एनसीसी बैंकमा एपेक्ससहित चार वटा विकास बैंक मर्ज गर्ने क्रममा राष्ट्र बैंकबाट ब्यवस्थापन प्रमुख भई आएका निर्देशक लक्ष्मी प्रपन्न निरौलालाई समेत दबाबमा पारेर मर्ज गरिएको खुलासा भएको छ ।
तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकका बरिष्ठ कर्मचारीले मेरोलगानीसँगको कुराकानीमा खुलासा गरेका छन्, निरौलाले कुनै हालतमा एपेक्सलाई मर्ज गर्न सकिन्न भनी अडान लिएका थिए तर हामीले राष्ट्र बैंकको उच्च नेतृत्वबाट दबाब सिर्जना गर्न लगाएर मर्ज गराई छाड्यौं ।
्एनसीसीसँग मर्ज गर्ने क्रममा गरिएको सम्पति तथा दायित्वको मूल्यांकन अर्थात डीडीएको क्रममा एपेक्सको नेटवर्थ २८ रुपैयाँले नकारात्मक आएको थियो तर पछि राष्ट्र बैंकबाट दबाब आएपछि त्यसलाई उल्टै ४८ रुपैयाँले धनात्मक बनाईएको पनि ती कर्मचारीले मेरोलगानीलाई बताए । एनसीसीसँगको मर्जमा एपेक्सको सेयर स्वाप रेसियो ४८ रुपैयाँ कायम गरिएको थियो, त्यसबारे अरु बैंंकका संचालकले त्यतिखेरै बिरोध जनाएका थिए ।
राष्ट्र बैंक केन्द्रीय कार्यालयकै दबाब भनी एपेक्सका ती कर्मचारीले मेरोलगानीलाई बताए पनि पदाधिकारीको नाम भने खोल्न चाहेनन् ।
डीडीएले एपेक्सको तीन अर्ब ७० करोडको कर्जा मध्ये ८० करोड मात्रै उठ्ने ठहर गरी ठूलो रकम कर्जा नोक्सानीमा राख्नुपर्ने सुझाव दिएको थियो । एनसीसीमा मर्ज भएपछिको अबस्थामा एपेक्स तर्फको दुई अर्ब ५० करोड कर्जा नोक्सान कोषमा प्रोभिजन गरिएको र त्यसले नै एनसीसीको अबस्थालाई खराब बनाएको हो भनिन्छ ।
एनसीसीसँग मर्ज हुनुअघि एपेक्सले निकालेको २०७२,०७३ को तेस्रो त्रैमासिक बित्तीय बिबरणमा एपेक्सको चुक्ता पूँजी ६६ करोड, निक्षेप ६ अर्ब ७५ करोड, कर्जा पाँच अर्ब ६२ करोड र जगेडा कोष घाटा तीन करोड ५२ लाख रुपैयाँ देखाईएको थियो । त्यो बित्तीय बिबरणमा निस्क्रिय कर्जा अनुपात २.८६ प्रतिशत उल्लेख थियो, जुन अहिले आएर पुरै वनावटी थियो भन्ने प्रमाणित भएको छ ।
एपेक्स डेभ्लपमेन्ट बैंकका तत्कालनि अध्यक्ष र हाल एनसीसी बैंकका संचालक बिष्णुप्रसाद धिताल रारा बिकास बैंक, अपी फाईनान्स र रोयल मर्चेन्ट बैंकिड. फाईनान्स मर्ज हुँदा रोयल मर्चेन्ट तर्फको खराब कर्जा देखिएर पछि समस्या आएको दावी गर्छन ।
खराब कर्जालाई बाहिर नदेखाएर असल कर्जाको बर्गमा राख्दै आउँदा अहिले एकैचोटी समस्या देखिएको उनको भनाई छ ।
धितालले आरोप लगाए- अरु अपी र रारा राम्रा थिए, रोयल मर्चेन्टले डुबायो ।
उनले अहिले एनसीसीलाई केही गाह्रो परे पनि सबै कर्जाको धितो भएकाले त्यसलाई असुल गर्दा केही समयमै बैंकको अबस्था सबल हुने तर्क गरे
एनसीसीमा लक्ष्मीबहादुर श्रेष्ठ समुहको बदमासीलाई नियन्त्रण गर्न भन्दै तीन बर्ष अघि राष्ट्र बैंकले ब्यवस्थापन सम्हालेको थियो, अहिले फेरि त्यही घटनाको पुनराबृत्ति हुने संभावना बढेको छ । बैंकका केही संचालकहरु नै राष्ट्र बैंकले फेरि नियन्त्रणमा लिईदेओस भन्दै दबाब दिने तयारी गरिरहेका छन् ।
