जलबिद्युतको सेयरमा लगानी गर्ने ? प्रतिफल खान पाँच देखि १० बर्ष कुर्नुपर्छ

May 22, 2017 Merolagani

तिलक कोइराला

पछिल्लो समयमा जलविद्युत कम्पनीको सेयरमा लगानी गर्नेहरु ह्वात्तै बढेका छन् । जलबिद्युत कम्पनीको साधारण सेयर निश्काशनमा मात्रै हैन, संस्थापक सेयरमा लगानी गर्नेहरु पनि उत्तिकै छन् । जलबिद्युत कम्पनी दर्ता गरेर जिल्ला जिल्ला र बिभिन्न देशमा रहेका नेपालीहरु सामु पुगेर जलबिद्यत आयोजनाको संस्थापक सेयर प्रमाणपत्र भिडाउनेहरुको पनि कमी छैन ।

कतिपय कम्पनीहरु साधारण सेयर अर्थात आईपीओ जारी गरे जसरी जलबिद्युत कम्पनीको सेयर सर्बसाधारणलाई बिक्री गरिरहेका छन् । जलबिद्युतमा सेयर लगानी गरे मालामाल भईन्छ, छिटो कमाउँन सकिन्छ भन्ने भ्रम फैलाएर केही ब्यक्तिहरुले अबैध र जोखिमपूर्ण रुपमा सर्बसाधारणबाट रकम संकलन गरिरहेका छन् । उर्जा मन्त्रालय, बिद्युत बिकास बिभाग जस्ता जलबिद्युतको लाईसेन्स बितरण गर्ने निकायहरुले जलबिद्युत क्षेत्रका ठगहरुप्रति आँखा चिम्लिदिँदा लाखौं सर्बसाधारणको लगानी जोखिममा परेको छ । यसलाई नियमन गर्नेतर्फ आफुलाई उज्यालो अभियानका प्रबर्तक भन्ने उर्जा मन्त्री जनार्दन शर्मा समेत लाचार बनिदिँदा अझै धेरै सर्बसाधारण फस्ने संभावना बढेको छ ।

सबैले प्रोत्साहित गर्नुपर्ने लगानी नै जलबिद्युत क्षेत्रको लगानी हो भन्ने कुरामा बिबाद छैन । जलबिद्युत क्षेत्रमा लगानी बढाउँनैपर्छ र सरकारी, निजी, बिदेशी, सर्बसाधारण सबैले यस क्षेत्रमा आफ्नो भ्याएसम्मको क्षमताले लगानी गर्नुपर्ने आबश्यकता छ । अब साना खाले आयोजना हैन, ठूला र जलाशयमा आधारित आयोजनाहरु बन्नुपर्छ । त्यसका लागि अथाह लगानी चाहिन्छ । तर आम सर्बसाधारणको लगानीको सुरक्षा चाँही पहिलो शर्त हो । त्यसका लागि दह्रो नियमन चाहिन्छ ।

अहिले खट्किएको कुरा नै दह्रो नियमनकारी निकाय हो । उर्जा मन्त्रालय र बिद्युत बिकास बिभागले लाईसेन्स मात्रै बाड्छन् । आयोजना बनेर उत्पादन भए बिद्युत प्राधिकरणले बिद्युत किनिदिन्छ । बैंकहरुले लगानी गरेको खण्डमा केही हदसम्म कन्सल्ट्यान्ट राखेर बिल भपाईको जाँच गर्छन । नियमनको पाटो यत्ति हो । अरु त कम्पनीका अध्यक्ष र संचालकहरुले तजबिजीमा गरिरहेका छन् । यसमा कार्यकारी निर्देशक वा प्रबन्ध संचालकको तजबिजी झन् खतरनाक हुन्छ ।

