एफपीओ जारीपछि नेपाल लाईफको अबस्थामा कस्तो परिवर्तन भयो ?
नेपालको बीमा क्षेत्र भर्खर बामे सर्दै गरेको छ । अहिले सात, आठ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ । हरेक क्षेत्रमा हेर्ने हो भने बीमाको पहुँच अर्थात हाम्रो एभरेज पेनिटेशन ज्यादै कम छ । बैदेशिक रोजगारीमा जाँदाको अनिबार्य बीमा समेत जोड्दा निकै कम संख्या हुन आउँछ । ओभरल डेन्सिटी १० डलर भन्दा कम छ । हाम्रो जीडीपीको आकारै पनि सानो छ ।
हाम्रो नेपाल लाईफले भरखरै १७ औं बार्षिकोत्सव मनायो । नेपालमा बीमाको पचास बर्षको ईतिहास भए पनि हामीले धेरै गर्न सकेका छैनौ । लाईफ ईन्स्योरेन्स भनेको लंगटर्म कुरा हो । सबै कुरा ब्यवस्थित भईसकेको छैन, बीमा सम्बन्धी चेतना पनि जनतामा कम छ ।
म चाँही खुशी छु कि ओभरल जीडिपीमा हाम्रो नेपाल लाईफको पनि ०.४ प्रतिशतको योगदान देखिएको छ । हामीले हाँसिल गरेको गरेको उपलब्धिलाई भर्खर काम सुरु गरेको जस्तो देखिए पनि हामीप्रतिको बिस्वास बढेको छ ।
एफपीओमै आबेदनको माहौल हेर्दा एउटा उत्सव जस्तै देखियो । साढे चार अर्ब हाराहारीको सेयरका लागि ५४ अर्ब भन्दा बढी रकमको आबेदन पर्यो । आम लगानीकर्ताहरुले हामीलाई धेरै बिस्वास गर्नु भएको छ भन्ने देखियो । हाम्रो कम्पनीको सेयरमा लगानी बढाउन खोज्नु भनेको धेरै बिस्वास रहेछ भन्ने पनि प्रमाण हो ।
यसबाट हाम्रो कम्पनीमा सर्बसाधारणको पहुँच बढेको छ । धेरै लगानीकर्तामा कम्पनी पुगेको छ । त्ययसबाट संकलित पूँजी र आर्जित सेयर प्रिमियमबाट कम्पनीको अबस्था अरु सुदृढ भएको छ ।
यो बीमा कम्पनीले राम्रो काम गर्दैछ, बीमितहरुको बिस्वास छ । १५ लाख भन्दा बढी बीमितहरु छन् । हामीले भरखरै स्मार्ट लाईफ बीमा योजना ल्याएका छौ । दैनिक १० रुपैयाँमा १० लाख रुपैयाँको जीवन बीमा गर्न सकिन्छ । सामान्य जनताको पनि बीमामा पहुँच पुग्न सकोस भनेर यो नयाँ योजना ल्याएका हौं । यस्ता धेरै योजनाहरु हामी ल्याउँदैछौ ।
बीमामा स्वेच्छिक रुपमा जनताले धेरै भन्दा धेरै सहभागिता जनाउन सकुन भन्ने हामी चाहन्छौ । अनिबार्य नै गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौ ।
१० रुपैयाँमै १० लाखको जीवन बीमा गर्न सकिने स्मार्ट लाईफ, यो त ज्यादै नौलो योजना भयो । के छ यसको बिशेषता ?
