आर्थिक वर्ष २०७४/७५ को बजेटको आकार अपेक्षाकृत बढेको र विस्तारित बजेटको आकारबाट आर्थिक वृद्धिको गतिलाई दिगो बनाउन मद्दत मिल्ने राष्ट्र बैंकको तर्क छ ।साथै, बजेटले स्थानीय तहको लागि यथेष्ठ वित्तीय स्रोतहरुको व्यवस्था गरेकाले मुलुकभरी नै आर्थिक गतिविधि चलायमान हुनेछ । केन्द्रिय बैंकले भनेको छ ।
स्थानीय तहको पहिलो तथा दोस्रो चरणको निर्वाचन सम्पन्न भएकोले राष्ट्रव्यापी रुपमा आर्थिक गतिविधि चलायमान बनाउन उपलब्ध साधनहरुको समुचित उपयोग हुने आम जनमानसमा अपेक्षा रहेको राष्ट्र बैकको भनाई छ ।
पछिल्लो समयमा वित्तीय असन्तुलनमा सुधार र खास गरी तरलतामा देखिएको उल्लेख्य वृद्धिका कारण मध्यमकालीन ब्याजदर सन्तुलित अवस्थामा फर्किने विश्वस राष्ट्र बैंकको छ । यसका साथै विदेश जाने कामदारको संख्यामा कमी आएता पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि वित्तीय अवस्था सहज हुँदैजाने उसको भनाई छ ।
हालसम्म मनसुनी वर्षा अपेक्षा गरेको भन्दा कम रहेको, दक्षिण एशियाली जलबायु फोरमका अनुसार नेपालमा चालु मनसुन अवधिमा मिश्रित खालको वर्षा हुने सम्भावना रहेको छ । यस अनुसार देशको पूर्वी क्षेत्रमा औसत नजिक, मध्य क्षेत्रमा औसत तथा मध्य तथा सुदूर पश्चिम क्षेत्रमा औसत भन्दा कम वर्षा हुने देखिएको छ ।तसर्थ, आगामी अवधिमा हुने वर्षाको प्रवृतिले कृषि उत्पादनमा मुख्य भूमिका खेल्ने देखिन्छ । राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा भनेको छ ।
तर राष्ट्र बैकले मौसम, सरकारी वित्त, राजनैतिक र वित्तीय सहितका चार क्षेत्रहरुमा हाल विकसित परिस्थितिले आगामी अवधिमा मुलुकको आर्थिक तथा वित्तीय स्थितिको निक्र्याैल गर्ने उल्लेख गरेको छ ।