आयोजना निर्माणका लागि भन्दै उठाईएको रकम कम्पनीका संचालकहरुले आफ्नै बपौति ठानेर मनमौजी खर्च गरिरहेका छन् । सर्बसाधारणको पैसा केही खोलामा बगिरहेको छ भने केही हावामा उडिरहेको अबस्था छ । जलबिद्युत आयोजना बनाउन भनी उठाएको पैसा संचालकहरुका लागि महंगा गाडी खरिद, बिदेश भ्रमण, घरजग्गामा लगानी, सेयर बजारमा परिचालन, अर्को कम्पनीमा स्थानान्तरण गरी जथाभावी दुरुपयोग जस्ता अनेकौं बिकृति छन्, जसलाई नियमन गर्ने कोही छैन । पहिले ढुकुटी, बिमान सेवा र फाईनान्समा सर्बसाधारणको पैसा डुबाएका, बैदेशिक रोजगारमा ठगी गरेकाहरु अहिले सर्बसाधारणलाई मुर्ख बनाई पैसा कमाउने सजिलो माध्म ठानेर जलबिद्युत क्षेत्रमा छिरेका छन् । आफुले सित्तैमा लाखौ कित्ता सेयर लिएका छन् र सर्बसाधारणको अर्बौ रुपैयाँ घोटाला गरेर मोज मस्ती पनि लुटिरहेका छन् । यही कुरा थाहा पाएका स्थानीय गुण्डा र लठैतहरुले हामीलाई पनि भाग लगाउँ भनेर धम्की दिन्छन्, आफ्नो बदमासीको पोल नखुलोस भनेर प्रबद्र्धकहरु त्यसो पनि गर्न बाध्य हुन्छन् ।

जलबिद्युतका सबै प्रबद्र्धक यस्तै बदमास छन् भन्न खोजिएको दापी हैन, केही बदमासहरुले गर्दा राम्रो काम गर्नेलाई पनि बाधा परिरहेको अबसथा छ । केही जलबिद्युत प्रबद्र्धकहरुले वास्तबकै राष्ट्र र जनताप्रतिको ईमानदारिता र कर्तब्यबोध गरी आयोजनाहरु बनाईरहेका छन् तर केही सिमित बदमासहरुका कारणले उनीहरुलाई पनि आक्षेप लागिरहेको अबस्था छ ।

जलबिद्युतको सेयर भन्दैमा दोस्रो बजारमा पनि आजको भोलि मूल्य उचालिएर किन्ने प्रबृत्ति लगानीकर्तामा छ । अनेक हल्ला फैलाएर सेयरको मूल्य बढाईन्छ र सोझा लगानीकर्ताहरुलाई महंगोमा सेयर बेचिन्छ । कयौं लगानीकर्ताहरु महंगोमा सेयर किनेर फस्छन् र मूल्य घटेपछि पछुताउँछन् । यसमा थप नयाँ साधारण सेयर, हकप्रद लगायतका हल्लाका औजारहरु उपयोग भईरहेका छन् । जलबिद्युत कम्पनीको सेयर र सामुहिक लगानी कोषका ईकाईहरुको मूल्य आजको भोलि उचालिएर किन्नु मुर्खता हो भन्ने कुरामा लगानीकर्ताहरु सचेत हुनैपर्छ किनभने यी कम्पनीहरुको बित्तीय अबस्था आजको भोलि नै उथलपुथल हुने गरी परिवर्तन हुँदैन । दीर्घकालीन हिसाबले थोरै तलमाथिको अबस्थामा लगानी गर्ने मात्रै हो ।

दीर्घकालीन लगानीको हिसाबले जलबिद्युत क्षेत्र नेपाली लगानीकर्ताहरुका लागि निकै लाभदायी क्षेत्र हो । प्रतिकित्ता सेयर एकसय रुपैयामा साधारण सेयर किनेर आफ्नो भबिष्यका लगानी गर्नेहरुका लागि जलबिद्युत क्षेत्रको सेयरबाट हुने आम्दानी पेन्सन खाए सरह हुने पक्का छ । तर क्षणिक रुपमा सेयर किनेर आजको भोलि फाईदा खाएर बेच्छु भन्नेहरु भने नराम्ररी फस्छन् । सेयरमा लगानी हैन, ब्यापार गर्नेहरु जलबिद्युतको सेयरमा फसेर घाटा खाई पाठ सिके भने पनि त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ तर आम सर्वसाधारण चाँही नफसुन् ।