बीमा भन्ने बित्तिकै महंगो छ भन्ने आम मानिसमा रहेको भ्रम चिर्नलाई यो योजना ल्याएका हौं । कतिपयले सोच्छन् कि मैले बिमा किन गर्ने ? म मरेपछि अरुको जेसुकै होस्, मलाई चाहिएकै छैन ।
बीमा त आफ्नो लागि मात्रै हैन, पुरै परिवारको सुरक्षाको लागि हो । हामी एक अर्कामा डिपेन्डेन्ट छौ नि भनेर उनीहरु बुझ्दै बुझ्दैनन् ।
अरु कुरामा लाखौं खर्च गर्ने बीमा चाँही नगर्ने प्रबृत्ति हटाउँन पनि १० रुपैयाँले १० लाख रुपैयाँको बिमा योजना उपयुक्त छ भन्ने लागेर योजना सार्बजनिक गरेका हौं । जोखिम बहन र सुरक्षाका हिसाबले मात्रै सोच्ने हो भने मोटरसाईकलको बीमा भन्दा सस्तो जीवन बीमा हो भनेर प्रमाणित गर्दैछौ । त्यो हरेक हिसाबले सस्तो र राम्रो छ ।
बीमा भन्ने कुरा हरेक ब्यक्तिको अनिबार्य आबश्यकता हो । यसले ब्यक्तिगत जोखिम बहन क्षमतालाई बढाईदिन्छ । एउटा सामान्य ब्यक्ति जसले ठूलो रकम तिरेर बीमा गर्न सक्दैन, उसका लागि यो स्मार्ट लाईफ बीमा योजना हो । हरेक दिन पाँच कप चिया खाने ब्यक्तिले एक कप चियाको पैसा बचत गरी यो बीमा पोलिसी किन्न सक्छन् ।
मानिसहरु सोच्छन् कि ईन्कम माईनस एक्सेपेन्स ईजकल्टु सेभिड. तर म भन्छु ईन्कम माईनस सेभिड. ईजकल्टु एक्सपेन्स हुनुपर्छ ।
दैनिक १० रुपैयाँ संकलन गर्न त झंझट होला नि, कसरी प्रबन्ध मिलाउँदै हुनुहुन्छ ?
हामीले बैंकहरु र सहकारीहरुसँग टाईअप गर्न खोज्दैछौ । साना साना संस्थाहरु, गाउँ टोल र घर घरमा यस योजनालाई लैजाने प्रयास गर्दैछौ । हामीले घरमा खुत्रुके लगेर राखिदिएर हरेक दिन १० रुपैयाँ त्यसमा राख्ने ब्यवस्था मिलाउने प्रयास गर्दैछौ । जसलाई जसरी सजिलो हुन्छ, त्यसरी यसको प्रिमियम तिर्न सक्नुहुन्छ ।
तपाइँले हरेक दिन १० रुपैयाँ तिर्छु भन्दा पनि पाउनु हुन्छ, महिनामा एकैचोटी तिर्छु भने पनि पाउनुहुन्छ र बर्ष दिनमा तिर्छु भने पनि पाउनु हुन्छ । समग्रमा भन्दा सामान्य मान्छेलाई जीवन बीमातर्फ आकर्षित गराउन यो योजना ल्याएका हौ । एउटा ज्यामी काम गर्ने ब्यक्तिले पनि आफुले दैनिक रुपमा कमाउने पैसाबाट १० रुपैयाँ छुटृयाएर यो बीमा गर्नसक्छ । गरीबलाई पनि सहज छ, धनीलाई पनि सहज छ ।
नेपाल लाईफले अहिले कतिवटा बीमा योजनाका पोलिसीहरु बिक्री गरिरहेको छ ?
