ग्रीन डेभलपमेण्ट बैंकले चुक्ता पूँजीको ४०० प्रतिशत बराबर ४० लाख कित्ता हकप्रद जारी गर्ने अनुमति माग गरेको हो । हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद निष्काशन गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यसअघि बैंकले गत बर्ष जेठमा ४ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेर चुक्तापूँजी १० करोड रुपैंया पुर्याएको थियो । तीन जिल्ले बैंकले ०७४ आषाढ सम्म ५० करोड चुक्तापूँजी पुर्याउन राष्ट्रबैंकले निर्देशन गरेअनुसार बैंकले भारी मात्रामा हकप्रद बेच्न लागेको हो ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कम्पनीले ३८ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी सात रुपैँया ७७ पैसा कायम गरेको छ । मंगलबार नेप्सेमा बैंकको सेयर प्रतिकित्ता ६३० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
त्यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद गर्न अनुमति माग गरेको छ । बैंकले एक सय रुपैयाँ अकिंत दरको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गर्न मागेको हो । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
गत बर्षको ६.४० प्रतिशत बोनसपछि माउन्ट मकालुको चुक्तापूँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । बैंकले यसअघि पनि एक सय पचास प्रतिशत हकप्रद बेचेको थियो । बैंकको सेयर मंगलबार ६७३ रुपैँयामा नेप्सेमा काररोबार भएको छ ।
किसान माइक्रोफाइनान्सले चुक्ता पूँजीको २४ दशमलव २२ प्रतिशतले हुने ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति माग गरेको हो । गत आर्थिक बर्षमा प्रदान गरेको ६१ प्रतिशत बोनस बितरणपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी तीन करोड २२ लाख रुपैंया पुगेको छ । हकप्रद निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी चार करोड रुपैंया पुग्नेछ ।
माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसअघि माइक्रोफाइनान्सले ३९ प्रतिशत हकप्रद प्रस्ताव गरेकोमा हकप्रदले समेत पाउने गरि २४ दशमलव २२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५३ रुपैँया ५१ पैसा कायम गरेको छ । कम्पनीको सेयर मंगलबार २८०० रुपैँयामा नेप्सेमा काररोबार भएको छ ।