापक एफपीओको मूल्य निधारण हुने हो ।

यो एफपीओमा कस - कसले आबेदन गर्न पाउँछन् ?

यसमा अहिलेका संस्थापकका साथै अरुले पनि आबेदन गर्न पाउँछन् । तर, राष्ट्र बैंकले तोकेको सिमा भित्र रहनु पर्ने र त्यसका आधारभुत मापदण्डहरु पुरा गर्नुपर्ने त हुन्छ ।

६२ लाख कित्ता संस्थापक एफपीओ जारी गरिसकेपछि आठ अर्ब चुक्ता पूँजी पुर्याउन थप एक अर्ब ७६ करोड रुपैयाँ पूँजी थप्नुपर्ने हुन्छ । कहाँबाट ल्याउनुहुन्छ ?

हामीले पूँजी योजना सार्बजनिक नै गरेका छौ र त्यसमा स्पष्ट रुपमा भनेका छौ । त्यही अनुसार गर्ने हो । संस्थापक एफपीओ र चालु आर्थिक बर्ष सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी पुर्याउने  योजना रहेको छ ।

भनेपछि यो बर्षको खुद नाफा र एफपीओको प्रिमियमबाट आउने पैसाबाट एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर आउँछ भन्ने हो त ?

दुबै श्रोतबाट जत्ति रकम जम्मा हुन्छ, त्यसलाई नै पूँजीकृत गर्न सकिने भएको हुदा सोही बमोजिम पुँजी योजना बनाईएको  छ ।

उसो भए आउने असारको ब्यालेन्ससिटमा बीओकेको चुक्ता पूँजी आठ अर्ब ढुक्कले पुग्छ भन्न सकिन्छ ?

राष्ट्र बैंकको निर्देशन अनुसार हामी चुक्ता पूँजीको सिमा पार गर्छौ ।

त्यसपछि राष्ट्र बैंकले १२ अर्ब वा १६ अर्बको अर्को पूँजी बढाउने योजना ल्याईदियो भने के होला ?

पूँजी बढे अनुसार बैंकको संख्या घटेको भए सहजै हुन्थ्यो तर अहिले सबैले आ आफ्नो योजना अनुसार पूँजी थपेकाले गाह्रै हुन्छ । अहिले एउटा बैंकले चार अर्ब जत्ति पूँजी थपेको छ । ८० अर्ब जत्ति त नयाँ पुँजी थपिएकै छ । त्यो कहाँबाट आयो त ? निक्षेपको पैसा, कर्जाको पैसा त हो नि । बैंकबाट झिकेर बैंकमै राखेको हो, पूँजीको रुपमा परिणत भएको मात्रै हो । यहींको पैसा यहीं आयो । बाहिरको पैसा वा फरेन ईन्भेष्टमेन्ट आएको भए अर्कै कुरा हुन्थ्यो । यसरी हेर्दा हालकै अनुसार पुँजी बृद्धि गरिएमा गाह्रो हुन्छ जस्तो लाग्छ ।

अर्थतन्त्रको आकार बढेको छ । पूँजी बढे अनुसार निक्षेप र कर्जा पनि बढाएर लैजानु पर्ने अबस्था छ । त्यही अनुसारको प्रगति त होला नि ?

पूँजी बढाएर मात्रै हुन्न । बैकिड. ग्रोथको मेन ड्राईभर चाँही निक्षेप हो । निक्षेप बृद्धिका दुईवटा प्रमुख श्रोत छन् एउटा सरकारी खर्च, अर्को रेमिट्यान्स । तिनिहरुमा कमी आईदियो भने डिपोजिट हुन्न, अनि कसरी हुन्छ ग्रोथ ? निक्षेप जम्मा नहुने कर्जा मात्रै दिने गर्दा नै अहिले तरलता समस्या आयो । यस्तै समस्या आयो भने प्रगति पनि सुस्त हुन्छ ।

रेमिट्यान्स र सरकारी खर्चमा गडबडी भयो भने खतरा हुन्छ । हामीले २० प्रतिशतको निक्षेप बृद्धिको लक्ष्य राखेका थियौ, छ महिनामा जम्मा आठ प्रतिशत मात्रै निक्षेप बृद्धि भयो ।

बैंकहरुले धेरै कमाउनु पर्ने दबाबले कर्जा बढाए तर निक्षेप बढेन, अब परिचालन भएको कर्जा असुलीमा पनि समस्या आयो भने के हुन्छ ?

