बिहीबार वित्तीय विबरण निकालेको रिडी हाइड्राे पावर कम्पनीले अघिल्लो आर्थिक वर्षको सबै कमाई शून्य बराबरको अवस्थामा झारेको देखाएको हो । जसका कारण कम्पनीका लगानीकर्ता निराश हुनु स्वभाविक हो । प्रतिसेयर आम्दानी पाँच पैसा भएको वित्तीय बिवरण आउँदा को पो उत्साहित हुन्छ ?
अघिल्लो आर्थिक वर्षमा एक करोड ८५ लाख छ हजार रुपैंया खुद नाफा कमाएको रिडीले गत आर्थिक वर्षमा जम्मा दुई लाख ५३ हजार हजार रुपैंया मात्र खुद नाफा कमाएको हो । हाइड्रोको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.६३ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा ३३ करोड रुपैंयाको पूँजीलाई रिडीले ४७ करोड २२ लाख ३० हजार रुपैंया पुर्याएको थियो । अहिले उसको जगेडा कोषमा तीन करोड ९५ लाख ६१ हजार रुपैंया सञ्चित छ । गत आर्थिक वर्षमा कम्पनीले हकप्रद निष्काशन गरेर पूँजी बढाएको थियो । पूँजी बढ्दा झण्डै शतप्रतिशतले कमाई घटे पछि लगानीकर्ताले कम्पनीबाट कुनै प्रतिफलको अपेक्षा गर्ने ठाउँ बाँकी रहेन । पाँच पैसा प्रतिसेयर आम्दानी र तीन करोडको जगेडा कोषले कुनै प्रतिफल दिने आधार पनि छैन ।
रिडीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटले यस्तो अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षमा चार करोड २७ लाख १२ हजार रुपैंयाको विद्युत बिक्री गरेको कम्पनीले यस पटक ७८ लाख ४० हजार रुपैंयाको मात्र विद्युत बिक्री गरेको छ ।
अन्य आम्दानी शीर्षकमा सात लाख ५४ हजार आम्दानी गरेको कम्पनीको ३३ लाख ३४ हजार रुपैंया प्रशासनिक खर्चमा सकिएको छ । आयोजना खर्चमा आठ लाख खर्चिएर २५ लाख ७४ हजार रुपैंयाको व्याज खर्च व्यहोरेको कम्पनीको १४ लाख आठ हजार ह्रासकट्टी भएको छ । बाँकी रहेको दुई लाख ५३ हजारमा कम्पनी अनि लगानीकर्ताले चित्त बुझाउनु परेको हो ।
मूल्य आम्दानी अनुपात कति ?
सेयर बजारका सबै लगानीकर्ताले कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात कति छ भनेर हेर्ने गर्छन । अब तपाईको कम्पनीको मूल्य आम्दानी अनुपात कति छ हिसाब गरौं ।
कम्पनीको वित्तीय विबरणमा प्रतिसेयर आम्दानी ०.०५ अर्थात पाँच पैसा उल्लेख गरिएको छ । हामीले कम्पनीको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गरेर अझै एक पटक यसको हिसाव निकालौं । दुई लाख ५३ हजार दुई सय ७७ रुपैंया २४ पैसा रहेको खुद नाफालाई कम्पनीको सेयर संख्या ४७ लाख २२ हजार तीन सय कित्ता सेयरले भाग गर्दा ०.०५३६ नतिजा आएको छ ।
बिहीबार बजारमा कारोबार भएको कम्पनीको प्रतिकित्ता सेयरमूल्य एक सय ८४ रुपैंया छ । यो सेयर मूल्यलाई माथि निकालिएको प्रतिसेयर आम्दानीले भाग गर्दा आउने नतिजा एक पटक हेर्नुहोस् । उल्लेखित व्यहोरा अनुसार हिसाव गर्दा कम्पनीको मूल्य आम्दानी अनुपात ३४३०.६४४ गुणाले बढी हुन आउँछ । कम्पनीले निकालेको वित्तीय विबरणमा मूल्य आम्दानी अनुपात १९४.६० मात्र देखाइएको छ ।
कम्पनीले भने अघिल्लो आर्थिक वर्षमा वार्षिक विबरण उल्लेख भएको र गत असार मसान्तको विबरणमा अन्तिम त्रैमासको मात्र उल्लेख भएको प्रतिकृया दिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ लाख ४२ हजार कमाई गरेको उल्लेख भए पनि चौथो त्रैमासको विबरणमा यस्तो भद्रगोल देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको नियमक नेपाल राष्ट्र बैंकले वित्तीय विबरणमा एकरुपता ल्याएर सुक्ष्म रुपमा विबरण हेर्ने गरेको छ। बीमा कम्पनीको हकमा पनि बीमा समितिले वित्तीय विबरण प्रत्यक्ष रुपमा हेर्ने गरेको छ । जलविद्युत, होटल लगायत नियमक नभएका कम्पनीहरुले भने मन लागे अनुसार वित्तीय बिरण प्रकाशित गर्ने गरेका कारण वास्तविक सूचनाबाट सर्वसाधारण बञ्चित भैरहेका छन् ।