जलबिद्युत आयोजनाहरुको सेयरमा लगानी पाँच देखि १० बर्षका लागि हो भनेर नबुझ्दा लगानीकर्ताहरुले धोका पाईरहेका छन् । बैंक, बित्तीय संस्था, बीमा र अन्य कम्पनीहरु जसरी यस बर्ष भन्दा अर्को बर्ष निक्षेप, कर्जा बढाएर नाफा दोब्बर र प्रतिफल पनि दोब्बर पार्ने क्षमता राख्छन्, जलबिद्युत कम्पनीहरुमा त्यो हुँदैन । उनीहरुको आम्दानी एकनासको हुन्छ र कतिपय अबस्थामा घट्दै जान पनि सक्छ । एउटा कम्पनीले बिद्युत उत्पादन गर्न पाँच देखि सात बर्ष लाग्छ र नाफा कमाएर लगानीकर्तालाई प्रतिफल बाड्न १० बर्षसम्म कुर्नुपर्ने हुनसक्छ । त्यो कम्पनीले अर्को सहायक कम्पनी खोलेर अर्को आयोजनामा लगानी गर्यो भने पनि झन् लगानीकर्ताले प्रतीक्षा गर्नुपर्ने समय बढ्दै जान्छ ।

राम्रो जलबिद्युत कम्पनीको साधारण सेयर प्रतिकित्ता एकसय रुपैयाँमा पाईएको छ भने जत्ति किन्दा पनि हुन्छ तर त्यसैलाई दश गुणा बढाएर किन्न थालियो भने जोखिम धेरै हुन्छ र त्यसबाट भएको घाटापुर्ति गर्न बर्षौ कुर्नुपर्छ, जस्तो नेशनल हाईड्रोका लगानीकर्ताहरुले भोगिरहेका छन् । हकप्रदको बहानामा जलबिद्युत कम्पनीको सेयर मूल्य उचालिएर किन्नेहरुले अहिले जुन पछुताउ गरिरहेका छन्, त्यसको पीडा उनीहरुलाई नै थाहा छ ।

जलबिद्युत कम्पनीको संस्थापक सेयरमा लगानी गर्दै हुनुहुन्छ भने कम्तिमा १० बर्षसम्म मैले केही पनि प्रतिफल र सेयर बेचेर लगानी फिर्ता लिन पाउँदिन भनेर सोच्नुपर्छ । आयोजना निर्माण भन्दा अगाडि संस्थापक बन्नेले यो बिचार गर्न सकेन भने ऊ समस्यामा पर्नसक्छ । साधारण सेयरमा लगानी गर्नेले पनि मैले कम्तिमा पाँच बर्षका लागि यो सेयर किनेको हुँ भन्ने यकिन गर्नेपर्छ किनभने आजको भोलि जलबिद्युत कम्पनीले प्रतिफल दिनसक्दैनन् । एकनासले कमाई गर्दै गएर आयोजना निर्माणमा लिएको बैंकको कर्जा तिर्दै जाँदा कम्तिमा पाँच बर्षपछि मात्र लाभांश बितरण गर्न सक्छन् । बोनस सेयर दिएको अबस्थामा पूँजी बढ्दै जाने, आम्दानी स्थिर रहने र प्रतिसेयर आम्दानी कम हुँदै जाने हुँदा त्यसतर्फ पनि बिचार गर्नेपर्छ । तर प्रति मेगावाट ३२ करोडसम्म लागत भएका जलबिद्युत आयोजनाहरु चाँही सेतो हात्ती मात्रै हुन्, जसले प्रतिफल त हैन, पाल्न नसकेपछि लगानीकर्तालाई रुवाएरै मार्नेछन् ।