निक्षेप बढ्न नसकेको कारण कर्जाको ब्याज बढी भयो भने खतरा त हुन्छ नै । हामीले कर्जा बिस्तार र निक्षेप संकलनको अनुपात पनि हेर्नुपर्छ । एउटा कर्जाको औसत रकम २०, २५ लाख हुन्छ तर एउटा व्यक्तिगत निक्षेपकर्ताको औसत निक्षेप ४० हजार रुपैयाँ मात्र हुन्छ । अर्थात, संस्थागत निक्षेप बाहेक एउटा कर्जा परिचालन गर्न ५० जनाले निक्षेप जम्मा गरिदिएको हुनुपर्छ ।

हाम्रो अर्थतन्त्रकै प्रबृत्ति यस्तो छ कि निक्षेप संकलनमा बैंकको नियन्त्रण हुन्न, कर्जा परिचालनमा नियन्त्रण गर्न सकिन्छ । पानीको धारा खोल्ने, बन्द गर्ने जस्तो निक्षेपको धारा खोल्ने र बन्द गर्ने भन्ने हुन्न । हामीले तीन महिना जत्ति त यस साल पनि निक्षेप बृद्धि हुन्छ भन्ने अनुमानका आधारमा कर्जा परिचालन ग¥यौं । तर निक्षेपको बृद्धि नहुनाले पुनः कर्जा प्रवाहमा नियन्त्रण गर्यौं ।

यो बर्ष दुई दशककै बढी आर्थिक बृद्धि हुने प्रक्षेपण सार्वजनिक भईरहेको छ नि । उसो भए त्यसलाई पनि शंकाकै घेरामा राख्ने ?

गैर बैंकिड. क्षेत्रबाट भएको प्रगति त होला । अनुदान, सरकारी खर्च, कृषि र गैर कृषि क्षेत्रको योगदान रहला तर बैंकहरुले कर्जा परिचालनबाट भएको बृद्धि चाँही कत्ति होला, अहिल्यै भन्न सकिन्न ।

लोडसेडिड. भएन, नाकाबन्दी भएन, भुकम्प जस्ता बिपद पनि आएन भने ग्रोथ त होला नि ?

हेरौं ।

बीओके र लुम्बिनी दुबै बिगतमा गोता खाएर आएको बैंक हो, दुबै एक भएर आएको अबस्थामा कर्जा जोखिम घटाएर यताबाट पनि ग्रोथ त होला ?

दुबैले गोता खाएर आएको भन्नुभयो, त्यो भोगाई र मूल्य मान्यतालाई आत्मसात गरेको हुनुपर्छ । हामीमा जोखिम बहन क्षमता छ । लगानीकर्तालाई राम्रै प्रतिफल पनि दिईरहेछौ । हामी क्रमशः सबल हुँदै गएका छौ ।

नेपाल स्टक एक्सचेन्जको क्लियरिड. बैंक भएर बिगतमा काम गर्नुभयो तर बीचमा त्यो खोसियो तर अहिले तीन वटा थप क्लियरिड. बैंक थपिदा पर्नु भएन नि ?

हामीले पहिले यो काम गरेका थियौं । अहिले टेण्डरबाट बैंकहरुको सेवा माग हुदा केही क्राईटएरिया हामीले मिट गर्न सकेनौ होला ।

क्लियरिड. बैंकको भुमिका नपाउँदा कारोबारमा असर परेन त ?

