माग र आपुर्तिको अबस्था
अहिले देशमा बिद्युत माग र आपुर्तिमा ४८२ मेगावाटको फरक रहेको छ । ९६२ मेगावाट बिजुली उत्पादन भएको छ भने १,४४४ मेगावाटको माग रहेको छ । अपुग भएको बिजुली भारतबाट ल्याएर माग र आपुर्तिमा सन्तुलन कायम गरिए पनि अझै दैनिक करिब २४ लाख युनिटको माग पुरा हुन सकेको छैन ।
आर्थिक बर्ष २०७२, ०७३ मा कुल विद्युत् उत्पादन ८५५.८९ मेगावाट रहेकामा चालु आवको प्रथम आठ महिनामा विद्युत् उत्पादन १०५.३ मेगावाट अर्थात् १२।३ प्रतिशतले वृद्धि भई कुल जडित क्षमता ९६१.२ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको ४.५ मेगावाट विद्युत् भने ग्रामीण क्षेत्रमा नै उपभोगको अवस्थामा रहेको छ ।
स्तै, आर्थिक सर्वेक्षणअनुसार विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या अघिल्लो आव २९ लाख ६९ हजार ५७६ बाट ५१ प्रतिशतले बढेर चालु आवको प्रथम आठ महिनामा ३१ लाख २१ हजार ९०२ पुगेको छ ।
चुहावट नियन्त्रणमा सफलता
सरकारले प्रभावकारी रुपमा अगाडि बढाएको विद्युत् चुहावट नियन्त्रण अभियान सोचेअनुसार नै सफल भएकोले पनि आपुर्तिमा सुधार भएको हो।
अघिल्लो आवको पुस मसान्तसम्मको चुहावटको तुलनामा चालु आवको विद्युत् चुहावट ४.२ प्रतिशतले घटेको छ । चालु आवमा विद्युत् चुहावट पाँच प्रतिशतले घटाउने लक्ष्य राखिएको थियो ।
आव २०७३,०७४ मा विद्युत् व्यवस्थापन तथा चुहावटमा उल्लेखनीय सुधार गरी विद्युत्भार कटौतीमा कमी आएको, काठमाडौँ, पोखराजस्ता महत्वपूर्ण र ठूला सहरमा विद्युतभार कटौती अन्त्य भएको, औद्योगिक क्षेत्रमा साँझको समयमा चार घन्टा मात्रै विद्युत् कटौती हुने गरेको तथा घरेलु ग्राहकका लागि भने कुनै पनि प्रकारको विद्युत् कटौती नभएका कारण ऊर्जाको अवस्थामा गुणात्मक सुधार आएको छ ।
उद्योगमा पनि कटौती कम
विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ । अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो ।
यहाँ कति थपियो, भारतबाट कति आयो ?
सर्वेक्षणअनुसार चालु आवमा विद्युत भार कटौती अन्त्यका लागि भारतबाट एक हजार १७१।३८ गिगावाट घन्टा बराबरको विद्युत् आयात भएको छ । अघिल्लो आवमा यस्तो अनुपात आयात एक हजार ७८२.८६ गिगावाट घन्टा बराबर रहेको थियो ।
चालु आर्थिक बर्षमा ज्याग्दी खोला दुई मेगावाट, ठुङ्गन ठोस्ने ४.३६ मेगावाट, माथिल्लो मस्र्याङदी ‘ए’ ५० मेगावाट, दारौँदी खोला १.६ मेगावाट, खानी खोला दुई मेगावाट, मिया खोला एक मेगावाट, माथिल्लो मोदी २५ मेगावाट र हेवा खोला ‘ए’ १४.९ मेगावाट विद्युत् निर्माण आयोजना सम्पन्न भएका छन् ।
प्रसारण लाईन बिस्तार
आव २०७३,०७४ को प्रथम आठ महिनामा १३२ केभी तथा अन्य भोल्टेज स्तरका प्रसारण लाइन विस्तार आयोजनातर्फ ५६ र वितरण लाइनतर्फ ८९ वटा आयोजना गरी एक हजार ५९ किमी प्रसारण लाइन आयोजना सम्पन्न भएको र अघिल्लो आवको सोही अवधिमा पाँच हजार १७ किमी प्रसारण लाइन सम्पन्न भएको थियो ।
कति आयोजना बन्दैछन् ?
नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीमार्फत सरकारको लगानी भएका कुल ७४० मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको र २०८० सालसम्म सबै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउनेछन् ।
आर्थिक सर्वेक्षणअनुसार २०७२ साल फागुन मसान्तसम्म कुल ८९७ मेगावाट क्षमताका ७२ आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेको र तीन हजार ५२४ मेगावाट क्षमताका १४० आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र लिई निर्माणको चरणमा रहेका छन् ।
राससले प्रबाह गरेको समाचार सामाग्रीमा आधारित
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।