'लाखौं लगानीकर्ताको पेटमा लात हान्ने केही मुठ्ठीभरका ब्रोकरहरुको आत्मघाती कदम'

Sep 26, 2017 merolagani

छोटेलाल रौनियार, लगानीकर्ता तथा बिश्लेषक
ब्रोकरहरुले २०७४ असोज ८ गते आईतबार माननीय अर्थ राज्यमन्त्रीलाई भेटेर दिएको सुझाव पत्रको पहिलो बुंदा पढ्दा नै हामी आम सर्वसाधारण लगानीकर्ताहरुलाई यस्तो अनुभुति भएको छ कि उनीहरु सरकारलाई उक्साएर आफ्नो कुत्सित उद्धेश्य पुरा गर्न लाखौं लगानीकर्ताको पेटमा लात हान्न चाहन्छन् ।

लगानीकर्ताहरुमाथि भए भरको करको भारी थोपरेर उनीहरु करोडौ लुट्न चाहन्छन् । उनीहरुको चाहना देखियो, सरकार र नियमनकारी निकायहरु यसका लागि उनीहरुको हतियार बनिदिउँन् । 

सेयर दलालहरुले कुन हैसियतले लगानीकर्तामाथि करको भारी थोपर्ने कुरा गरे ? ऋण धन गरेर सेयरमा लगानी गर्ने हामी । घाटा खाएर सेयर पाल्ने हामी । बैंकको थेग्न नसक्ने चर्को ब्याज तिर्ने हामी । किन्दा र बेच्दा दुबैमा ब्रोकरहरुलाई चर्को कमिशन तिर्ने हामी । नाफा भएको अबस्थामा पाँच प्रतिशत पूँजीगत लाभकर तिर्ने पनि हामी । हामी लगानीकर्ताको लगानीमा मोजमस्ती गरेर सेयर बजारमा चलखेल गरी करोडौं कमाउने उनीहरु ? अनि फेरि लगानीकर्तालाई उठ्नै नसक्ने गरी कर थप्न सरकारलाई उक्साउने उनीहरु ?

स्टक ब्रोकर एशोसियशनले राज्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रको एक नम्बर बुँदामा भनिएको रहेछ, कारोबार कर लगाउदा कारोबारको परिमाण बढ्न गई राज्यले कारोबार बापत कर निरन्तर रुपमा प्राप्त गर्दछ । बर्ष अन्तमा लगानीकर्ताले आफ्नो कारोबारको बिबरण बुझाई मूनाफा गरेको अबस्थामा मुनाफा कर समेत तिर्ने ब्यवस्थाले न्यायोचित पद्दतीको बिकास हुन्छ ।

यी मुठ्ठीभरका ब्रोकरहरुलाई कसले दियो लगानीकर्ताको टाउकोमा यसरी गिर खेल्ने अधिकार ? हामीले किन मुठ्ठीभरका ब्रोकर भनेका हौ भने लगानीकर्ताको बिरुद्धमा यसरी षडयन्त्रमा लाग्नेहरुमा जम्माजम्मी ८, १० बाहेक अरु कोही पनि छैनन् । धेरै ब्रोकरहरु लगानीकर्ताको हित बिरोधी यस्तो कुरामा सहमत छैनन् । कतिपय ब्रोकरहरुले लगानीकर्ताकै हितमा काम गरिरहेका छन् । हामी ५० जना ब्रोकर सबैलाई उस्तै हो भनेर दोष दिन चााहदैनौ । केहीको गलत कदमबाट धेरै ब्रोकरहरु दुखी भएका पाएका छौ ।

ब्रोकरहरुको युनियनबाजी, सिण्डिकेट, कार्टेलिड. र दादागिरी

सेयर बजारमा यी मुठ्ठीभरका ब्रोकरहरुले हामी लगानीकर्ताको बिरुद्धमा युनियनबाजी, सिण्डिकेट, काटेलिड. र दादागिरी गरिरहेका छन् । लगानीकर्ताले सेयर बेचेर भुक्तानी नलिएको पैसामा उनीहरु रजाइँ गरिरहेका मात्रै छैनन् क्लियरिंग बैंकहरुबाट लिईरहेको पाँच, पाँच करोडको सुबिधाले पनि आफन्त र नजिकका मान्छेहरुको नाममा सेयर किनेर फाईदा लुटिरहेका छन् । उनीहरु कमिशन मात्रै हैन, बजारबाट नाजायज फाईदा लिईरहेका छन् ।