त्यसमा खासै फरक परेको छैन । स्टक मार्केटमा लागिरहेकाहरुले त्यो अनुभुति गर्नुहोला तर हामीलाई चाँही प्रत्यक्ष प्रभाव परेको जस्तो लाग्दैन । बाई - सेलको ट्रान्जेक्शन नगर्दैमा सेयर बजारसम्बन्धी कुराहरुमा चासै नभएको भन्न मिल्दैन । अहिले हामीले डीपी लिएका छौ र हितग्राही खाता खोल्ने लगायतका निक्षेप सदस्यको काम त गरिरहेकै छौ नि ।

कुनै काम छुट्यो भने अर्को कामबाट रिकभर भईहाल्छ । सबै काम हामीले नै गर्नुपर्छ भन्ने हुँदैन ।

अरु बाणिज्य बैंकले आफ्नै सहायक कम्पनी क्यापिटल र मर्चेन्ट बैंकर बनेर काम गर्दा तपाइँहरु चाँही किन त्यस्ता गतिबिधिबाट टाढै बस्नु भएको ?

हामी डेब्थ मार्केटमा काम गर्छौ, क्यापिटल मार्केटमा धेरै लाग्दैनौ भन्ने हो । साना -साना डेब्थ परिचालन गर्छौ । त्यसैमा हाम्रो दक्षता प्रस्तुत गर्छौ ।

अरु बाणिज्य बैंकले धमाधम लाईफ र नन लाईफ ईन्स्योरेन्स खोलेर पनि काम गरिरहेका छन् तर तपाइँहरु त्यसमा पनि पछाडि ?

हामीसँग आफ्नै नामको कम्पनी त छैन तर ईन्स्योरेन्सको काम गरिरहेका छौ । हामीले १०, १२ वटा बीमा कम्पनीसँग सहकार्य गरिरहेका छौ । हाम्रो एउटा कम्पनी भएको भए त्यसैमा सिमित हुन्थ्यो, अहिले हामीले १२ वटा कम्पनीसँग काम गर्दा झन् फाईदा भएको छ । हाम्रो ब्यालेन्ससिटमा त्यो कारोबारको पनि ठूलै योगदान देखिने छ ।

तपाईहरु माईक्रोफाईनान्स कम्पनी खोल्न पनि लाग्नु भएन नि ? विपन्न बर्ग कर्जा कसरी परिचालन गरिरहनु भएको छ ?

हो, हामीले अलग्गै संस्था खडा गरेनौ। बर्षौदेखि विपन्न बर्गमा कर्जा परिचालन गरिरहेका छौ । हामीले ५० करोड यस क्षेत्रमा परिचालन गरेका छौ । हाम्रो छुट्टै युनिटले त्यसमा काम गरिरहेको छ । सक्षमसँग मिलेर हामीले त्यससम्बन्धी काम गरिरहेका छौ । त्यसको लागत पनि बढी हुन्छ, त्यसबाट आउने रिटर्न पनि हेर्नुपर्छ । त्यसैले हामीले अलग्गै माईक्रोफाईनान्स खडा गरेनौ ।

राष्ट्र बैंकको पछिल्लो रेगुलेशनले त माईक्रोफाईनान्सलाई अझ कसिलो बनाएको छ । त्यसको मोडलै अर्कै छ, तर हाम्रो ईण्डिभिजुअल फाईनान्सिड. मोडल हो । हामी एक लाख रुपैयाँ भन्दा कम कर्जा प्रबाह गर्नसक्दैनौ । साना कर्जा लिनेहरु माईक्रोफाईनान्स र सहकारीहरुमा जान्छन् । हाम्रो ब्याज दर पनि फरक अर्थात सस्तो छ । नगरेको हैन, काम गर्ने तरिका मात्रै फरक हो ।

तपाइँको दोस्रो कार्यकाल सकिदा बीओके कहाँ पुगेको हुनेछ ?

हामीले दुई वटा बाणिज्य बैंकलाई जोडेर पाँच बर्ष जोगाएका छौ । पाँच बर्ष अगाडि बढेका छौ । अहिलेको उपलब्धि दोब्बर भयो भने मेरो कार्यकालको उल्लेखनीय उपलब्धि हुनेछ ।

दुई वटा संस्था मिल्नुभयो अब अरुलाई किन्ने वा तान्ने रणनीति चाँही छैन ?

