अबको हाम्रो अनुसन्धान प्राथमिकतामा शेयर बजार पनि पर्छ

Jul 28, 2017 merolagani

 -विनोद लामिछाने, निर्देशक, सम्पति शुद्धीकरण अनुसन्धान विभाग
गठन भएको एक एक दशकसम्म निदाएर बसेको सम्पति शुद्धीकरण अनुसन्धान बिभाग अब भने कालो धनको खोजीमा तात्न थालेको देखिएको छ । हालै बैंकहरुमा गरिएको कडाईपछि बिभागले अब नयाँ क्षेत्रलाई पनि आफ्नो कामको प्राथमिकतामा पार्ने प्रयास थालेको छ । यसै सन्दर्भमा बिभागका निर्देशक विनोद लामिछानेसंग मेरोलगानीका नबिन ढुंगानाले गरेको कुराकानी यहाँ प्रस्तुत छ-

 

 

सम्पति शुद्धीकरण अनुसन्धान बिभाग अहिले के गर्दैछ ? 

अहिले हामी आफ्नो काम प्रभावकारी बनाउने तयारी गर्दैछौ । हाम्रा कर्मचारीहरुलाई अनुसन्धान प्रभावकारी बनाउन सक्षम पार्दैछौ । आम सर्वसाधारणमा सचेतना फैलाउँदैछौ र सूचना प्राप्त गर्ने र प्रबाह गर्ने माध्यम तयार पार्दैछौ । शंकाष्पद ब्यक्तिहरुबारे सूचना दिन आब्हान गर्दैछौ । अन्तर्राष्ट्रिय अभ्यासहरु के कस्ता छन् भनेर बुझ्ने र शिक्षा लिने काम गर्दैछौ । 

बैंकहरुमा कस्तो नियमन गर्दै हुनुहुन्छ ? 

अबैध सम्पत्ति आर्जन र लगानीबारेको निश्चित सूचकहरु मध्ये बैकंहरु प्रमुख हुन् । अबैध रुपमा पैसा कमाएर कुनै न कुनै काममा लगानी गर्न बैकंसम्म अपराधिक पृष्ठभूमीका मान्छेहरु पुग्ने भएकाले अभिलेख राख्न कडाई गरिएको हो ।

बैकंहरुले हरेक ग्राहकको शंकास्पद सूचना राष्ट्र बैकं अन्र्तगतको वित्तीय सूचना इकाईमा दिनै पर्छ र त्यहाँबाट हामीकहाँ जानकारी आउने हो । मान्छेहरुको खराब नियतबाट धन आर्जन गर्ने बानीका कारण वर्तमान अवस्था सृजना भएको हो । 

बिभाग गठन भएको झण्डै एक दशक भयो, काम गर्दाका अफठेरा र चुनौतिहरु के कस्ता छन् ? 

यसमा सबैभन्दा ठूलो समस्या नियमनकारी निकायहरुबीचको समन्वय अभाव नै हो । अपराधीलाई कुन कानून अन्तर्गत कसले मुद्धा चलाउने भन्ने जटिलता बिद्यमान छ । कम सजाय हुने निकायले प्रमाण कमजोर पारेर मुद्धा चलाउने र दोषीले उन्मुक्ति पाउने अबस्था छ । जस्तो कि बैकिड. कसुर अन्तर्गत प्रहरीले मुद्धा चलाउँदाकै कुरा गरौं । कमजोर मुद्धा हुँदा छोटो समयको कैद र सजाय हुन्छ, मुद्धा सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा सबैभन्दा धेरै सजाय के हुन्छ भन्ने हेरिन्छ र बलियो ढंगले मुद्धा अगाडि बढ्छ । त्यो हेर्ने भनेको सम्पति शुद्धिकरणले नै हो । यहाँ त सम्पति शुद्धिकरणको कुरालाई महत्व नै दिईएको छैन ।  

सम्पति शुद्दिकरणले अहिलेसम्म कतिवटा मुद्धा हेरेको छ र अदालतबाट कतिवटा फैसला भएको छ ? 

बिभाग गठन भएको एक दशकमा ३८ वटा मुद्धा अगाडि बढेका छन । यसमा २२ वटा फैसला भएको छ र ४ वटा मुद्धामा प्रतिबादीहरु उच्च अदालत गएका छन् । 

राजनीतिक नेतृत्वलाई अहिलेसम्म छुनै सक्नुभएको छैन, के राजनीतिमा चाँही सम्पति शुद्धिकरण लाग्दैन ? 

यसमा चाँही हामीलाई सूचना नै प्राप्त भएन । सूचना नै नभई हात हाल्न त भएन नि । 

बेला बेलामा नेपालमा धेरै कालो धन भित्रियो भन्ने खुबै हल्ला गरिन्छ । कालो धन भित्रने बाटो चाँही कुन रहेछ ?

