करिब आधा घण्टा ढिला साधारणसभा सुरु भएपछि सेयरधनीले सुरुमै बैंकको साधारणसभा ढिलो भएकोमा रोष प्रकट गरे ।
कार्यक्रमको सुरुमै आफ्नो भनाई राखेका डा. सुन्दरलाल श्रेष्ठले बैंकको सेयर रजिष्टार सिभिल क्यापिटलमा गत चैतमा नै सेयर अभौतिकिकरण गर्न दिएपनि करिब तीन महिना बितिसक्दा समेत डिम्याट खातामा नआएकाले धितोपत्र बोर्डको ध्यान सेयरधनीको समस्यामा केन्द्रित हुन नसकेको बताए ।
साविकको अरनिको विकास बैंकका संस्थापक सेयरधनी रहेका प्रमोद कुमार नेपालले विशेष साधारणसभाको विशेष प्रस्ताव प्रष्ट रुपमा सबै नखुल्दा सेयरधनी अलमलमा पर्ने अवस्था आएको भन्दै संचालकको आलोचना गरे ।
नेपालले अरनिको बैंकको कर्मचारी सेञ्चुरीमा व्यवस्थापन गर्दा दुई तहसम्म घटुवा भएको भन्दै अरनिकोको कर्मचारीको सम्मानजनक व्यवस्थापन गर्न माग माग गरे ।
सेयरधनी उद्धव प्रसाद घिमिरेले सेयरधनीलाई कर वापतको रकम तीर्न लगाउने परिपाटी बन्द गरेर बैंकले नै कर बापतको नगदको प्रबन्ध गर्न सुझाव दिए ।
अर्का सेयरधनी तथा सेञ्चुरी बैंकका पुर्व संचालक यम प्रसाद पाण्डे सगरमाथा फाईनान्स वा अन्य जुनसुकै कम्पनीलाई प्राप्ती वा मर्जरमा जाँदा चल, अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन अनुसार सेयर स्वाप रेसियो निर्धारण हुनुपर्ने माग गरे ।
सेञ्चुरीसँग प्राप्तीमा आएको इन्नोभेटिभको सेयरधनी रहेका मुक्तिप्रसाद श्रेष्ठले बैंकलाई प्रचार प्रचार गर्न कमि भएको, अर्को संस्थासँग जोडिएर चिनिनुपर्ने अवस्था आएको भन्दै अब बैंकबाट नै अरुलाई चिनाउन जोड दिए ।
सेयरधनीले उठाएका प्रश्नको जवाफ दिँदै बैंक सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले भर्खर नै प्राप्ती गरेका अरनिको र इनोभेटिभ बैंकको सेयरधनीलाई समेत समेट्न केही समय साधारणसभा ढिला गरेको जवाफ दिए ।
श्रेष्ठले प्राप्ती गरिएको सबै संस्थालाई 'वीनवीन' को अवस्था हुनेगरी प्राप्ती सम्झौता भएको भन्दै कर्मचारी मिलानमा भएको समस्या योग्यता र क्षमताको आधारमा गरिएको जवाफ दिए ।