सरकारले तीनबर्ष अगाडिको बजेट मार्फत नागरिक लगानीकोषलाई बजार निर्माताको रुपमा सेयरबजारमा भित्र्याउने घोषणा गरेको थियो तर अहिलेसम्म कुनै काम अगाडि बढ्न सकेको छैन । त्यस्तै कर्मचारी संचय कोषलाई पनि सेयरबजारमा भित्र्याउने चर्चा यत्तिकै सेलाउँदै गएको छ । ठूला संस्थागत यी लगानीकर्तालाई सेयर बजारमा आउन नदिन कुन शक्तिले भुमिका खेलिरहेको छ भन्ने रहस्य पनि गहिरिदै गएको छ ।
सरकारले आर्थिक बर्ष ०७२।७३ को बजेट मार्फत नै नागरिक लगानी कोषलाई बजार निर्माताका रुपमा परिचालन गर्ने घोषणा गरको थियो । यसैलाई आधार मानेर कोषले मार्केट मेकर र स्टक डिलरको रुपमा एकैपटक काम गर्नका लागि सरोकारवाला निकायहरु नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र बोर्डमा प्रस्ताव समेत गरेको थियो ।
कर्मचारी सञ्चय कोष, नेपाल दूरसञ्चार कम्पनी, बिमा संस्थान र कोषको संयुक्त लगानीमा बजार निर्माता कम्पनी सञ्चालनमा ल्याउन यी संस्थाहरुबाट ६ देखि १० अर्ब रुपैयाँ लागत (पूँजी) मा बजार निर्माता कम्पनी स्थापना गर्ने भनिएको थियो । त्यसले अहिलेसम्म मुर्त रुप लिन सकेको छैन ।
नागरिक लगानीकोषका उप प्रमुख कार्यकारी सुशिल कुमार अर्यालले कोषलाई बजार निमार्ताको रुपमा सेयरबजारमा भित्र्याउन कमिटि बनेको र त्यसले सबै काम अन्तिम चरणमा पुर्याएको दावी मेरो लगानीसँग गरे ।
अर्यालले भने, नेप्से र धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छौ । त्यहाँबाट स्वीकृति आउने वित्तीकै काम थाल्ने छौ । सार्थै उनले कोषले स्टक डिलरको रुपमा पनि काम गर्ने सम्बन्धमा अध्ययन भईरहको बताए । उनका अनुसार कम्पनीको सञ्चालन तथा व्यवस्थापन कोषले नै गर्नेछ ।
कोषको ऐनमा २०४७ सालमै मार्केट मेकरको काम गर्ने व्यवस्था गरिसकेको भएपनि २६ बर्षपछि आएर मात्र यसलाई कार्यान्वयनको चरणमा लैजाने प्रक्रिया थालेको थियो । कोषले ऋणपत्रहरुको खरीदविक्री गर्दे आएको भएपनि डिलरसिपको काम अहिलेसम्म गरेको छैन तर यसले शेयर निष्कासन व्यवस्थापन गर्ने र शेयर रजिष्ट्रारको काम भने गर्दै आएको छ ।
यता नेप्से स्रोतले भने नेप्सेको वर्तमान संरचनाको कारोबार प्रणालीमा बजार निर्माताका लागि स्थान नभएकाले अब आउँदै गरेको नयाँ प्रणालीमा अपग्रेड गर्न लागेको बताएको छ । यसका लागि अझै केही महिना लाग्ने देखिन्छ । नेप्सेको हालको कारोबार प्रणालीलाई विस्थापन गर्न वाईको नेपालले अटोमेटेड अनलाइन प्रणाली निमार्ण गरिरहेको छ । बजार निर्माता नियामावली नभएकाले पनि यही संरचनामा काम गर्न असम्भव छ, नेप्से स्रोतले भन्यो ।
त्यस्तै धितोपत्र बोर्डले पनि बजार निर्माताका लागि तुरुन्तै अनुमति दिन नसकिने बताएको छ । कम्पनीको कागजपत्र अध्ययन भइरहेको तथा नेप्सेको सिफारिस आइनसकेकाले अनुमतिबारे अहिल्यै केही भन्न नसकिने बोर्डका एक अधिकारीले बताए ।
कर्मचारी संचय कोष के गर्देछ ?