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ कार्यन्वयनमा आएपछि आपराधिक पृष्ठभूमिबाट आर्जन भएका धन बैध बनाउन चार ओटा विकल्पमा त्यस्ता मानिसहरु लागिपरेको हाम्रो निस्कर्ष छ । पहिलो घरजग्गा व्यवसाय, दोस्रो सुन चाँदी व्यवसाय, तेस्रो सहकारीमा निक्षेप र चौथो शेयर बजारमा लगानी । आर्थिक अपराध गर्नेहरुले यी व्यवसायमा नियमन र तथ्याङ्क अध्यावधिक कमजोर रहेको भन्दै आफ्नो धन लगानी गरेको भन्ने अनौपचारिक जानकारी हामीलाई प्राप्त भएको साँचो हो । यस विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । 

शेयर बजारमा कालो धन कसरी भित्रिएको पाइएको छ ? 

शेयर बजारमा इन्साईडर ट्रेडिङबारे धेरै कुराहरु सुनिएका छन । यो कुरामा सबै शेयर ब्रोकरहरु सहभागी छन भन्ने होइन । तर केही नियतबस यस्ता कार्यमा संलग्न छन । कालोधन शेयर बजारमा दुई तरीकाले भित्रने गर्छन । पहिलो शेयर ब्रोकर आफैले मिलोमतो गरेर अबैध धन भित्र्याउनु र दोस्रो नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेर ब्रोकरलाई थाहै नदिई लगानी बढाउन सक्रिय हुनु । 

शेयर बजारमा कालोधन आयो भनेर जाँच्ने तपाँईहरुको संयन्त्र के छ त ? 

हामीले व्यक्तिका बित्तीय अवस्था मूल्याङ्कन गर्ने हो । दोषी पहिचान गर्ने प्रणाली सार्वजनिक गर्नु गलत हुन्छ । शेयर बजारको सम्पूर्ण जानकारी धितो पत्र बोर्डले राखैकै हुनुपर्छ । ती सूचनाहरुमध्ये शंकास्पद विवरणहरु राष्ट्र बैङ्कको बित्तीय सूचना इकाई हुँदै हामीसम्म आई पुग्छन् । हामीलाई प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढ्छ ।

 

 

अहिलेसम्म विभागले शेयर बजारमा कालो धन आएको सुइँको पाएर कुनै कारबाही पनि अगाडि बढाएको छ कि ?

अहिलेसम्म हामीले कुनै कारवाही र मुद्धा अगाडि बढाएका छैनौँ । हाम्रो प्राथमिकतामा सुन तस्करी, विदेशी मुद्रा अपचलन, मानव तस्करी लगायतमा मात्र थिए आजसम्म । शेयर बजारका सम्बन्धमा अनौपचारिक जानकारी मात्र हामीले सुनेका हौँ । अबको हाम्रो अनुसन्धानको प्राथमिकतामा शेयर बजार पनि पर्छ । शेयर बजारको उचार चढाब हामीले देखेका छौ, त्यहाँ पक्कै पनि गडबडी छ भन्ने निष्कर्ष हाम्रो हो । 

तपाइँहरुको सक्रियतापछि शेयर बजारमा कालो धन प्रवेश हुँदैन भनेर कसरी बिश्वास दिलाउनु हुन्छ ? 

सुशासनयुक्त समृद्ध समाज निर्माण गर्न गलत मनासयबाट प्रेरित भएर गरिने आर्थिक लाभलाई रोक्नु हाम्रो दायित्व हो । सेयर दलालहरु आफै सुरक्षित भएर शेयर कारोबार गरुन भन्ने हाम्रो चाहना हो । अबैध रुपमा आर्जन गरेको धन ब्यापारमा लगानी गर्न र बैकंमा निक्षेप गर्न सक्ने अवस्था छैन । जाने एउटा विकल्प शेयर बजार पनि हो । शेयर दलालले सावधानी अपनाए अवैध धन निरुत्साही हुन सक्छ । पैसा घरमा पुरेर राख्न कसैले पनि कमाउँदैन । कि खाएरै सक्नु प-यो अन्यथा बढी प्रतिफलका लागि लगानी गर्नु प-यो । तर कतिपयले कानूनको दायरामा आउन नसक्ने ठाउँमा लगानी गर्ने गरेको पाइएको छ । यस्ता लगानी हाम्रो छानबिनको दायरामा आएपछि तीन पुस्तेको आधारमा अनुसन्धान हुन्छ । ठ्याक्कै बन्द हुन्छ नै त नभनौँ तर हामी काम गछौँ । 

यदि कालो धन प्रयोग भएको पाईए कारबाही चै कस्तो हुन्छ ? 

सम्बन्धित व्यक्ति, संस्था वा फर्मलाई अनुसन्धानको दायरामा ल्याउछौँ । उनीहरुले प्रमाण नष्ट नगरुन भन्ने अवस्था अनुसार हिरासतमा राख्न सकिन्छ । उनीहरुको चल्ती खाता एवं सम्पत्ति रोक्का राखिने छ । अदालतबाट दोषी प्रमाणित भए कानूनले सजाय गरेको सबै भन्दा ठूलो सजाय हुनेछ । फर्म वा संस्थाको इजाजत निलम्बन अथवा खारेजी हुने छ । संगठित अपराध निवारण ऐन, भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही अगाडि बढाउँछौँ । दोषीको राहदानी वा ट्राभल डकुमेन्ट रोक्का राख्छौँ । कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भिर्यता हेरि २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।