हामीले १० वटा भन्दा बढी बीमा पोलिसीहरु बिक्री गरिरहेका छौ । यसमा जोखिम मात्रै ब्यहोर्ने , जोखिम पनि ब्यहोर्ने र बचत पनि हुने गरी फरक फरक खालका योजनाका पोलिसीहरु बिक्री गरिरहेका छौ ।
सुरक्षित जीवन बीमा छ । यसमा माईक्रोका लागि र मासका लागि अलग छ । जोखिम ब्यहोर्ने सेभिड. टाईपको प्रडक्टमा पनि फरकहरु छन् । यसमा प्रतिफलसहित रकम फिर्ता आउँछ । निश्चित अवधिका लागि प्रिमियम तिर्ने र एकमुष्ठ प्रतिफलसहित रकम फिर्ता पाउने योजना छ । यसैमा पनि बीच बीचमा प्रतिफलसहित रकम फिर्ता आउँने मनी ब्याक योजना छ ।
होल लाईफ कभर गर्ने बीमा योजना छ । श्रीमान श्रीमतिको लागि एउटै बीमा योजनाले काम गर्ने खालको पनि छ । ग्रामिण क्षेत्रका लागि अलग्गै योजनाहरु छन् । बैदेशिक रोजगारमा जाने वा प्रोजेक्टमा काम गर्नेका लागि पनि फरक खालको बीमा योजना छ । जागिरेका लागि पनि फरक खालको बीमा योजना छ । मानिसहरुको आबश्यकता अनुसारका योजनाहरु ल्याईरहेका छौ । एकैचोटी प्रिमियम तिर्ने कि क्रमबद्ध रुपमा तिर्दै जाने भन्ने छनौटका विकल्पहरु सहितका योजना पनि छन् ।
बिश्वमा धेरै वटा यस्ता कम्पनी छन्, जसले सय वटा भन्दा बढी पोलिसीहरु बेचिरहेका छन् । यहाँ बीमा पोलिसीहरु छानी छानी, तौलेर किन्ने चलन बसिरहेको छैन । मैले जे भन्छु, तपाइँलाई त्यही मात्रै थाहा हुन्छ र त्यही मात्रै किन्दै हुनुहुन्छ । तर हामी बिमितहरुलाई छनौट गर्ने विकल्पसहितको बीमा योजनाहरु ल्याउँदैछौ ।
हामी एउटा सुपर मार्केटमा जान्छौ र कोट किन्न थाल्छौ भने छान्छौ र आफुलाई फिट हुने र राम्रो लागेको मात्र किन्छौ । तर बीमामा त्यस्तो छैन । अब बिस्तारै त्यतातिर पनि मानिसहरु लाग्छन् । तपाइँ आफनो कमाईको १० रुपैयाँ पनि बीमा पोलिसी किन्न लगाउँदै हुनुहुन्छ भने हेर्नुपर्छ र तौलनुपर्छ, आफुलाई कुन फिट हुन्छ, बिमितले छान्न पाउनुपर्छ । हामी त्यही सुबिधा आम जनतालाई दिने प्रयास गरिरहेका छौ ।
धेरै बीमा कम्पनीहरु शहरमा मात्रै केन्द्रित भए, नेपाल लाईफ दुर्गम र ग्रामिण तहमा पनि जाने योजना कस्तो छ ?
यो नक्सामा हेर्नुस (कुर्सी माथिको नेपालको नक्सा देखाउँदै) यो नक्सामा छरप्रष्ट छ । कर्णाली अन्चलमा हामी सबै जिल्लामा पुगिसकेका छौ । हाम्रो कम्पनीको उद्धेश्य छ, देशको हरेक कुनामा बीमा सेवा हुनैपर्छ । बीमा कम्पनी भनेको नाफा मात्रै खोज्ने हैन, नाफाका साथै सेवा पुर्याउने कुरामा पनि उत्तिकै जिम्मेवार छौ । सामाजिक उत्तरदायित्व पनि पुरा गर्दैछौ । अस्ति भर्खर हामीले पोखरामा क्षेत्रीय कार्यालय खोल्यौं । अब ७, ८ जिल्ला मात्रै हामी पुग्न बाँकी छ । यही बर्ष भित्रमा त्यसलाई पुरा गर्ने र ७५ जिल्लामै पुग्ने प्रयास गर्दैछौ । त्यसपछि जनसंख्यागत रुपमा पनि जान्छौ ।
अहिले धेरै नेपालीहरु अर्थात आधा जनसंख्या बिदेशमा छ, त्यहाँ पनि पुग्ने हाम्रो प्रयास छ र नीतिगत तहमा पहल गरिरहेका छौ । आशाबादी छौ, त्यसमा पनि हामी सफल हुन्छौ ।
बीमा कम्पनीमा अर्बौ रकम थुप्रिदैछ, त्यसलाई देशको आन्तरिक उत्पादन बढाउने काममा लगानी गर्ने बारेमा के सोचाई छ ?
