सेयर लगानीकर्ताहरुमा मेरोलगानी डटकमको स्पष्टिकरण

Jul 10, 2017 Merolagani

तिलक कोइराला

सही र सत्य सूचना प्रबाह गर्ने पवित्र ईच्छा र सक्रियता हुँदाहुँदै पनि कहिले काँही गल्तीहरु हुन्छन् र त्यस्ता गल्तिहरुले गर्दा आम पाठक र दर्शकहरुमा नराम्रो धारणा बन्न जान्छ । २०७४ असार २५ गते आईतबार मेरोलगानीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रमको प्रत्यक्ष भिडियो प्रसारण र समाचार प्रबाह गर्ने क्रममा भएका केही त्रुटीहरुका बारेमा यहाँ स्पष्ट पार्न जरुरी भएको छ । 

 

 

त्यस दिन दिउँसो एक बजेपछि लाजिम्पाटको एक होटलमा गभर्नर डा. चिरन्जिवि नेपालले आर्थिक बर्ष २०७४ । ०७५ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रम सुरु गर्नुभयो । मेरोलगानी डटकमले त्यसको प्रत्यक्ष भिडियो प्रसारण गरिरहेको थियो । गभर्नरले मौद्रिक नीतिको सारांश पढ्दै गर्दा त्यहाँ पुगेका बैंकर, पत्रकार र अन्य सहभागीहरु सुनिरहेका थिए ।

भाषण सुनेर टिपोट गर्नु र समाचार बनाउनु संचारकर्मीहरुको काम नै हो । मौद्रिक नीतिको सारांशको प्रति पत्रकारहरुलाई बाँडिएको थिएन । भाषण सुनेर सबै कुरा जस्ताको तस्तै टिपोट गर्नु असंभव जस्तै थियो । सोही क्रममा गभर्नरले बैंक तथा बित्तीय संस्थाहरुले सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जाको प्रसंग पढ्नु भयो । त्यसमा ४० प्रतिशत मात्र प्रबाह गर्न पाउने ब्यवस्था भन्ने शब्दहरु उल्लेख गर्दा प्राथमिक पूँजीको ४० प्रतिशत मात्र भन्ने शब्दांशहरु टिपोट गर्न छुट भएछ । प्रत्यक्ष रुपमा समाचार अपडेट गर्दा समग्र मार्जिन कर्जाको मूल्यांकनको ४० प्रतिशत भन्ने बुझिने गरी समाचार प्रबाह भयो । तर मेरोलगानीबाटै भिडियोको प्रत्यक्ष प्रसारण हेर्नेहरुले के अनुभुति गरे थाहा भएन ।

गभर्र्नरको मौद्रिक नीति बाचन सकिदै लाग्दा अन्त्यमा मात्र संचारकर्मीहरुले लिखित सामाग्री पाए । त्यसलाई पढेर बिस्तृत समाचार बनाउँन खोज्दा मार्जिन प्रकृतिको कर्जा सम्बन्धी समाचारमा गल्ती भएको थाहा भयो र तत्कालै सुधार्दा १० मिनेट जत्ति बितिसकेको थियो । मेरोलगानीले गल्ती स्वीकार गर्दै माफी मागेर तत्कालै समाचार सच्याएको थियो । कार्यक्रमस्थलबाट प्रत्यक्ष रुपमा समाचार प्रबाह गर्ने म नै थिएँ र त्यसको सम्पुर्ण जिम्मेवारी मैले नै लिएको छु ।

बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशत रकमसम्म मात्र मार्जिन कर्जा प्रबाह गर्न पाउने गरी राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको हुनुपर्नेमा सेयर धितो मुल्यांकनको ४० प्रतिशत हुन पुगी आम पाठक र दर्शकहरुमा भ्रम उत्पन्न हुन पुगेको थियो । त्यसबारेमा मेरोलगानीले पुनः गल्ति स्वीकार गरी बिस्तृतमा तेस्रो समाचार सांझमा प्रबाह गरेको थियो ।


नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार चालु रहेको अबस्थामा त्यस समाचारले लगानीकर्ताहरुमा भ्रम उत्पन्न भएको भन्ने पछि थाहा भयो । असल नियतले गरेको कामहरुमा पनि कहिले काँही ठूला त्रुटीहरु हुन्छन् र त्यसलाई तत्कालै सुधार्नुपर्छ भन्ने मान्यतामा हामी छौ । लगानीकर्ताहरुलाई छिटो सूचना प्रबाह गर्ने हतार गर्दा भएको यस कमजोरीबाट हामीले ठूलो पाठ सिकेका छौ । आर्थिक समाचार प्रबाहमा अपनाउनुपर्ने संबेदनशिलता अरु धेरै बोध भएको छ ।


आईतबार र सोमबार सामाजिक संजाल तथा लगानीकर्ताहरुबीचको भेटघाटमा मेरोलगानीको त्रुटीका बारेमा चर्चा र आलोचनाहरु भएको पाईएको छ । स्वस्थ आलोचना र सल्लाहले हामीलाई सधै अरु राम्रो गर्न हौसला दिईरहेको हुन्छ । हाम्रा भगवान भनेकै आम पाठक र दर्शक हुन् । स्वस्थ आलोचनाहरुलाई हामी हार्दिकतापूर्वक स्वीकार गर्दछौ र त्यस्तो त्रुटी नदोहोर्याउने बाचा पनि गर्दछौ । तर त्यही बहानामा खुईल्याउने र भ्रम उत्पन्न गराउने प्रबृत्ति प्रति सजग पनि छौ । हामीले कुनै पनि समाचारमा सेयर बेचेर भागिहाल्नुस भनेका छैनौ र किन्नुस पनि भनेका छैनौ । सूचना प्रबाहको जिम्मेवारी मात्र हाम्रो हो ।


हाम्रो कमजोरीले गर्दा लगानीकर्ताहरुमा के कस्तो हानी पुग्न गयो भन्ने हामीले यकिन गरेका छैनौ तर कुनै संचार माध्यमले प्रबाह गर्ने समाचारकै आधारमा मात्र सेयर बजारमा लगानी गर्ने र हतारिएर लगानी झिक्ने काममा लगानीकर्ताहरु लाग्नु हुन्न भन्दै पुनः सतर्क गराउन चाहन्छौ । समाचार लेखाईमा पनि कमजोरी हुनसक्छ र बुझाईमा पनि फरक पर्नसक्छ । त्यसैले तथ्यको परख गरी सुबिचारित ढंगले सेयर बजारमा दीर्घकालीन लगानी गर्ने र झिक्ने काम गर्नुपर्दछ । नेपालको सेयर बजारमा आजको भोलि फाईदा गर्ने भन्दा पनि दीर्घकालीन लगानी गर्नेहरुलाई धेरै अवसर छ भन्ने कुरा हामीले देखेका छौ र त्यही देखेको कुरा भन्दै आएका छौ ।

कुनै एउटा सानो घटना वा नीतिगत परिवर्तन हुँदैमा पनि लगानीकर्ताहरुले हतारिएर आफुसँग भएको सबै सेयर बेचेर भाग्नुपर्ने अबस्था छँदैछैन । लगानीकर्ताहरुका लागि पूर्ण अनलाईन कारोरबार प्रणालीलगायतका अत्याधुनिक सुबिधाहरु थपिदैछन् जसले अहिलेका बिकृतिहरुलाई एकहदसम्म समाप्त पारेर नयाँ क्षितिजमा सेयर बजारलाई लैजाने छ । सेयर बजारमा दुई, तीन बर्षको हिसाबले कम्पनीहरुको बिबिधिकरण गरी दीर्घकालीन लगानी गर्नुपर्छ भन्दै आएका हौ । समाचारको हेडलाईन्स पढेर मात्र सेयर किन्ने, बेच्ने, हल्लामा उचालिएर र निराश भएर कारोबार गर्ने प्रबृत्ति आम लगानीकर्ताहरुले हटाउँनै पर्छ ।

