सिंहदरबार अगाडि नै आउनसक्छ भयानक मानवीय विपत्ति

Jun 22, 2017 Merolagani

नवीन ढुंगाना

काठमाडौ ।  गोकर्णेश्वर र भक्तपुरमा यो हप्ता त्रासदीपुर्ण आगलागिका घटना भए । गोकर्णेश्वरको गाईफार्म र भक्तपुरको यति कार्पेट कारखानामा भएका विनासकारी आगालागिका घटना सिंहदरबार अगाडि नै दोहोरिएर भयानक मानबीय विपत्तिको रुप लिनसक्ने खतरा बढ्दै गएको छ ।

 

सिंहदरबार अगाडि प्लाष्टिक र बाँसका छाना हालिएका हङकङ बजारका यी झुप्राहरुमा कसैले नसोचेको घटना भयो भने त्यसले भयानक मानवीय विपत्ति ल्याउनसक्छ । भृकुटीमण्डपमा बनाईएका अब्यवस्थित र असुरक्षित झुप्राहरुमा कसैले जानी नजानी एउटा सलाईको काँटी मात्रै छाडिदियो भने हुने क्षतिको आँकलन गर्न समेत गाह्रो पर्ने अबस्था आउनसक्छ ।

नेपाल पर्यटन बोर्ड कार्यालय भवनदेखि टुकुचा पुलको मुखसम्म लहरै बसाईएको अस्थायी टहराको सुरक्षा ब्यवस्था समेत अत्यन्त कमजोर रहेकाले यस्ता दुर्घटनाको जोखिम निकै बढी छ । त्यहाँ चौबिसैघण्टा जोसुकै जानसक्ने र जस्तोसुकै गतिबिधि गर्नसक्ने भएकाले नसोचेको घटना नहोला भन्न सकिन्न । कुनै ठूलो आगलागि नै भयो भने अब्यवस्थित संरचनाहरुका कारण दमकल भित्र पस्न र टहराको बीचमा लागेको आगो निभाउन मुस्किल पर्ने देखिएको छ ।

नेपाल जर्नल सम्बाददाता रिर्पाेटिङका लागि मंगलबार हङकङ बजार पुग्दा ब्यापारी दल बहादुर कार्की ३२ नम्बर स्टलमा कपडा सजाउँदै थिए ।

सम्बाददाताले कार्कीलाई भक्तपुर र गोकर्णेश्वरको त्रासद् आगलागी घटनाबारे जानकारी गराउँदै प्रश्न सोध्यो - तपाँईको पसल रहेको बजारमा आगो लाग्यो भने सुरक्षाको प्रवन्ध के छ ?

फिस्स हाँस्दै कार्कीले भने “ओ हो सर, त्यस्तो भयो भने त हातमा अटेको कपडा बोकेर कुलेलम ठोक्ने हो, ज्यान त जसरी भएपनि जोगाउँनै पर्यो नि ।”

२३ वर्षदेखि हङकङ बजारमा ब्यापार गर्दै आएका कार्कीको भनाईले प्रष्ट बुझिन्छ, हङकङ बजार आगलागिको उच्च जोखिममा छ तर सुरक्षाको उपाय अबलम्बन गरिएको छैन ।

हङकङ बजारको पूर्वाधार कस्तो छ ?

हङकङ बजार देशको प्रशासनिक मुख्यालय सिंहदरबारबाट करिब तीन सय मिटरको दुरीमा छ । रेडिमेट लत्ता कपडा किनमेलका लागि चर्चित हङकङ बजार भित्रबाट हेर्दा जत्ति भीडभाडयुक्त देखिन्छ, अर्कोतर्फबाट हेर्दा खतरा पनि उत्तिकै छ ।


माटोमा प्लास्टिक बेरेर गाडिएको बाँसको खाँबो, खाँबोमा अड्याईएको बाँसकै डाँडा भाटा, आकाश छोप्नलाई निलो पाल, पाल नउँडाओस भनी ढाक्न राखिएको बाँस र टायर, बाछिटा रोक्न प्लास्टिक र बोराको बार र सूर्यको सिधा प्रकाश र शीत नछिरोस भनी छानामुनी राखिएका कागजका कार्टुनहरु । छाप्राहरुको संरचना यसरी नै बनेको छ ।

दिउँसो टहरामा फिजाएर बिक्री गरिने सामानहरु राति भरियाहरुले ठूल - ठूला भारीमा बोकेर नजिककैको गोदाममा थुपार्ने गर्छन र बिहान पाँच नबज्दै फेरि भारी पसलहरुमा ल्याउने गरिन्छ । दिउँसो होस वा राति जत्तिबेला आगो लागे पनि उत्तिकै खतरा छ । टहरा पनि जल्छ र गोदाम पनि जोगाउँन सकिन्न ।

यस्तै संरचना भित्र पर्यटन बोर्डबाट सुरु भएर टुकुचाको तरकारी बजारसम्म हङकङ बजार फैलिएको बजारमा ६९० ओटा पसलहरु सञ्चालनमा छन ।

ब्यापारीहरु के भन्छन ?

२०४९ सालमा टुँडिखेलबाट स्थानान्तरण गरिएपछि भृकुटीमण्डपमा हङकङ बजार सञ्चालनमा आएको थियो । पच्चिस वर्षदेखि यस्तै  टहरो मै हङकङ बजार सञ्चालनमा छ ।


जस्ता र फलामको टसमा बजार बसाईदिन ब्यापारीहरुले गरेको आग्रह सरकारले नमानेको काठमाण्डौ निम्न व्यापारी संघका सचिव ध्रुब बहादुर ढकालले बताए ।

नियमित भाडा र व्यवशाय कर तिर्दै आएको भए पनि बजारको सुरक्षार्थ सम्बन्धित निकायले चासो नदिएको व्यापारीहरुले बताए ।

भक्तपुर र गोकर्णेश्वरको आगोलागी दमकलकै प्रयासमा पनि लामो समयसम्म नियान्त्रणमा नआएको घटनापछि हङकङ बजारका व्यापारीहरुको मनमा डर पसेको छ ।

भोजपुरबाट काठमाण्डौ आएर २१ वर्षअघि देखि हङकङ बजारमा ब्यापार गर्दै आएकी मञ्जु थापा भन्छिन “कतिबेला गोकर्णको गाई झै पोलिने पो होकी भन्ने चिन्ताले सताउन थालेको छ ।”

समाज कल्याण परिषद् के भन्छ ?

हङकङ बजार बसेको जमिन समाज कल्याण परिषद्को स्वमित्वमा छ । समाज कल्याण परिषद्का सूचना अधिकारी बोधराज दाहालले परिषदले पसलको संरचना सुरक्षित बनाउन प्रयास गरेपनि बजेट अभावमा काम अगाडि बढाउन समस्या भएको जानकारी दिए । सरकार परिवर्तन भएसंगै योजना र कार्यक्रममा पनि फेरबदल भैईदिदा भृकुटीमण्डपको समस्या जिउँको तिउँ रहेको दाहालको भनाई छ । यो आर्थिक वर्षमा २ करोड बजेट विनियोजन भएको जानकारी परिषद्मा आएको दाहालले बताए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।