हाम्रो माग पनि हो यो । हामीले त्यो गर्नैपर्छ तर नियमनले हामीलाई अहिले त्यसो गर्न दिदैन । बीमा सम्बन्धी जागरण फैलाउने बाहेक हामी दीर्घकालीन लगानी गरिरहन सकेका छैनौ । हाम्रो आफ्नै गाईडलाईन छ, त्यो भन्दा बाहिर जान सक्दैनौ ।
सबैले भन्छन् - देश बिकासका लागि पुर्वाधार बिकास गर्नपर्छ तर त्यसका लागि वातावरण छैन । अहिले हामी गभरमेन्ट बण्डमा मात्र लगानी गर्न सक्छौ । हामीलाई १५, २० बर्षका लागि लगानी गर्नुपर्ने आबश्यकता छ । एक बर्षे, दुई बर्षे मुद्धती खातामा पैसा राखेर मिस म्याच गरिरहेका छौ ।
५ प्रतिशत पुर्वाधारमा लगानी गर्नुपर्छ भनिएको छ तर वातावरण बनाईएको छैन । बीमा कम्पनीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सरकारले वातावरण बनाउनुपर्छ । सरकारले लौ लगानी गर्नुहोस् भन्छ भने ४५ अर्ब रुपैयाँ लगानी गर्नसक्छौ । अहिले त बाणिज्य बैंकहरुसँग ब्याज दरको मोलमोलाई गरेर मात्र बस्नु परेको छ ।
नयाँ बीमा कम्पनीहरु धमाधम थपिदैछन्, १० वटाले भरखरै लाईसेन्स पाए । अब बीमा कम्पनीहरुको बृद्धि रोकिन्छ र उनीहरुले लगानकिर्ताहरुलाई आकर्षक बोनस दिनसक्दैन भन्ने लाग्दैन ?
हेर्नुस, बिश्वमा कुनै बेला एउटा पनि जीवन बीमा कम्पनी थिएन, पछि एउटा, दुईटा खुले । हाम्रो नेपालमा पनि पहिले एउटा मात्रै थियो, अहिले धेरै छौ र पछि अरु आउँलान । त्यो एउटा मात्रै राखेको भए यसरी बिकास हुन्थ्यो होला र ?
कति वटा कम्पनी चाहिने, कतिवटालाई दिनुपर्ने आबश्यकता हो, त्यो सम्बन्धित सरकारी निकायले हेर्ने काम हो । नम्बरको बारेमा म केही भन्न सक्दिन । नम्बर अफ कम्पनी बढ्दा, क्वालिटी अफ सर्भिस पनि बढ्छ भन्ने विस्वास राख्छु । कम्पिटिशन हेल्दी हो भने लेभल अफ क्वालिटी सर्भिस पनि बढ्दा उपभोक्ता लाभांन्वित हुन्छन् । अनहेल्दी चाँही हुनुहुन्न, तानातान हुनुहुन्न ।
कम्पनी थपिए, अब नाफा घट्छ, प्रतिफल कम हुन्छ भन्ने कुरामा मेरो विमति छ । नेपालमा बीमाको पेनिटेशन निकै कम छ । अरु नयाँ कम्पनी आउँदा हामी नेपाल लाईफको जोश अरु बढेको छ । हामी अरु सक्षम भएर जानुपर्छ । भारतको जाईन्छ पनि यहीं छ, हामी कम्पिट गरिरहेका छौ, अरु बिदेशी कम्पनी आउँछन् भने उनीहरुसँग पनि प्रतिस्पर्धा गर्ने क्षमता बढाउँनैपर्छ । हामी नेपालीले नै गर्ने हो, वी नो नेपाल बेटर । हामीले अरु परिस्कृत र ब्यापक भएर जानुपर्छ, त्यसो हुँदा जनताले अरु गुणस्तरीय र छिटो छरितो सेवा पाउँछन् । त्यसका लागि हामीले पूँजी र क्षमता पनि बढाएर लैजान्छौ ।
म विस्वस्त छु, हाम्रा अरु कम्पनीका साथीहरुले पनि यसलाई राम्रै अवसरको रुपमा लेलान् ।
नेपाल लाईफको पूँजी धेरै बढ्यो, अब उसको सेयरमा लगानी गर्दा धेरै फाईदा हुन्न भन्नेहरुलाई के भन्नुहुन्छ ?
