कुलमानले नेतृत्व गरेपछि उकासियो विद्युत प्राधिकरण

Aug 17, 2017 merolagani

नवीन ढुंगाना । 

नेपाल विद्युत प्राधिकरणले बिहीबार आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सव मनायो । नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य हलमा आयोजित वार्षिकोत्सव समारोहमा प्राधिकरणका जनसाधन विभाग निर्देशक लोकेन्द्र कुमार थापा बोल्नका लागि पोडियममा आए । 

मुसु–मुसु हाँस्दै निर्देशक थापाले भने “विगत पाँच वर्षदेखि उत्कृष्ट काम गरेबापत कर्मचारीलाई दिईने पुरस्कार सार्वजनिक रुपमा दिन सकिएको थिएन, उन्नाईस घण्टासम्म लोडसेडिङ्ग गरेर कर्मचारीलाई कसरी उत्कृष्ठ पुरस्कार दिनु ! पुरस्कार दिईन्थ्यो तर गोप्य राखिन्थ्यो । अब मलाई सार्वजनिक रुपमा पुरस्कार घोषणा गर्न कुनै अप्ठ्यारो छैन किन कि देशमा अब लोडसेडिङ्ग छैन । कुलमान सरको व्यवस्थापनले हाम्रो नाक ठाडो भएको छ ।” निर्देशक थापाको वाक्याशं सकिने बितिक्कै खचाखच भरिएको एकेडेमीको हलमा गडगडाहट ताली बज्यो ।

कुलमानले विद्युत प्राधिकरणमा के गरे

बि.सं.२०७३ भाद्र ३१ गते कुलमान घिसिङले कार्यकारी निर्देशकको रुपमा विद्युत प्राधिकरण सम्हालेका थिए । लगत्तै तत्कालिन उर्जामन्त्री जनार्दन शर्मासंगको निरन्तर समन्वयमा उज्यालो नेपाल अभियान अर्न्तगत लोडसेडिङ्ग हटाउने अभियानमा कुलमान नेतृत्वको प्राधिकरण अग्रसर भयो । विद्युत चुहावट नियन्त्रणमा कडाईकासाथ लागेको प्राधिकरणले, निर्माणाधीन परियोजनाको कामलाई द्रूत गतिमा अघि बढाउने अभियान चलायो । भारतबाट आयात भएको बिजुली बितरण र जलाशाययुक्त विद्युत गृहको यथोचित सञ्चालनमा प्राधिकरण दिनरात सक्रिय भयो ।

फलत: कुलमानले नेतृत्व गरेको झण्डै डेढ महिनामै नतिजा देखियो लोडसेडिङ्ग मुक्त राजधानी काठमाडौँ शहर । काठमाडौँ उपत्यकालाई उज्यालो बनाएर सुरु भएको कुलमान नेतृत्वको नेपाल विद्युत प्राधिकरण त्यसपछि पछाडि पर्कनु परेको छैन । अहिले ३२ लाख ६० हजार ग्राहकका लागि नियमित विद्युत उपलब्ध गराउन प्राधिकरण खटिएको छ । देश लगभग लोडसेडिङ्ग मुक्त छ । आम उपभोक्ताका लागि २४ सै घण्टा बिजुली दिएको प्राधिकरणले औद्योगिक ग्राहकका लागि  बढी विद्युत खपत हुने समय (पिक अावर ) बाहेकका समयमा प्रशस्त विद्युत आपूर्ति गर्दै आएको छ ।

सञ्चालन उपलब्धि

आर्थिक वर्ष २०७३/७४ मा विद्युत प्राधिकरणको उत्पादन केन्द्रहरुबाट कुल २,३०५.१७ गिगावट आवर उर्जा उत्पादन भएको छ । यो गत आर्थिक वर्ष २०७२/७३ को भन्दा ८.०६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७२/७३ मा भारतबाट १,७७७.६८ गिगावट आवर विद्युत आयात गरेको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा बढाएर २,१७५.०४ गिगावट आवर पु-याएको छ । ढल्केवर–मुजफ्फरपुर लाईनका अतिरिक्त अन्य प्रशारण लाईनबाट समेत गरी औसत २५० मेघावट विद्युत भारतबाट आयात भएको छ ।