कतिपय सेयर दलालको कार्यालयमा सर्बसाधारण लगानीकर्ताले बजार धेरै घटेको बेला सेयर किन्न पाउँदेनन् भने बजार धेरै बढेको बेला बेच्न पाउँदैनन् । ब्रोकरहरुले आफ्नो काम गरेरै भ्याउँदैनन् कसरी हाम्रो सेयर किनुन् । म ठोकुवा गरेर भन्छु, यी मुठ्ठीभरका १०, १२ वटा ब्रोकरहरुले गर्ने हरेक पचास वटा कारोबारमा अधिकांश कारोबार त ब्रोकरकै हुने गरेको छ । यो कुरा सबै नियमनकारी निकायलाई थाहा छ तर थाहा नपाए जस्तो गरिरहेका छन् । यो कुरा हामी सबै लगानीकर्तालाई छर्लड. भएको र भोगिराखेको पीडा हो ।

यस्ता ब्रोकरहरुको लाईसेन्स त असार १५ मा उनीहरुले भ्याटको आतंक मच्याएर सेयर बजार बन्द गर्दा नै खारेज हुनुपर्दथ्यो । सेयर बजारलाई केही ब्रोकरले कब्जामा राखेर बजार बन्द गर्ने कहीँ नभएको अपराध उनीहरुले गरेका थिए । यदि नियमनकारी निकायहरु बलिया हुन्थे भने यस्ता ब्रोकरहरुको लाईसेन्स त्यही बेला नै खारेज भईसक्थ्यो । तर के गर्नु नियमनकारी निकायहरु नै यी मुठ्ठीभरका ब्रोकरहरुको प्रभावमा पर्ने अबस्था भएकाले यहाँ सेयर बजारको बेहाल भएको हो । नियमनकारी निकायहरुले यी ब्रोकरहरुलाई चेतावनी मात्रै दिएर छाडे, त्यसको दुष्परिणाम आज भोग्दैछौ ।

 पूँजी हामीले लगाउने, मालिक चाँही ब्रोकरहरु हुने ? 

हामी लगानीकर्ता सेयर किन्दा पनि कमिशन तिरेकै छौ, बेच्दा पनि तिरेकै छौ । सेयर दलालले आफ्नै कार्यालयबाट म्याचिड. गराएर कारोबार गर्छ, त्यसमा पनि दोहोरो कमिशन तिरेकै छौ । पूँजीगत लाभकर पनि हामीले नै तिर्छौ, सीडीएसलाई दिने स्वामित्व हस्तान्तरण शुल्क पनि हामीले नै तिर्छौ । सेबान, नेप्सेलाई तिर्नुपर्ने कमिशन पनि किन्दा बेच्दा हामीले तिर्छौ । क्लोज आउटमा पर्दा पनि हामीबाटै पैसा असुलिन्छ । सबै कुरा हामीले तिर्ने अनि फेरि त्यसमा कारोबार कर थप्ने ? हाम्रो लगानीमा उनीहरुले रजाइँ गर्ने ? पूँजी हामीले लगाउने, मालिक चाँही ब्रोकरहरु हुने ?

हामीले दुखले आर्जन गरेर जोखिम मोलेको पैसा, ज्येष्ठ नागरिकहरुले पेन्सन, भत्ता वापत पाउने पैसा, गृहिणीहरुले बचाएर ल्याएको पैसा, बिद्यार्थीहरुले खाजा नखाएर बचाएर लगानी गरेको पैसा, जागिर खानेले महिनाको पारिश्रमिकबाट बचाएर लगानी गरेको पैसा, घरजग्गा धितो राखेर ऋण लिएर लगानी गरेको पैसामा उनीहरुको रजाइँ किन सहने ?