हामीलाई बीमा समितिले रेगुलेट गरिरहेको छ । लाभांश बोर्डले प्रस्ताब गर्ने कुरा हो, यसमा अहिले यसै हुन्छ भन्न सकिन्न । बोनस र डिभिडेन्ट घोषणा हुँदा मात्रै सेयरको भाऊ बढ्नुपर्छ र घट्नुपर्छ भन्नु हुँदैन । हाम्रो सोल्भेन्सी मार्जिन बढ्दै गएको, छ, ब्यापार बढ्दै गएको छ भने जोखिम ब्यहोर्ने पूँजी र अरु आधार पनि बढाउँदै जानुपर्छ । बीमा कोष बढ्दै गएको छ भने पूँजी पनि बढाएर ग्लोबल प्राक्टिश अनुसार चल्नुपर्छ ।
हामीमाथि लगानीकर्ताको बिस्वास ज्यादा छ । बीमा समितिले ५० करोड मात्रै पुर्याए हुन्छ भन्दा पनि हामी त्यसभन्दा कति गुणा धेरै पुर्यायौ नि । अहिले तीन अर्ब नाघेको छ, हाम्रो पूँजी बृद्धि रोकिदैन । हामीले जीवन बीमा कारोबार र ब्यापार बढाउने हो भने पूँजी बढाएरै लैजानु अनिबार्य छ । थप कुरा , ईतिहासबाट पाठ पनि सिकेका छौ ।
तपाइँहरुले नेपाल लाईफको सेयरको अंकित मूल्य १०० रुपैयाँबाट १० रुपैयाँमा झार्ने सोच बनाउनु भएको थियो तर त्यो त बीचमै हरायो नि ?
हाम्रो नियत सफा थियो । धेरै नेपालीहरुमा हाम्रो सेयर किन्नसक्ने क्षमता होस् भनेर हामीले अंकित मूल्यलाई १० भागमा बाड्ने र प्रति ईकाई १० रुपैयाँ मुल्य बनाउने भनेर सोचेका थियौं ।
हाम्रो कानुनमा त्यो गर्न मिल्ने भन्ने प्रावधान नभएकाले त्यो गर्न पाएनौ । पैसा कम हुनेले पनि सेयरमा लगानी गर्नसक्ने क्षमता बनाओस भन्ने चाहना पुरा भएन । अब विश्वमा धेरै परिवर्तन भईसकेको छ । एक रुपैयाँ अंकित मूल्यको सेयर पनि प्रचलनमा आईसक्यो । त्यो नियम जुनबेला आउँछ, हामी तयार नै छौ ।
नेपाल लाईफको सेयर मूल्य महंगो छ, धनीले मात्रै किन्न सक्छन् त्यसैले त्यसको सेयर लिनेहरुको संख्या थोरै छ भन्न सकिन्छ ?