निजी क्षेत्रका आयोजनाहरुबाट आर्थिक वर्ष २०७३/७४ मा १,७७७.२४ गिगावट आवर उर्जा प्राधिकरणले प्राप्त गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५२.३९ प्रतिशतले बढी हो । आव २०७३/७४ मा खपत भई रहेको कुल विद्युत उर्जामा ३६.८४ प्रतिशत प्रधिकरणको उत्पादन, ३४.७६ प्रतिशत भारतबाट आयत गरिएको र २८.४० प्रतिशत निजी क्षेत्रको लगानीमा उत्पादित विद्युत हो । आव २०७३/७४ मा विद्युत चुहावट २५.८ बाट घटेर २२.९० मा सिमित रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको समग्र आम्दानी ४३.२१ प्रतिशतले बृद्धि

प्रधिकरण १५ वर्ष पछि सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष विद्युत बिक्री लगायतबाट रु.३५ अर्ब ७ करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले आव २०७३÷७४ मा आय ५० अर्ब २२ करोड ९४ लाख पुर्याएको छ । आर्थिक वर्ष २०७२/७३ मा खुद नोक्सानी रु ८ अर्ब ८९ करोड भएकोमा आर्थिक वर्ष २०७३/७४ मा ९७ करोड ८९ लाखमा झरेको छ ।

आयोजना निर्माणमा तिब्रता

खिम्ती–ढल्केवर २२० के.भी., हेटौँडा–कुलेखानी दोस्रो – स्युचाटार १३२ के.भी., भुलभुले –मस्र्यङ्दी १३२के.भी.प्रसारण लाइन र ग्रीड सबस्टेसन अपग्रेडिङ, चपली १३२/६६ के.भी. सबस्टेसन बिस्तार, मिर्चैया १३२ /३३ के.भी., रक्सौल–परवानीपुर १३२ के.भी. तथा कुसुम– हापुरे १३२ के.भी.प्रसारण लाईन लगायतका आयोजना आर्थिक वर्ष २०७३/७४ मा सम्पन्न भएको छ ।

३० मेघावट क्षमताको चमेलिया जलविद्युत परियोजनाको काम ९९.१९ प्रतिशतले सम्पन्न भएको छ । १४ मेघावटको कुलेखानी तेस्रोको ८० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै ६० मेघावटको माथिल्लो त्रिशूली ३ए को ६० प्रतिशत काम सम्पन्न भएको छ । प्राधिकरण कै साहायक कम्पनीहरुले निर्माण गरेका आयोजनाहरु मध्ये अपर तामाकोशी ४५६ मेघावट सन् २०१८ भित्र सञ्चालनमा आईसक्ने छ भने १४० मेघावटको जलाशययुक्त तनहुँ हाईड्रोको परियोजना, ३७ मेघावटको माथिल्लो त्रिशूली ३ बी र ४० मेघावटको राहुघाट आयोजना प्रक्रियगत ढंगले अगाडी बढेका छन ।

बिद्युत उत्पादनमा निजी क्षेत्रको सहभागिता बृद्धि

हाल निजी क्षेत्रबाट ४४१ मेघावट बराबरका ६० जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको छ । २९३३ मेघावट बराबरका १५१ परियोजना निर्माणधीन छन् । सबै परियोजनाको उत्पादन थपिदाँ देशमा उर्जा संकट अन्त्य भई विद्युत निर्यात गर्न पर्ने अवस्था आउनेछ ।

“माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए सार्वजनिक पद धारण गर्दिन” भन्ने तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई बिस्थापित गर्दै विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान घिसिङ र प्राधिकरणको जुझारु टिमको कार्य कुशलताले ११ महिनामै विद्युतिय उत्पादन, वितरण र प्रधिकरणको प्रगतिका शिराहरु उदाउन थालेका छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।