हल्लै हल्लाको हाउगुजीले बजार घटाएर सेयर उठाउने खेल !

Oct 08, 2017 merolagani

वाम एकता भ्रम, नेप्सेको प्रमुख नियुक्ती अर्को बाहाना
सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको कमाईबाट धमाधम लाभांश घोषणा गरिहँदा बजारमा चलेका अनेका हल्लाले सेयरबजारमा उच्च गिरावट आएको छ । आइतबार सेयरबजार ३२.६४ अंकले घटेर १५१०.०१ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा अघिल्लो दिनको तुलनामा भने कारोबार रकममा सुधार आएको छ ।

आइतबार बजार खुल्नासाथ ओरालो लागेको नेप्से ५० अंक बढीले घटेर १४९२ अंकसम्म झरेको थियो । तर कारोबार समयको अन्तिम एकघण्टाको अवधिमा सुधार हुँदै नेप्सेको गिरावट ३२ अंकमा झरको हो । यसदिन नेप्सेमा १५२ कम्पनीको ४१ करोड ४९ लाख बराबरको कारोबार भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा १३ करोड बढी हो । गत विहीबार २८ करोड बढीको कारोबार भएको थियो । समग्र बजार पूँजीकरण पनि घटेर १७ खर्ब ५२ अर्ब कायम भएको छ । 

कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो । यसदिन बीमा र वाणिज्य बैंक समूहमा उच्च गिरावट देखिएको छ । वीमा समूह १९३ अंकले ओरालो लागेको छ भने वाणिज्य बैंक समूह २८ अंकले झरेको छ ।

आइतबारको बजारमा १५२ कम्पनीको कारोबार भएकोमा ११ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । यसदिन सबैभन्दा धेरै महुली लघुवित्तको सेयरमूल्य तीन प्रतिशत बढेको छ भने आरएमडिसी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ । आइतबारको कारोबारमा अधिकांस लघुवित्तको सेयरमूल्य ओरालो लागेको छ ।

 

के भन्छन लगानीकर्ता तथा विश्लेषकहरु ? 

प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि प्रमुख कम्युनिष्ट पार्टीहरुले गठबन्धन बनाएपछि वाम एकताको बिषयलाई बजार घटाउने हतियारको रुपमा प्रयोग गरिएको छ । इन्भेष्र्टस फोरमका उपाध्यक्ष एंवम लगानीकर्ता छोटेलाल रौनियारले 'वाम एकताले बजार घटेको भन्नु भ्रम हो, यो सोझा लगानीकर्तालाई अल्मलाएर सेयर उठाउने दाउ हो । जसले हतारिएर सेयर बेच्छ उसले पछुताउनुपर्छ, यसैले भ्रम र हल्लाको पछि नकुदौ','उनले भने ।

सेयरबजारमा सूचीकृत कम्पनीहरुले गत वर्षकाे लाभांश धमाधम घोषणा गर्दा र दर्जनौं कम्पनीहरुले बार्षिक साधारणसभा गरी सेयरधनीहरुलाई लाभांश वितरण गर्दा समेत लगानीकर्ताको आत्मबिश्वास बढ्न सकेको छैन।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था, प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको व्यापक तयारीका लागि राजनैतिक वातावरण समेत सुध्रिदै गएको अवस्थामा सेयर बजारमा आएको गिरावटलाई लिएर लगानीकर्ता अलमलमा परेको देखिएको छ ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी श्रिजेश घिमिरेको तर्क छ, 'विगत बर्षहरुमा जस्तो लाभांश घोषणाको समयमा बजारको ट्रेन्ड केही उल्टो देखियो । तर दशँैपछिको कारोबारको अवस्था हेर्दा निरन्तर कारोबार रकम बढ्दै गएको छ । बजार घटेपनि कारोबारमा सुधार आएकाले आतिनु पर्ने अवस्था होईन, बजारमा चल्ने हल्लालाई हाउगुजी बनाएर निर्णय गर्दा नोक्सान पनि हुनसक्छ । '

बैंकिङ प्रणालीमा तरलता बढे पनि ब्याजदर घट्ने संकेत नदेखिदा लगानीकर्तामा उत्साह थपिएको छैन। बैंकिङ प्रणालीमा तरलता बढेको भन्दै नेपाल राष्ट्र बैंकले आज मात्र ५ अर्बको तरलताको प्रशोचन गरेको छ ।

लगानीकर्ता एंवम विश्लेषक रामु खनालका अनुसार सेयरबारको प्रमुख गिरावटको कारण बदलिएको राजनीतिक समिकरणलाई लिन सकिन्छ । कम्युनिष्ट घटकहरु नेतृत्वमा आउदा बजार प्रभावित हुने लगानीकर्ताको नकारात्मक धारणा नै अहिलेको बजार घट्नुको कारण हो, यो क्षणिक मात्र हो र लगानीकर्ताहरु आत्तिनु पर्ने कुनै अवस्था छैन बजार छिट्टै नै आफ्नो लयमा फर्किने छ ।

स्टक ब्रोकर नं ५७ आर्यताराको प्रबन्ध निर्देशक गुणनिधी भुषालको बुझाईमा पहिलो त्रैमासको अन्त्य अर्थात असोज मसान्तको असर सेयर बजारमा देखिएको हो । 'बजारका बाठा खेलाडिहरुले चलाएका अनेका हल्लाको पछि कुद्दा नयाँ तथा सामान्य लगानकर्ताहरुले सेयर बिक्री गर्न हतार गरेको देखिन्छ । अर्कातर्फ बैंकको ब्याज तिर्नका लागि कतिपय लगानीकर्ताले बजार बाटै रकम जोहो गर्न लाग्दा समेत बजारमा नकारात्मक प्रभाव देखिएको हो । बजार यसरी उच्च अंकले घट्नु पर्ने खासै ठोस कारण छैन । '

अर्कातर्फ यतिबेला थुप्रै कम्पनीहरुको हकप्रद खुलेकोकाले पनि दोस्रो बजारमा किनबेच कम देखिन्छ । यतिबेला केही कम्पनीहरुले सेयर लिलामी खुलेको छ भने सर्पोट माइक्रो फाइनान्सको आईपिओ समेत खुलेको छ । त्यस्तै यसै साता सिद्धार्थ क्यापिटलले नयाँ म्युचुल फण्ड पनि जारी गर्देछ । लगानीकर्तालाई प्राथमिक बजारले तानेकाले पनि दोस्रोबजारमा सेयरको माग कम भएको आँकलन गरिएको छ ।

बजारमा तिब्र गिरावट आउनुको ठोस कारण यहि नै हो भनेर यकिन गर्न नसकिएपनि हल्लै हल्ला फैल्याएर मूल्य घटाएर सेयर उठाउने खेल खेलिएको समेत लगानीकर्ताको बुझाई छ । नेप्सेको प्रमुख कार्यकारी छनौटको बिषयलाई लिएर फैलाइएका अफवा र खबरहरुले समेत लगानीकर्ताको मनोबल कमोजर भएको देखिन्छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।