बिहीबार बित्तीय बिवरण निकाले सेञ्चुरी बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफामा सामान्य बढोत्तरी गरेको छ । उसले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड ५७ लाख ७५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७ करोड ४२ लाख ७४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
सेञ्चुरीको यो कमाई निर्धन उत्थान लघुवित्तकोभन्दा थोरै हो । पूँजीका आधारमा दुई संस्थाको कमाई दाँज्ने हो भने आकाश पातालको फरक पर्न जान्छ । निर्धन उत्थानले असोज मसान्तमा १२ करोड ५५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
सेञ्चुरीले प्रतिकुल अवस्थामा कमाईको आकार बढाउन सकेको हो । निक्षेप तथा कर्जा परिचालनको आकार धेरै बढाएपछि उसको व्याज खर्च बढ्दा पनि खुद व्याज आम्दानीको वृद्धि रोकिएको छैन । प्रोभिजनको आकार, कर्मचारी खर्च लगायतका शिर्षकको आकार बढ्दा पनि बैंकले कमाई बढाउन सक्नुलाई शुभ संकेत मान्न सकिन्छ । तर व्यवशाय बिस्तारमा आक्रामक बन्दा बैंकको निष्कृय कर्जाको आकार बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ०.३९ प्रतिशत रहेको निष्कृयकर्जा अनुपात अहिले १.७० प्रतिशतमा उक्लिएको छ ।
बैंकको चुक्ता पूँजी समीक्षा अवधिमा २ अर्ब ८४ करोड रुपैयाँबाट ५ अर्ब ४० करोड पुगेको छ । पूँजी वृद्धिको आधारमा बैंकले गरेको प्रगतिबाट उत्साहित हुनुपर्ने अवस्था देखिन्न । उसको प्रतिसेयर आम्दानीमा आएको संकुचनले यो कुरालाई पुष्टि गर्छ । गत आर्थिक वर्षको यसै अवधिमा १० रुपैयाँ ४५ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ७ रुपैयाँ ७५ पैसामा झरेको छ ।
बैंकको जगेडा कोषमा १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ४० पैसा तथा मूल्य आम्दानी अनुपात २९.१७ गुणाले बढी छ ।
लघुवित्तकोभन्दा थोरै कमाउने अरु वाणिज्य बैंक कुन् कुन् हुन् ?
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्धन उत्थानकोभन्दा थोरै कमाई गर्ने वाणिज्य बैंकहरुमा मेगा, सिभिल, जनता, कुमारी लगायत रहेका छन् । अपेक्षित रुपमा व्यवशाय गर्न नसक्दा बैंकहरुको यस्तो हालत देखिएको हो । अहिले भने सबै बैंकहरु अन्तर बैंक व्याजदर, निक्षेपको व्याजदर बढोत्तरी लगायत कारणले समस्यामा परेका हुन । तर त्यसको असर लघुवित्तमा झन् धेरै पर्ने भए पनि निर्धन उत्थानले उल्लेखित वाणिज्य बैंकहरुलाई गतिलो पाठ सिकाएको छ ।