नागरिक दैनिकमा बिष्णु बेल्वासेले राष्ट्र बैंकले चुक्ता पूँजी पुर्याउँन छ महिनाको सहुलियत दिने तयारी गरेको समाचार लेखेका छन् । चालु आर्थिक बर्षको लेखा परीक्षण गरी बोनस सेयर समेत जोडेर चुक्ता पूँजी पर्याउँनसक्ने गरी राष्ट्र बैंकले छ महिनाको सहुलियत दिने तयारी गरेको समाचारमा उल्लेख छ ।
राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले चालु आर्थिक बर्षको कारोबारको लेखापरीक्षण समेत गरेर पूँजी पुर्याउँन समय दिने हो कि भन्ने छलफलमा राष्ट्र बैंक रहेको जानकारी दिएका छन् ।
राष्ट्र बैंकले पूँजी योजना सार्वजनिक गर्दा नै चालु आर्थिक बर्षको खुद नाफाबाट समेत बोनस जारी गरी वासलातमा समायोजन गर्न सक्ने सुबिधा दिएकै थियो ।
असार मसान्तपछि मर्जर र एक्विजिशनबाट पूँजी पुर्याउन भने नदिईने भएको छ । तर प्रक्रियामा रहेकाहरुले सुबिधा पाउनसक्ने देखिएको छ । चुक्ता पूँजी नपुर्याउनेहरुले राष्ट्र बैंकको कारबाहीको सामना गर्नुपर्ने भएको छ ।
बिगतमा आफ्नै नियन्त्रण रहँदा मर्ज प्रक्रिया पुरा गरेको एनसीसी बैंकले खराब अबस्थाका कारण चुक्ता पूँजी बढाउँन नसकेपछि राष्ट्र बैंकले अरुलाई पनि हुने गरी ग्रेस अवधि दिन खोजेको बुझ्न सकिन्छ । एनसीसीले ५० प्रतिशत हकप्रद जारी गर्ने एजेण्डासहित हालै साधारणसभा आब्हान गरे पनि कम्पनी रजिष्ट्रार र उच्च अदालतले त्यसमा रोक लगाएपछि अफ्ठेरो अबस्था उत्पन्न भएको छ । एनसीसीमा गाभिएको एपेन्स डेभ्लपमेन्ट बैंकको धेरै खराब कर्जाले समस्या ल्याएपछि राष्ट्र बैंकले एनसीसीको गत बर्षको बित्तीय बिबरण स्वीकृत गर्न सकेको छैन । त्यो नहुदासम्म एनसीसीको नियमित साधारण सभा आयोजना गर्न कठिनाई भएकाले राष्ट्र बैंकले विकल्प खोजेको हुनसक्ने आँकलन गरिएको छ । एनसीसीले खराब कर्जा असुली गर्न हालै धेरै धितो लिलामीमा निकालेको छ ।
बाणिज्य बैंकहरुमा एनसीसी र सिभिल बैंकको मात्र चुक्ता पूँजी आठ अर्ब तोकिएको अवधिमा नपुग्ने संभावना रहेको छ । सिभिलले हालै ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय साधारणसभाबाट गरे पनि २.८८ प्रतिशत बोनस सुचिकृत भएर धितोपत्र बोर्डबाट स्वीकृति पाउन ढिलाई हुँदा असार मसान्तसम्ममा हकप्रद बिक्री गर्न संभव नहुने आशंका बढिरहेको छ ।
राष्ट्र बैंकको पूँजी योजना अनुसार बाणिज्य बैंकको आठ अर्ब, राष्ट्रियस्तरको बिकास बैंकको साढे दुई अर्ब, १० जिल्लासम्म कार्य क्षेत्र भएका बिकास बैंकलाई एक अर्ब २० करोड, तीन जिल्लेलाई ५० करोड, राष्ट्रियस्तरको फाईनान्सलाई ८० करोड र तीन जिल्लेलाई ४० करोड चुक्ता पूँजी कायम गर्न भनिएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।