संबिधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तह थपे पनि राजपा चुनावमा आउन अब असंभव

Jun 12, 2017 Merolagani

तिलक कोइराला

पहिलेको मधेशी मोर्चा र अहिले परिवर्तित नाम राष्ट्रिय जनता पार्टीका नेताहरुले ११ महिना अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन सडक आन्दोलन छाडेर संसद छिरे । प्रचण्डसँग अनेक मोलमोलाई गरे र भोट हाले । फेरि सडकमै फर्किएर घुर्की लगाए ।

अहिले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाउन त्यसैगरी संसद छिरे र अनेक खालका मोलमोलाई गरे । भोट हाले । पटक पटक लैनचौरस्थित भारतीय दुताबास पुगे र कसरी आन्दोलनलाई अगाडि बढाउने र चुनाव बिथोल्ने भन्दै सल्लाह गरे । त्यँही बनेको योजना अन्तर्गत उनीहरुले अहिले दोस्रो चरणको चुनाव बिथोल्ने कथित आम हडतालसहितको आन्दोलन घोषणा गरेका छन् ।

आफु भने गुप्त लाभ लिएर संसदमा प्रचण्ड र देउवा बाहुनहरुलाई पटक पटक भोट हाल्ने तर जनतालाई भने मधेशीको नाममा भड्काएर आफ्नो जनप्रतिनिधि चुन्नै नदिने यो गंभीर षडयन्त्रलाई तराईका जनताले असफल पार्न सकेनन् भने घाटा उनीहरुलाई नै हुनेछ । चुनाव भयो भने बिदेशीको सहयोगमा आन्दोलन गर्छौ भनेर खुल्ला घोषणा गर्ने राजपा नेताहरुको नियत चिन्न सकेनन् भने तराईमा बस्ने सच्चा नेपालीले नै अरु कयौं बर्षसम्म दुख पाउने छन् ।


पहिलो चरणको चुनावमा उनीहरुले आफ्नो अबस्था मजबुत नदेखैले भाग लिएनन् र बहाना बाजी गर्दै भने- दल दर्ता भएको छैन, चुनाव चिन्हको ठेगान भएन, कसरी भाग लिने ? सरकारले वातावरण बनाएन भनेर उनीहरु त्यतिखेर पन्छिए । सकेको भए त पहिलो चरणको चुनाव पनि बिथोल्थे । मुलुकमा चुनाव हुनु हुदैन, नत्र अझै ठूलो हिंसा भडकिन्छ भनेर उनीहरुले प्रमाणित गरिसक्थे ।


दोस्रो चरणको चुनावको तयारी तीब्र हुँदै गर्दा दुई दिनअघिसम्म उनीहरु चुनावमा जान सरकारले वातावरण बनाएन भन्दैथिए । तर देउवा सरकारले एमालेको मौन सम्मतिमा छापामार शैलीमा दल दर्ता र निर्वाचन कानुन सम्बन्धी ऐनमा संशोधन गरिदियो र मोर्चालाई चुनावमा भाग लिने वातावरण बनाईदियो । अब उनीहरु नयाँ - नयाँ खाले बहानाबाजी तिर लागेका छन् ।


पटक- पटक फुटेका छ वटा दल मिलेर मधेशी मोर्चा र त्यसपछि राजपा बनाए पनि त्यसका प्रमुख नेताहरुको मन अझै मिलेको छैन र अध्यक्ष मण्डल बनाएर पालैपालो पदमा बस्दैछन् । उपेन्द्र यादवले अलि बढी समय लिएकाले उनलाई कु गरेर महन्थले संयोजक पद हत्याए ।

जिल्ला तहमा कुन पार्टीको अध्यक्ष बन्ने, जिल्ला समितिमा को को बस्ने, स्थानीय तहमा मेयर र अध्यक्ष क कसलाई बनाउने जस्ता जटिल मुद्धा टुंगो लगाउँन सक्ने अबस्था छैन । स्थानीय तहको उम्मेदवार छान्न लाग्दा जिल्ला जिल्लामा अर्को बबण्डर मच्चिनेवाला छ । चुनाव खर्च र कार्यकर्ता परिचालनको प्रबन्ध मिलाउन सकिने अबस्था छैन । चुनावमा भाग नलिने भनेपछि धेरै कार्यकर्ता काँग्रेस, एमाले, संघीय समाजबादी फोरम र लोकतान्त्रिक फोरमतिर लागिसकेका छन् । मुख्य दलहरुले लगभग उम्मेदवार छानिसके तर राजपामा भयंकर अन्योल छ । यही अन्योललाई ढाकछोप गर्न त्यसका नेताहरु आन्दोलन, आमहडताल जस्ता चर्का कुरा गरिरहेका छन् । यस्तो छिन्नभिन्न अबस्थामा उनीहरु कसरी चुनावमा जानसक्छन् ? असंभव छ । विदेशी प्रभुले कडा निर्देशन दिएर चुनावमा जाऊ, परेको म ब्यहोरौला भन्यो भने अर्कै कुरा ।