त्यो हैन, हाम्रो सेयर हजारौ जनतासँग छ र एफपीओ जारी गरेपछि त्यो संख्या डेढ लाखमा पुगेको छ । सबैले नेपाल लाईफको सेयरमा लगानी गर्न सकुन भन्ने हाम्रो सदिच्छा हुन्छ तर सेयरको भाऊ तलमाथि पार्ने कुरामा हाम्रो कुनै संलग्नता हुन्न । यसलाई अरु आधारभुत पक्ष र डिमाण्ड एण्ड सप्लाईले रुल गर्छ । हाम्रो सेयरमा लगानी गर्नेले गुमाउने छैनन् भन्ने विस्वास चाँही दिलाउन चाहन्छु ।
नेपाल लाईफको मात्रै हैन, अरु बीमा कम्पनीहरुको सेयर मूल्य पनि महंगो भयो भन्ने गुनासो छ नि , यसको कारण के होला ?
नेपालको सेयर बजार कम्पनीको आधारभुत अबस्था, माग र आपुर्तिको नियम, भबिष्यमा हुने परिवर्तन लगायतका कुराहरुमा आधारित छ । विश्वभरि नै यस्तै हुने हो ।
मानौ, कसैको एक कित्ता सेयर छ, उसलाई थाहा छ, त्यो चार हुनेवाला छ भने उसले लगानी बढाउँछ नै । लहै हलैमा लगानी गर्नेहरु पनि होलान् तर कम्पनीको जजमेन्ट चाँही लगानीकर्ताले राम्रोसँग गर्नुपर्छ ।
नयाँ नयाँ प्रोडक्टहरु आउनेवाला छ । अहिलेको बीमा क्षेत्रको आकार अरु धेरै बढ्नेवाला छ । लाईफ र ननलाईफ दुबैमा यो ब्यापक संभावना छ । भुकम्पले नै बीमाहरुको कारोबार बढाउँन धेरै भुमिका खेल्यो । कर्जा लिनेहरुले अनिबार्य बीमा गर्नुपर्ने अबस्था आयो । कर्जा लिने तर बीमा नगर्ने चाँही ठूलो जोखिम हो भन्ने चेतना जनतामा फैलदै गएको छ ।
लगानीकर्ताले रिटर्न पाउँछ भनेर नै लगानी बढाएका होलान् । आजको भोलि करोडपति हुन्छु भनेर लगानी गर्नेहरुका बारेमा चाँही केही भन्न सक्दिन ।
बीमा कम्पनीहरुले बीमा चाँही अनेक प्रलोभन दिएर गराउँछन्, दावीको भुक्तानी दिन चाँही अनेक झमेला खडा गर्छन भनिन्छ नि ?
दावी भुक्तानी नै नगर्ने हो भने बीमा कम्पनी खोल्नु नै बेकार हो । हरेक बिमितले मेरो क्षति हुँदा त्यस वापतको रकम पाउँछु भनेर नै बीमा गरेको हुन्छ । बीमा बजार भनेकै यही हो । दावी भुक्तानी छिटो छरितो हुनुपर्छ, सरल हुनुपर्छ र सम्मानका साथ दिईनुपर्छ । बीमा गर्दा भगवना भन्ने, भुक्तानी दिँदा छि छि र दुर दुर गर्ने हुनुहुन्न । पीडितलाई झन् पीडित बनाउँनुहुन्न ।
तर कतिपय बेलामा प्रकियागत ढिलाई हुनसक्छ । जस्तै रोग लागेको ब्यक्तिको बीमा गर्नुहुन्न । त्यसमा कमजोरी भएको छ, बदमासी भएको छ भने समस्या हुनसक्छ । बीमा गरेपछि त्यसको प्रिमियम समयमै तिर्नुपर्छ । प्रिमियम नतिरेको अबस्थामा पनि समस्या हुनसक्छ ।
नेपाल लाईफको सवालमा दावी भुक्तानीका कुनै जटिल समस्या छैनन् ।
नेपाल लाईफका १५ लाख बिमित छन् भनिन्छ, त्यसमध्ये समयमै प्रिमियम नतिरेर म्याद गुजारेका पनि थुप्रे होलान् । के छ अबस्था ?