अहिले फेरि एकपटक यो सावित भयो कि नेपालको २० खर्बको सेयर बजार ५० जना ब्रोकर हैन, केही मुठ्ठीभर ब्रोकरहरुको हातमा छ । उनीहरुले बजारलाई आफ्नो स्वार्थ अनुसार चलाईरहेका छन् । केही मुट्ठीभर ब्रोकरहरु आफुसँग पैैसा रहेको धक्कु लाउँदै शक्ति केन्द्रहरुलाई प्रभावमा पारिरहेका छन् । यो नै अहिलेको दुभाग्र्य हो र पूँजी बजार बिकासका लागि अभिशाप र बाधक हो ।

यी ब्रोकरहरु आफ्नो स्वार्थ मात्रै बोलिरहेका छन् । यदि त्यसो थिएन भने उनीहरुले ब्रोकर लाईसेन्स थप्ने, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने, चर्को कमिशन दर घटाउने कुरा यिनीहरुको कथित माग पत्रमा किन अटेन ? यसैबाट यो पुष्टि हुन्छ कि उनीहरुले पूँजी बजारको सुधार र बिस्तार चाहेका हैनन् । पूँजी बजारका लाखौं लगानीकर्ताको मुख्य माग नै यही हो र नियमनकारी निकायहरु पनि यी कुराहरु लागु गर्न चाहन्छौ भन्छन् तर कहाँ अडकिएको छ ? यी कुराहरुलाई छायाँमा पार्न ब्रोकरहरु अनेक बहानाबाजी, जालझेल, नियमनकारी निकायका पदाधिकारीहरुलाई प्रलोभनमा पार्ने जस्ता काम गरिरहेका छन् । खबरदार, सरकार र नियमनकारी निकायहरु यी मुठ्ठीभरका ब्रोकरहरुको प्रभावमा नपर्नुहोस् । तपाइँहरु हामी लगानीकर्ताको अभिभावक हो, तपाइँहरुले अहिलेसम्म हामी लगानीकर्ताकै हितमा काम गर्दै आउनु भएको छ । हामी आभारी र्छौ र आगामी दिनमा पनि आभारी हुने कदमहरु चाल्नुहोस् । हामीलाई यसमा पूर्ण विस्वास पनि छ ।

चर्को कमिशन दर लगाएर लगानीकर्ताको ढाड सेक्ने काम तत्काल रोक्नुपर्छ 

अब हामी दृढताका साथ अगाडि बढ्छौ । अहिलेको ०.६० प्रतिशत कमिशन दर दक्षिण एशियाको सर्बाधिक महंगो हो र बिश्वको महंगो दर हो । हाम्रो जस्तो पूँजी बजार बिकासको क्रममा अगाडि बढिरहेको देशमा यसरी चर्को कमिशन दर लगाएर लगानीकर्ताको ढाड सेक्ने काम तत्काल रोक्नुपर्छ । यो पूँजी बजार बिकासको बाधक हो ।

हामी एनआरएन, बिदेशी र विश्वभरि छरिएर बसेका नेपाली दाजुभाईहरुलाई सेयर बजारमा ल्याउने कुरा गरिरहेका छौ तर यहाँको कमिशन दर सुन्दा नै उनीहरु जिब्रो टोक्छन् र लगानी गर्नबाट हच्किन्छन् । ब्रोकरहरुको चलखेल थाहा पाएपछि त कसैले पनि लगानी गर्ने मनसाय नै नदेखाउने अबस्था छ । विश्वको महंगो कमिशन दर राखेर हामी कसरी विश्वभरिका नेपाली र लगानीकर्ताहरुलाई सेयर बजारमा आकर्षित गर्न सक्छौ ? अब कमिशन दर बढीमा ०.२५ प्रतिशत भित्रै झार्ने पर्छ । यो तत्काल गर्नुपर्ने काम हो । पहिले नै भईसक्नु पर्दथ्यो, अब नियमनकारी निकायहरुले ढिला गर्नु हुन्न ।

नयाँ ब्रोकर थप्नैपर्छ र बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनैपर्छ