लगानीकर्ताले जलबिद्युत कम्पनीको संस्थापक वा साधारण सेयरमा लगानी गर्नुअघि त्यसको बित्तीय अबस्था, ब्यवसायिक योजना, आयोजनाको निर्माणको अबस्था, उत्पादन हुने बिद्युत र प्रति मेगावाट लागत, संस्थापक वा संचालकहरुको छवि, ब्यक्तित्व, प्रतिष्ठा, आर्थिक आधार, संस्थागत सुशासन, बिद्युत उत्पादन लाईसेन्स, बिद्युत प्र्राधिकरणसँग भएको बिद्युत खरिद सम्झौता(पीपीए), आन्तरिक नियन्त्रण प्रणाली, बैंकहरुको लगानीलगायतका कुराहरुको राम्रो अध्ययन गर्नेपर्छ ।

संस्थागत सुशासन नहुँदा आँखुखोला जलबिद्युत आयोजनामा ब्यापक घोटाला भयो र प्रति मेगावाट ३२ करोडसम्म लागत पर्यो तर कतिपय लगानीकर्ताहरुले बुझ्दै नबुझी त्यस कम्पनीको संस्थापक सेयर प्रतिकित्ता ३५० रुपैयाँसम्ममा किने, अहिले पछुताएर बसेका छन् । गुरुप्रसाद न्यौपानेका कम्पनीहरुमा पनि संस्थागत सुशासनको अबस्था अत्यन्त कमजोर भई सर्बसाधारणको लगानी जोखिममा परेको समाचार यसअघि नै मेरोलगानीले प्रबाह गरिसकेकै छ । अहिले कयौं यस्ता आयोजनाहरु छन्, उनीहरुले सर्बसाधारणबाट पैसा त उठाए तर न त आयोजना बन्ने छाँट छ, नत सर्बसाधारणले पैसा नै फिर्ता पाउँछन् । जलबिद्युतको सेयर भन्दै अन्धाधुन्ध संस्थापक सेयरमा लगानी गरेका कयौंसँग न त छ, नत आयोजनाको कार्यालय नै कहाँ छ भन्ने नै थाहा छ । यो उजागर भएर सर्बसाधारण रुवाबासी गर्दै बाहिर निस्कदा धेरै ढिलो भईसकेको हुनेछ । यो संभावना धेरै छ किनभने नियमनकारी निकायहरु अहिले पनि कानमा तेल हालेर बसेका छन् ।

लगानीकर्ताहरु आफै सचेत हुनु सबैभन्दा बुद्धिमानी हो । जलबिद्युत आयोजनामा लगानी गर्नुहोस् भन्दै तपाइँको गाउँ शहरमा सेमिनार र कार्यक्रम गर्दै आउनेसँग बेलैमा सतर्क हुनुहोस् । तिनीहरु तपाइँलाई फसाउँन पनि आएका हुनसक्छन् । बिस्वसनीय आधार नभएका जलबिद्युत प्रबद्र्धकहरुले तपाइँलाई फसाएर लाखौं रुपैयाँ बैंक खातामा हाल्न लाउँछन् । तपाइँसँग बैंकमा पैसा जम्मा गरेको भौचर बाहेक अरु केही प्रमाण हुन्न । भोलि आयोजना नबेनेको खण्डमा तपाइँको पैसा डुब्छ ।

संस्थापक सेयरमा लगानी गर्दै हुनुहुन्छ भने त्यो कम्पनी संचालनमा तपाँइको नियन्त्रण हुँनैपर्छ । आम सर्वसाधारणबाट उठाईएको रकम परिचालनमा तपाइँले आफ्नो भुमिका खेल्न सक्नुहुन्न भने संस्थापक सेयरमा लगानी गर्दै नगर्नुहोस् । नाम मात्रको संस्थापक भएर के काम, पैसा र मोज अर्कैले लुटिरहेको हुन्छ ।

राम्रो आयोजना र संस्थापकहरु प्रतिष्ठित छन् भने आफुसँग भएको लगानीयोग्य पैसाको १० प्रतिशत त्यस्तो आयोजनामा दीर्घकालीन लगानी गर्नबाट पछि हट्नु पनि हुन्न तर त्यस भन्दा पहिले सबै कुरा यकिन गर्नुहोस् ।

नोटः स्केच ईन्टरनेटबाट लिईएको हो । 

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।