कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १२ करोड १५ लाखको (१: ६) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । जसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एभेरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले बुधबार हस्ताक्षर गरे ।
कम्पनीको ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी ८५ करोड ५ लाख पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ ।
एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षमा चार करोड ५५ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैंया ५२ पैसा कायम गरेको छ ।
यसअवधिमा कम्पनीले १० करोड १८ लाख ६३ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेर चार करोड ८१ लाख ७७ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ । एभरेष्टले १३ करोड ८५ लाख ९३ हजार रुपैंयाको ६ सय ६५ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।