दसैंपछि निरन्तर घट्दो क्रममा रहेको बजार तिहार नजिकिदै गर्दा भने निरन्तर उकालो लाग्दै गएको छ । असोज मसान्तको चाप सकिएकाले पनि बजारमा सेयरको माग बढ्न थालेको ब्रोकरहरुको भनाई छ ।
असोज महिनामा पहिलो त्रैमासको क्लोजिङ भएकाले पनि सेयरको माग कम थियो अब क्लोजिङ पनि सकिन लागेकाले सेयरको माग बढ्न थाल्दा बजारले सकारात्मक दिशा लिएको हो ।
ब्रोकरहरु मार्फत मार्जिन ल्याण्डिङको सेवा उपलब्ध गराउने धितोपत्र बोर्डको तयारीलाई पनि बजारले सकारात्मक रुपमा लिएको छ । यस्तै बैंकहरुले सेयरकर्जाको ब्याजदर घटाउने अपेक्षा लगानीकर्ताको छ । बैंक तथा वित्तीय संस्थाहरुको तरलताको अवस्था सहज रहेको छ । यी सबै कारणले पनि बजारमा उत्साह देखिएको हो ।
साथै सरकारले मंसिरमा प्रदेश र केन्द्रको चुनाव गर्ने तयारी गरिरहेको छ । चुनाव सम्पन्न भएपछि मुलुकले राजनीतिक निकास पाउने अपेक्षाले पनि लगानीकर्ता बजारप्रति आशावादी बनेको देखिन्छ ।
सोमबार नेप्से परिसुचक ३.०७ प्रतिशतले उकालो लागेको छ । अघिल्लो दिनको नेप्से सूचक ४६.६२ अंकले उकालो लागेर १५६४.९० अंकमा पुगेको छ । १ सय ६३ कम्पनीको कारोबार भएको बजारमा १४ लाख ५६ हजार कित्ता सेयर ६० करोड ५० लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । कारोबार रकम आइतबारको तुलनामा ९ करोड बढी हो ।
यसदिन उत्पादन बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । बीमा समूहको सूचक सबैभन्दा बढी २६४ अंकले उकालो लागेको छ । वाणिज्य बैंक ४८, विकास बैंक ५७,,जलविद्युत ५२, वित्त ९, अन्य शुन्य दशमलव २८ अंकले बढेको छ ।
सोमबार बैंक अफ काठमाडौको सबैभन्दा बढी १० करोड ८५ लाख बढीको कारोबार भयो । कर्णाली डेभलपमेन्ट बैंक, वेस्र्ट फाइनान्स, एनबि इन्स्योरेन्सको सेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै २ प्रतिशत बढीले ओरालो लागेको छ ।
बजारले विस्तारै सकरात्मक गति लिएपछि लगानीकर्ताको मनोबल केही बलियो बन्दा पनि बजारमा त्यसको सकरात्मक असर परेको हो । सोमबारसमग्र बजार पूँजीकरण १८ खर्ब १६ अर्ब कायम भएको छ । तीन प्रतिशतले बजार उकालो लाग्दा एकैदिन लगानीकर्ताको सम्पत्ति ५४ अर्बले बढेको छ ।
................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................