विभागले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ ।
मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको इतिहासमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनालाई सम्मान गर्न लागिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।
ऊर्जा क्षेत्रको विकास र विस्तारका अनवरत काम गरिरहेका व्यवसायीको हौसला बढाउन र उनीहरुलाई निरन्तर काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने लक्ष्यका साथ विभागले यसपटक प्राधिकरण र निजी क्षेत्रका दुवै प्रवद्र्धकलाई सम्मान दिन लागेको बताए ।
महानिर्देशक सिंहका अनुसार प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा गरी कुल ७५ परियोजना सम्मानित हुनेछन् । विभिन्न समस्या र चुनौतीका बीचमा पनि मुलुकको ऊर्जा संकट समाधानमा लागेको र उज्यालो नेपालको अभियानलाई अगाडि बढाउन अनवरतरुपमा लागेकालाई राज्यले सम्झेको उनको भनाइ छ ।
ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्नेगरी सरकारले विभाग स्थापना गरेको हो । विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पु¥याएको छ भने १०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ । विभागले हालसम्म कुल १३७ आयोजनाबाट तीन हजार ६८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
यस्तै, १०० मेगावाट माथिका पाँचहजार ५०६ मेगावाट क्षमताका १७ वटा परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । साथै, सर्वेक्षण र अन्य अनुमतिका लागि प्रतीक्षामा रहेका आयोजनाको सङ्ख्या पनि उल्लेख्यमात्रामा रहेको छ ।
यसैगरी, विभागले जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टी वितरण गर्दै आएको छ भने अन्य नीतिगत तथा कानुनी सहयोगसमेत गर्दै आएको छ । सरकारले २०७२ फागुन ६ गते ऊर्जा संकटकाल कार्ययोजना सार्वजनिक गरेपछि जलविद्युत् आयोजनाको विकास र विस्तारमा योजनाबद्ध तवरले काम गर्दै आएको र केही सफलता हासिल भएको महानिर्देशक सिंहको दाबी छ ।
कुल ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना निर्माणसँगै मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो । हाल निजी क्षेत्रले कुल ५८ वटा आयोजनाबाट ४४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करिब ४६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । रासस