एनसीसीमा अहिले एनबी समुह र निर्मल प्रधान समुहको १० र १० प्रतिशत हाराकारीमा सेयर स्वामित्व रहेको छ । बिगतमा बदमासी गर्ने एनबी समूहलाई हकप्रद जारी गरेर एनसीसीबाट शक्तिहिन पार्ने राष्ट्र बैंकको रणनीति रहेको बताईन्छ । बिगतमा बिभिन्न काण्ड मच्चाएर बैंक तथा बित्तीय संस्था डुबाउने बदनाम एनबी समुह पनि राष्ट्र बैंक बिरुद्ध खुलेआम उत्रिएको छ । उसले कम्पनी रजिष्ट्रार र अदालतमा एकपछि अर्को मुद्धा हाल्दै राष्ट्र बैंकलाई अफ्ठेरो पारिरहेको छ ।
दोस्रो त्रैमासमा खराब कर्जा वापतको ६५ करोड रुपैयाँ नोक्सानी ब्यवस्था गरेको बैंकले तेस्रो त्रैमाससम्म त्यसलाई बढाएर एक अर्ब नघाउनु परेको छ । बैंकले ब्याज आम्दानी राम्रै गरे पनि कर्जा नोक्सानी ब्यवस्था बढाउनु परेपछि मुस्किलले १६ करोड खुद नाफा गरेको देखाएर प्रति सेयर आम्दानी १० रुपैयाँ ६३ पैसा उल्लेख गरेको छ, जुन सेयरपूँजीसँग मेल खाँदैन ।
एनसीसीको हाल चुक्ता पूँजी चार अर्ब ६७ करोड मात्र छ । राष्ट्र बैंकले तोके अनुसार यही असार मसान्तमा आठ अर्ब पुर्याउँन तीन अर्ब ३३ करोड कसरी जम्मा गर्ने ? एनसीसीका संचालकहरुमा यही कारणले पनि तनाब र बिबाद बढ्दै गएको छ ।
एनसीसी बैंकले चुक्ता पूँजी आठ अर्ब पुर्याई राष्ट्र बैंकले तोकेको सिमा पार गर्न ५० प्रतिशत हकप्रद बिक्री गर्ने एजेण्डासहित बिशेष साधारणसभा बोलाएकोमा पाटन उच्च अदालतको आदेशमा त्यो रोकिएको अबस्था छ भने नियमित साधारणसभा हुने छाँट छैन । त्यसैले अब एनसीसीलाई फेरि नियन्त्रणमा लिने वा तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेको भन्दै कारबाही गर्ने विकल्प मात्र राष्ट्र बैंकसँग बाँकी छ ।
एनसीसीका कर्मचारीहरु हाकाहाकी भन्छन्- समस्या सिर्जना गरेको राष्ट्र बैंकले नै हो, अब समाधान पनि कसरी गर्ने भन्ने उसैको दायित्व हो । आफैले मर्ज गराएको संस्था समस्यामा कसरी पर्यो भनेर हेर्नु पर्यो नि ।
अदालतले एपेक्सको पैसा र सेयरको अलग हिसाब राख्न आदेश दिएको छ भने सेयर बजारमा कारोबार पनि रोकिएको छ । तर आर्थिक कारोबार र सेयरको हिसाब अलग गर्नु कसरी संभव होला भन्ने प्रश्न जटिल छ ।
एनसीसीले एपेक्स तर्फका धेरै ऋणीहरुको धितो लिलामको सुचना निकालेको छ तर कमशल धितो भएकाले तत्काल कर्जा असुली हुने संभावना कम छ ।
एनसीसी बैंकलाई समस्यामा पार्ने एपेक्सका ठूला ऋणी को हुन ? भन्ने बिषयमा मेरो लगानीले अर्को समाचार प्रबाह गर्नेछ ।
राष्ट्र बैंकको भनाई
राष्ट्र बैंकका सहायक प्रबक्ता राजेन्द्र पंडितले मर्जको क्रममा राष्ट्र बैंकको उच्च नेतृत्वबाट दबाब दिईएको थियो भन्ने कुरालाई ठाडै अस्वीकार गरे । उनले मेरोलगानी डटकमसँग भने, एनसीसीमा मात्रै राष्ट्र बैंकले नेतृत्व सम्हालेको हो, मर्जमा आएका अरु बैंकको ब्यवस्थापनको सहमति बिना मर्ज टुंग्याउन संभव थिएन, त्यसैले राष्ट्र बैंकले दबाब दिएर मर्ज गरायो भन्नु आधारहिन हो ।
उनले मर्ज हुनुभन्दा अघिल्लो बर्ष राष्ट्र बैंकको अनुमगन एपेक्समा छुटेकाले त्यही बेलामा बदमासी भएको हुनसक्ने संभावना देखिएको भन्दै त्यसको बारेमा छानविन भईरहेको जानकारी दिए ।
कसले बदमासी गरेको रहेछ, कहा,ँ कतिखेर बदमासी भएको रहेछ भन्ने बारेमा एक एक गरेर छानविन भईरहेको छ, एपेक्सलाई केन्द्रमा राखेर सबैको छानविन गरिएको छ, पंडितले भने ।
एनसीसीलाई फेरि नियन्त्रणमा लिने भन्ने बारेमा भने अहिलेसम्म कुनै छलफल नभएको उनले स्पष्ट पारे ।