कुल ७५० मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्दुत प्राधिकरणको २५ र थ्री गर्जेजको ७५ प्रतितशत लगानीमा अगाडी बढाउन जेभिए सम्झौता भएको हो । थ्री गर्जेजका लगानी विभाग निर्देशक याओ फिक्योङ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार थ्री गर्जेजको ७५ प्रतिशतमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलार्इ दिइने बताइएको छ भने थ्री गर्जेजले आफ्नो सेयरबाट १४ प्रतिशत सेयर नेपाली लगानीकर्तालाई दिनसक्ने उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरण र थ्री गर्जेजको उक्त सम्झौता अब लगानी बोर्डले अनुमोदन गर्न पर्नेछ । बोर्डको अनुमति पछि वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट लि. नामको संयुक्त लगानीको कम्पनी दर्ता हुने अधिकारीले जानकाी दिए ।
विसं २०६८ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ ।
आयोजनाका कारण डोटी, बैतडी, बझाङ र डडेलधुरा प्रभावित हुने देखिएको छ । आयोजना बन्ला भन्दै लामो समयदेखि प्रतिक्षामा रहेका ती जिल्लाका प्रभावित जनताले सामान्य विकास निर्माणको कामसमेत गर्न पाएका छैनन् ।
आयोजनाको लागत करिब एक खर्ब ६० अर्ब हुने बताइएको छ । सम्झौता पछि प्राधिकरण र चिनियाँ कम्पनीबीच संयुक्त कम्पनी स्थापना गर्ने र त्यसमा सञ्चालक समिति समेत गठन हुनेछ ।
सम्झौताअनुसार उक्त कम्पनीमा चिनियाँ पक्षका तीनजना, प्राधिकरणका एकजना र दुवै पक्षले मिलेर मनोनयन गरेको एकजना गरी पाँचजनाको सञ्चालक समिति रहने व्यवस्था गरिएको छ ।
प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुट्न नसकेमा चिनियाँ आयात निर्यात बैंकबाट सहुलियतमा ऋण लिन समेत सकिने छ । तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले चिनियाँ थ्री गर्जेजसँग २०६८ फागुन १७ मा समझदारी भएको थियो ।