उनीहरुको माग अनुसार संबिधान सशोधन गरेर हिन्दीलाई नेपालको सरकारी कामकाजको भाषा बनाईयो, जनसंख्याको आधारमा स्थानीय तह कायम गरियो, मानवता बिरुद्धको अपराधमा संलग्नहरुलाई आममाफी दिईयो, नागरिकता सम्बन्धी कानुनमा संशोधन गरियो र भारतीयलाई सजिलै नागरिकता दिलाउने प्रबन्ध गरियो भने पनि उनीहरु चुनावमा आउनेवाला छैनन् । उनीहरुले त्यसपछि तराईमा संसदीय क्षेत्र थपौं र संसदकै चुनाव गरौं भनेर अर्को अड्को थाप्नेछन् ।

राजपा चुनावमा आओस र जनमत आफुसँग रहेको प्रमाणित गरेर एजेण्डा अनुमोदन गराओस भन्ने सदिच्छा सबै नेपालीको छ र उसलाई चुनावमा आउन सबैले प्रोत्साहित पनि गर्नुपर्छ तर मनोगत चाहनाले मात्रै काम गर्नेवाला छैन ।

उनीहरुले बखेडा झिक्नुका पछाडि निकै ठूला खाले षडयन्त्रहरुले काम गरेको छ । यो देशलाई असफल मुलुक बनाउने बिदेशी योजना अनुरुप गोटी बनेका छन् र त्यसका सहायक पात्रहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरु पनि हुन् ।


२० बर्ष पहिले हुनुपर्ने स्थानीय चुनावलाई अहिले बल्ल गर्ने सुरसार गर्दै गर्दा त्यसले स्थानीय तहमा लोकतन्त्र बलियो बनाउँछ भन्ने डर बिदेशीका मतियारमा पसेको छ र उनीहरु यसलाई जसरी पनि भाड्न चाहन्छन् । सकेसम्म चुनाबै नगर्ने, त्यो नभए एकैचरणमा चुनाव नगर्ने, खण्ड खण्ड गरेर गर्ने, चुनाव भए देश टुक्रिन्छ भन्ने अफवाह फैलाउने काममा त्यो शक्ति लागिरहेको छ । त्यही शक्तिको लहैलहैमा लाग्ने काँग्रेस र माओबादी केन्द्र त धेरै जिम्मेवार छन् नै, आफ्नो गतिलो अडान प्रस्तुत गर्न नसक्ने प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि उत्तिकै दोषी छ ।


अब राजपाको अबरोधले केही प्रदेशमा चुनाव हुन सक्दैन भन्दै असार १४ मा हुने भनिएको  चुनाव पछि सार्ने ठूलो षडयन्त्र हुँदैछ । विदेशी ग्राण्ड डिजाईनले चाहेको पनि त्यही हो । त्यसको मतियारी प्रस्तुत गर्दै काँग्रेस र माओबादी केन्द्रले निर्णय गर्नेछ र एमालेले मौनतापूर्वक सहीछाप गर्नेछ भन्ने आशंका बढ्न थालेको छ ।

पहिलो चरणमा चुनाव सम्पन्न भएका स्थानीय तहका प्रतिनिधिले काम थालिसकेको अबस्थामा बाँकी चार प्रदेशका जनताले कहिलेसम्म अन्योल र अराजकताको सामना गरिरहने ? तराईका जनता चुनावको पक्षमा खुलेर आउन सकेनन् भने सबैभन्दा धेरै घाटा उनीहरुलाई नै हुनेवाला छ ।


सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय पनि बिदेशीले हावा भरेर फुलाएको  बेलुनसँग झुकेर असार १४ को चुनावलाई तलमाथि पार्न खोज्यो भने स्थिति अरु भयावह हुनेछ । हावा भरिएको बेलुन शक्तिशाली देखिने कि एउटा स्वाधिन राष्ट्रको राज्य संयन्त्र ? परीक्षण सुरु भईसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।