पक्कै पनि मर्जरको अबस्था हामीले पार गरेका छौ । तत्कालको आबश्यकता आठ अर्ब कसरी पुर्याउने हो तर त्यो पनि पुरा हुँदैछ । यसपछि हामी राम्रो र हामीलाई मिल्दो संस्थाहरुलाई पनि मिसाउने कुरामा ध्यान दिनसक्छौ । तपाइँले उठाउनु भएको कुरा पक्कै महत्वपूर्ण छ ।

बिगतमा आईएलएफसी र अरु तीन वटा फाईनान्सहरुसँगको मर्जर लामो समय कारोबार रोकिएर पनि भाँडिएको थियो । त्यो नभएर ठीकै भयो भन्नुहुन्छ कि बिग्रिएकोमा पछुतो लागेको छ ?

पछाडि फर्केर हेर्दा केही फाईदा हुँँदैन । त्यो मर्जरको प्रयास हाम्रै ईच्छाले भएको थियो । अहिले जस्तो पूँजी पुर्याउन पर्ने बाध्यता पनि थिएन । त्यो परिस्थिति अर्कै थियो तर पछि रेगुलेशन आएपछि अर्कै परिस्थिति बन्यो ।

संस्थापक भन्दा सर्बसाधारणको हिस्सा बढी भएको संस्थामा बढी किचलो हुने, निर्णय गर्न ढिलाई हुने हुन्छ भन्छन् । तपाइँलाई त्यस्तो लागेन ?

निर्णय हुन समय लाग्छ, सबै बीचमा ब्यापक छलफल आबश्यक हुन्छ तर केही ब्यक्तिको मात्रै निर्णय प्रक्रियामा भुमिका हुने संस्थामा भन्दा हाम्रो जस्तो संस्थामा परिपक्व निर्णय हुन्छ भन्ने लाग्छ । सजिलो भनेको के ? कसैसँग छलफलै नगरी निर्णय गर्दा सजिलो हुने भन्ने हो भने मेरो विमति छ ।

बैंक कसको हो भन्ने कुरामा मतान्तर पाईन्छ । बैंक संस्थापक वा सेयरधनीको हो कि निक्षेपकर्ताको ?

बैंक कसको हो भन्ने कुरालाई ब्यापक दृष्टिले हेर्नुपर्छ । यसमा धेरै सरोकारवालाहरु जोडिएका हुन्छन् । संस्थापक, सेयरधनी, निक्षेपकर्ता, ऋणी, सरकार, कर्मचारी, समाजका अरु पक्ष सबैको हो । कुनै एउटा पक्ष मात्रैको हैन । यसमा सरकारको बढी जिम्मेवारी हुन्छ । बैंक समस्यामा पर्यो भने सरकार नै समस्यामा पर्छ, अर्थतन्त्रमै प्रभाव पर्छ ।

बासेल थ्री लागु गर्ने र बिदेशी बैंकहरुलाई पनि यहाँ शाखा खोल्न दिने भन्ने कुरा गभर्नरले गरिसक्नु भएको छ । यसबारेमा चाँही कस्तो तयारी गर्नुभएको छ ?

बासेल थ्री भनेको हामीले मात्रै बनाएको मापदण्ड हैन, विश्वब्यापी मापदण्ड हो । यसलाई त अबलम्बन गरेरै जानुपर्छ । पूँजी र जोखिम ब्यवस्थापनका मापदण्डहरु पुरा गर्नैपर्छ । बिदेशी बैंकहरु यहाँ आउँदा कसरी प्रतिस्पर्धा गर्ने भनेर आफ्नो तयारी गर्नैपर्छ । अब हामी देश भित्रका बैंक मात्रै हुने हैन । विश्वब्यापी रुपमा बैकिड. संजाल बिस्तार गर्नेपर्छ ।

बैंक अफ काठमाण्डुको सेयरलाई कुनै जमानामा ब्लुचिप्स भनिन्थ्यो तर अहिले त्यो गुडविल कता हरायो ?

