बैंकले हकप्रदमा नबिकेको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलाममा राखेको थियो । सो सेयर मध्ये चिलिमे हाइड्रोका सर्वसाधारण समुहका सञ्चालक तुलसीराम ढकालले ५० हजार कित्ता सेयर आफ्नो बनाएका छन् । बिहीबार अन्तिम पटक ४२७ रुपैंयामा किनबेच भएको सेयरका लागि चिलिमेका सञ्चालक ढकालले चार सय २० रुपैंया १० पैसामा सेयर सकारेका हुन् ।
बैंकको लिलाममा राखिएको सेयरको प्रारम्भिक नतिजा अनुसार लिलामीमा चार सय ४५ रुपैंयासम्मको आवेदन परेको छ । एक व्यक्तिले उक्त मूल्यमा १५० कित्ता सेयर माग गरेका छन् । बैंकको सेयरको न्युनतम मूल्य ४१० रुपैंया हुने आँकलन गरिएको छ । सबै तथ्यांकलाई सिबिआईएल क्यापिटलले अन्तिम रुप दिन सकेको छैन ।
शनिबार सबै तथ्यांकले अन्तिम रुप पाए पछि बिस्तृत विबरण तथा सेयर सकार्नेको नामावली प्रकाशन गरिनेछ ।
बैंकको लिलामको सेयरमा संस्थागत लगानीकर्ताले भने सेयर पाउन सकेनन् । सिटिजन्स बैंकको लिलाममा ठुलो कित्ता सेयर हात पारेको जगदम्बा स्टील्सले सानिमाको ४९ हजार कित्ता सेयर चार सय दुई रुपैंयामा माग गरेको थियो । यद्यपी उसले सानिमाको एक कित्ता सेयर पनि हात पार्न सकेन ।
अन्य संस्थागत लगानी तथा सामुहिक लगानी कोषले चार सय रुपैंया भन्दा तलको मूल्यमा सेयर माग गरेका थिए । बिस्तृत विबरण शनिबार मध्यान्ह प्रकाशन गरिनेछ ।