सरकारी स्वामित्वको कर्मचारी संचय कोषले पनि संचय कोष ऐन २०१९ संशोधन गर्दै पुँजी बजारमा प्रवेश गर्ने बाटो खुला गरेको थियो । यसका लागि कोषले सञ्चकर्ताको रकमबाट सामूहिक लगानी कोषको रुपमा पुँजी बजारमा लगानी गर्ने तयारी भने गरेको छ । कोषका प्रशासक कृष्ण प्रसाद आर्चायले सामुहिक लगानी कोष संचालनबारे मोडालिटि तयार भईसकेको र नियमनकारी निकायसँग छलफलको क्रममा रहेको जानकारी दिए ।
उनले कोषले छुट्टै कम्पनी खोलेर कोष संचालन गर्ने कि कोषकै आन्तिरक व्यवस्थापनमा संचालन गर्ने भनी टुंगो लाग्न भने बाँकी रहेको बताए । बजारको आवश्यकता हेरेर म्युचल फण्डको आकार निर्धारण गर्ने योजना कोषको छ । आगामी आर्थिक बर्षको सुरुवातबाट सामुहिक लगानीकोष संचालनमा ल्याउने योजनामा छ । साथै कोषले नागरिक लगानीकोष मार्केट मेकरको रुपमा बजारमा आए सहकार्य हुनसक्ने समेत बताएको छ ।
हाल कर्मचारी संचय कोषमा २५० अर्ब भन्दा बढी रकम संचय रहेको छ । उक्त रकम कोषले आफ्ना बचतकर्ता, सरकारका विभिन्न आयोजना, बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीमा लगानी गर्दे आएको छ । विभिन्न कम्पनीको सेयरमा मात्रै उसको दुई प्रतिशत लगानी गरेको छ ।
के हो बजार निर्माता ?
सेयर बजारमा तरलता (सेयर आपूर्ति) प्रदान गर्न स्थापना हुने कम्पनी नै बजार निर्माता हो । यसले सेयर कारोबारमा आउने अस्वाभाविक उतारचढावबाट बजारमा पर्ने प्रभाव न्यूनीकरण गर्दै दिगो स्थिरता प्रदान गर्छ । यो कम्पनी हरेक समय सेयर खरिद तथा बिक्री गर्न तयार रहन्छ । आफूले बजार निर्माण गर्ने धितोपत्रको मूल्यमा अनुचित अस्थिरता हुन नदिने काम पनि बजार निर्माताको हो । आफूले बजार निर्माण गर्ने धितोपत्रको सम्बन्धमा धितोपत्र बजार (नेप्से) ले तोकिदिए बमोजिम न्यूनतम परिमाणमा नघटाई मासिक कारोबार गर्छ ।
पूँजी बजार १० प्रतिशतसम्म बढ्ने आँकलन
नागरिक लगानी कोषले मार्केट मेकर तथा स्टक डिलरसिपको भुमिकामा शेयरबजारमा भित्रिएमा अहिलेको बजार दश प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । कोषसँग वीमा र बचतमा गरेर मात्रै ९० अर्ब रुपैयाँ भन्दा बढी छ । जसमध्ये अधिकांस रकम बैंक तथा वित्तिय संस्थाहरुमै रहेको छ ।
त्यस्तै कोषले विदेश स्थित नेपालीहरुको बचत संकलन गरी पूँजीबजारमा लगानी गर्ने योजना पनि पञ्चबर्षीय योजनामा राखेको छ । ०४७ सालकै ऐनमा यस्तो व्यवस्था भएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
कोषले अहिलेसम्म बचत संकलन गर्ने, पूँजीबजारको सन्दर्भमा आईपिओ जारी गर्ने, शेयर रजिष्टारको यी दुई काम मात्र गर्दे आएको छ ।
बास्केट फण्ड पनि हरायो
२०७२ सालको विनासकारी भूकम्पपछि सेयर बजारमा देखिएको गिरावट रोक्न तत्कालिन सरकारले बास्केट फण्डको अवधारणा अगाडि सारेको थियो । तत्कालिन अर्थमन्त्री डा रामशरण महतले नागरिक लगानी कोषको नेतृत्वमा बास्केट फण्ड बनाउने, त्यसमा सरकारले पनि लगानी गर्ने, कर्मचारी संचयकोष लगायत निकायबाट फण्ड जुटाएर सेयर बजारमा लगानी गर्ने अवधारणा अगाडि सारेका थिए । तर त्यसपछिका दिनमा सेयर बजार उकास्सिदै गयो र बास्केट फण्ड बनाउने सोच पनि हराउदै गयो । तर अहिले बजारको गिरावट रोक्न यस्तो फण्डको आवश्यकता महसुस गर्न थालिएको छ ।