ब्लुचिप्स हराएको हैन, हामी जे छौ, त्यही छौ । हाम्रो सेयर लिक्विड अर्थात तरल सेयर हो । हजारौ लगानीकर्ताको हातमा हाम्रो सेयर छ । कुनै समाचार वा हल्लाको भरमा एकैचोटी भाऊ ह्वातह्वात्ती बढ्दैन, बजारमा बिक्री हुन पनि कुनै समस्या हुँदैन । कारोबार रकम हेर्नुभयो भने पनि त्यो देख्नुहुन्छ । सहज रुपमा किनबेच हुन्छ । प्रतिफल पनि राम्रै दिईरहेको छ । हाम्रो सेयरमा लगानी गर्नेहरु सुरक्षित लगानी गर्ने र ढुक्कको प्रतिफल पाउने खालका होलान् भन्ने बिस्वास गर्छु । मर्जरको कारणले एक बर्षसम्म कारोबार रोकिदा बाफ रे बाफ बबालै भयो, लगानीकर्ताको दबाब थाम्नै सकिएन । त्यसबाट पनि यस बैंकको शेयर प्रति लगानीकर्ताको चासो रहेको अनुमान गर्न सकिन्छ । त्यसैले धेरै लगानीकर्ताहरुको हातमा हाम्रो कम्पनीको सेयर रहेको हुँदा गौरव लाग्छ ।


अन्त्यमा, बैंक अफ काठमाण्डुका आम लगानीकर्ता र सरोकारवालाहरुले थाहा पाउनु पर्ने कुरा के छ ? जस्तो मेलम्चीमा फसेको झण्डै ८० करोड रुपैयाँ मायाँ मार्नुभयो कि ?

यो बैंकमा लुकाईएको कुरा, अनुमानको भरमा चल्ने, सानो कुराले ठूलो उथलपुथल गर्ने खालको सूचना केही पनि छैन ।

अब मेलम्चीको कुरामा मायाँ मार्नुभयो कि क्या हो भनेर सोधिहाल्नु भयो । त्यसो होइन । यहाँ धेरै बिकास आयोजनाहरु त्यस्तै ग्यारेन्टीको आधारमा चलिरहेका छन् । हामी पनि त्यो रकम फिर्ता लिन लागिरहेका छौ, सरकारसंग पनि सहकार्य गरिरहेका छौं । कुटनीतिक माध्यमबाटै पहल गर्नुपर्छ भन्ने पनि कुरा चलिरहेको छ । सकेसम्मको प्रयास गरिराखेका छौ ।

चीनमा पनि केही कानुनहरु परिवर्तन भएको भन्ने कुरा थाहा हुन आएको छ । आफ्नो देशभित्रको कानुन अनुसार हैन, अन्तराष्ट्रिय सरोकारको कुरामा अन्तराष्ट्रिय कानुन अनुसार नै गर्नुपर्छ भन्ने कुरा त्यहाँ परिवर्तन भएको छ भनेर कानुनी सहयोगीले भनिरहनु भएको छ । हाम्रो मुद्धा अहिले पुनराबेदनको तहमा छ । केही कागजहरु पुर्याउने क्रम चलिरहेको छ, मेलम्ची आयोजनाका तर्फबाट केही कागजहरु प्राप्त हुनुपर्ने अबस्था छ ।

हामी चाँही धेरै आशाबादी छौ, मुद्धा हाम्रै पक्षमा हुन्छ। हाम्रो पैसा फिर्ता आउँछ भन्ने कुरामा म आशावादी छु । हामीले बुकमा लस भनेर देखाईराखेका छौ, त्यो रिकभर हुन्छ । कुनै समयमा त्यो पक्कै हुन्छ, त्यसले बैंकको अबस्थामा धेरै फरक पार्छ ।

चाईना कन्ट्रक्शन बैंक अर्थात सीसीबीका लागि यो ठूलो रकम हुँदै हैन । त्यसकै कारण सीसीबीलाई यहाँ काम गर्न गाह्रो भईरहेको छ । विश्वकै छैटौ ठूलो बैंकले यस्तो विवादमा परिरहन रुचाउदैन जस्तो लाग्छ । हामीले सीसीबीको रेपुटेशनमा ग्यारेन्टी दिएका हौ । उहाँहरु र हामीवीचमा समस्या समाधान भएर फेरि कारोबार चालु हुन्छ । ढिलो चाँडोको कुरा मात्रै हो ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।