नेपालका सेयर लगानीकर्ताहरुको लगानीलाई सुरक्षा गर्न अब कम्तिमा १०० वटा नयाँ ब्रोकर थप्नैपर्छ र बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनैपर्छ । ब्रोकरहरु थपिए र बाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाए भने अहिले भन्दा निकै सस्तो कमिशन दरमा उनीहरुले काम गर्छन, लगानीकर्ताले गुणस्तरीय सेवा पाउँछन् र प्रतिस्पर्धाले गर्दा बजारमा स्वच्छता र पारदर्शिता बढ्छ । बाणिज्य बैंक र अरु संस्थाहरुले ब्रोकर लाईसेन्स पाए भने खाडी र विश्वभरि रहेका लगानीकर्ता मात्रै हैन, नेपालको कुना काप्चामा रहेकाले पनि सहज रुपमा सेयर कारोबार गर्न सक्छन् । अनलाईन कारोबार प्रणाली लागु गर्न सहज हुन्छ । पूर्ण अनलाईन कारोबार प्रणाली लागु भयो भने लगानीकर्ताले किनेको सेयर उनीहरुको हितग्राही खातामा जान्छ, सेयर बेचेमा पैसा बैंक खातामा जान्छ । त्यसपछि अहिले जसरी ब्रोकरहरुले कृत्रिम ढंगले बजार तलमाथि गर्ने खेलै खत्तम हुन्छ । लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको ठानी ढुक्क हुन्छन् ।

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दियो भने अर्को पनि फाईदा हामी लगानीकर्तालाई हुन्छ, त्यो भनेको बाणिज्य बैंकको सहायक कम्पनीले गरेको आम्दानी धेरै जसो बाणिज्य बैंककै नाफामा जोडिन्छ । त्यसबाट हामी लगानीकर्ताहरुले नै लाभांश पाउन सक्छौ । अहिले त यी मुठ्ठीभरका ब्रोकरहरुले कमाएको पैसामा आफैले एकल मोजमस्ती गरिरहेका छन् । त्यसैगरी बाणिज्य बैंकको हरेक स्थानीय तहमा रहेको शाखाबाट लगानीकर्ताले सेयर कारोबार गरेको रकम लेनदेन गर्न सक्छन् । गाउँ गाउँमा सेयर बजारको पहुँच पुग्छ ।
नियमनकारी निकायहरुले अब यी कामहरुमा ढिलाई वा बहानाबाजी गर्नु हुँदैन । बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने बाटो राष्ट्र बैंकले तत्काल खोल्नुपर्छ । अरु संस्थाहरुले ब्रोकर लाईसेन्स लिने गरी धितोपत्र बोर्डले आबेदन खोलेर तत्काल ब्रोकर थप्ने कार्य गर्नुपर्छ ।

 नेप्सेमा पूँजी बजार बिकासमा सहयोग पुर्याउने ब्यक्तिको आबश्यक छ

अहिले पनि केही ब्रोकरहरु नेप्सेलाई हातमा लिने प्रयास गरिरहेका छन् र धितोपत्र बोर्डलाई काम गर्न नदिन अनेक टिकडम अपनाईरहेका छन् । बिगतमा पनि पटक पटक यो देखिएकै हो । अहिले पनि नेप्सेको महाप्रबन्धक नियुक्तिमा नाजायज चलखेल गरेर आफु अनुकुलको ब्यक्ति ल्याउन करोडौको मोलतोल गरिरहेका छन् भन्ने सूचना आएको छ । यदि उनीहरुको योजनामा नेप्सेको महाप्रबन्धक नियुुक्ति गरियो भने नेपालको पूँजी बजारको दुर्भाग्य हुनेछ । नेप्सेमा कसैको प्रभावमा नपर्ने राम्रो र स्वच्छ भएको, सक्षम, ईमानदार, पूँजी बजार बुझेको ब्यक्ति महाप्रबन्धक बनेर आओस भन्ने हामी चाहन्छौ । यसमा धितोपत्र बोर्डसँग टकरार हैन, हातेमालो गरी पूँजी बजार बिकासमा सहयोग पुर्याउने ब्यक्तिको अति आबश्यक छ ।

नेपालको पूँजी बजारलाई सबै लगानीकर्ताको हित सुरक्षा हुने गरी देशको अर्थतन्त्रको मेरुदण्ड र दुनियाँलाई देखाउने बिकासको प्रतिबिम्ब बनाउने हो भने हिम्मतका साथ निर्णय हुनैपर्छ । केही मुठठीभरका ब्रोकरहरुको गाईडमा हैन, आम लगानीकर्ताहरुको हितमा कठोर कदम चाल्नै पर्ने अबस्था आएको छ ।

(लेखक ईन्भेष्टर्स फोरमका उपाध्यक्ष पनि हुनुहुन्छ )

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।