ब्यक्तिगत रुपमा लगाईएका लान्छनाहरुलाई मैले जवाफ दिनुपर्दा तिलक कोइरालाले २४ बर्षको पत्रकारिता जीवनमा कसैको सिता खाएर गिता गाएको छैन र त्यस्तो कदापी गर्ने छैन । कुनै एउटा ब्यक्ति वा समूहलाई लाभ पुग्ने गरी कुनै समाचार लेखेको छैन र लेख्ने पनि छैन । मेरा सहयोगीहरुका सवालमा पनि यही नै कुरा हो । सेयर बजारमा लगानी रहेको छ कि छैन भन्ने प्रश्न गर्नेहरुका सवालमा भन्दा सेयर बजारमा मेरो लगानी अबश्य नै छ र त्यो कुनै एउटा कम्पनीमा नभएर ३० वटा कम्पनीमा छ । आफ्नो सेयर रहेको वा नरहेको कुनै कम्पनीको बारेमा नियतबश राम्रो वा नराम्रो लेखेको छैन र लेख्ने पनि छैन । ईन्साईडर ट्रेडिड. र स्वार्थ बाझिने गरी कुनै समाचार प्रबाह भएका छैनन् र हुने छैनन् ।

सही समाचार लेख्दा प्रभावित गर्न, रोक्न, अगाडि बढ्न नदिन गलत तत्वहरु लागिरहेका हुन्छन् भन्ने कयौंपटक हेक्का भएकै छ । समाचारका पक्ष र विपक्षले गर्ने तानातानबाट बचेर बीचमा बसी तटस्थ समाचार दिनु नै हाम्रो धर्म हो । हामीलाई धर्म निर्वाहबाट बंचित गराउन कसैले आर्थिक प्रलोभन दिन्छन् त कसैले धम्की र ब्याकमेलिड. गर्छन तर अहिलेसम्म कुनै गलत तत्वबाट निर्देशित भएर कलम चलाएको छैन ।

आम सबसाधारण लगानीकर्ता जसको लागि समाचार र बिचार, बिश्लेषणहरु पस्किएको हो, उनीहरुबाट नै कहिलेकाँही साथ नपाउँदा स्वाभिमानी  पत्रकारमा नैराश्यता उत्पन्न हुनु स्वभाविक हो तर सबै लगानीकर्ता त्यस्ता छैनन भन्ने पनि बुझिएकै छ । हामीलाई बिस्वास गर्ने, साथ सहयोग दिने र मायाँ गर्नेहरुको ठूलो पंक्ति छ, जसका लागि हामीले सूचना र बिचार, बिश्लेषणहरु पस्किरहेका छौ । हामीलाई बिस्वास गर्ने सर्बसाधारण लगानीकर्तालाई कहिल्यै घात गर्नेछैनौ ।

आफु संलग्न रहेको संचार माध्यमलाई सर्बसाधारण लगानीकर्ताको हित बिरुद्ध कहिल्यै उतार्ने छैन । त्यस्तो गर्नुपर्ने बाध्यतामा पारिए पत्रकारिता नै छाडेर अर्कै बाटो रोजौला । नियतबश लगानीकर्तामा भ्रम उत्पन्न गर्ने, गलत अपवाह फैलाउने र बजारलाई निर्देशित गर्ने काम हाम्रो हैन । सही सूचना प्रबाह गर्ने, लगानीकर्तालाई सजग गराउने र नियमनकारी निकायहरुलाई सहयोग गर्ने काम चाँही पक्कै हो । यहाँ भन्दा अरु कुरामा हाम्रो चासो छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।