बीमा गरेपछि ल्याप्सेज हुनु बिमित र कम्पनी दुबैका लागि राम्रो कुरा हैन । यसमा कतिपय बिमितको कमजोरी हुनसक्छ भने अभिकर्ताको पनि ध्यान नगएको हुनसक्छ । अहिले हामीले अध्याधुनिक सूचना प्रबिधिको उपयोग र २५ प्रतिशत ब्याज छुट दिएर पुर्नजागरण पनि गराईरहेका छौ ।
गाउँ गाँउमा बीमा गरेकाहरुको सवालमा केही ल्याप्सेजहरु छन् । कमाई घट्दाको असर पनि केहीमा परेको देखिन्छ । बीमा एक प्रकारको बचत पनि हो भनेर संझाईरहेका छौ ।
बीमा गरेर सरेण्डर गर्नु अपराध हो । सरेण्डर गरेर फेरि बीमा गर्नु पनि बदमासी नै हो । यो पनि संझाईरहेका छौ ।
नेपालमा ठूला माछाले साना माछालाई खाने चलन बैंकहरुमा बढेको छ, नेपाल लाईफले चाँही कुनै सानो कम्पनीलाई आफुमा मिलाउने सोच बनाएको छैन ?
हामी आफै सक्षम छौ । पर्याप्त पूँजी र जगेडा कोष छ । अरुलाई मिसाउनुपर्ने किन्नुपर्ने आबश्यकता छैन । त्यसो गर्ने नै हो भने विश्वब्यापी रुपमा किन नजाने भन्ने सोच भने आउँनसक्छ ।
नेपाल लाईफको नयाँ योजनाहरु के आउँदैछन् ?
सुरक्षा र बचत दुबै खालका योजनाहरुमा हामीले धेरै राम्रो गर्यौं । हालै स्मार्ट लाईफ ल्यायौं । यो सबै नेपालीहरुमा लैजाने योजना छ । हरेक कार्यालयका कर्मचारीलाई रोजगारदाताले धेरै मायाँ गर्नुपर्छ भन्ने मलाई लाग्छ । यसलाई बण्डलिंग पनि गर्दैछौ ।
प्रोटेक्शन प्लानलाई हेल्थसँग पनि जोडेर जाने, बैकिड. र सहकारीसँग जोडेर लैजाने सोच छ ।
निप्पन लाईफसँग हाम्रो सहकार्य छ , उसले १०० बर्षमा सिकेको कुरा यहाँ पनि लागु गर्न खोज्दैछौ ।
ईन्भेष्टमेन्ट ईन्स्योरेन्स पोलिसी लागु गर्ने सोचमा छौ ।
विश्वमा चलनमा आएका आधुनिक प्रडक्टहरुलाई यहाँ ल्याउने योजना छ ।
रिटायरमेन्ट प्लानसँग पनि जोडिन खोज्देछौ, रिटायरमेन्ट फण्ड क्रियट गर्ने प्रयास गर्छौ ।
लाईफ ईन्स्योरेन्स गर्नेलाई स्पटमै बीमा दावी लिने र भुक्तानी गर्ने प्रणाली बिकास गर्न सकिन्न ?
लाईफ र ननलाईफमा यो फरक हुनसक्छ । एउटा गाडी ठोक्किनु र मानिस घाईते हुनुमा फरक हुन्छ । मानिस घाईते भएको र मृत्यु भएको कुरा निकै संबेदनशील हुने गर्छ ।
गएको भुकम्पमा हामी घर, घर पनि गयौं । बिमितहरु पहिचान कसरी गर्ने ? जीवन बीमामा ब्यक्तिको पहिचानको समस्या हुनसक्छ । स्पटमै बीमा दावी भुक्तानीका लागि केही समस्याहरु हुनसक्छन् । यो नयाँ सोच हो, त्यो दिन हामी सबैको प्रयासबाट पक्कै आउला ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।