विदेशमा रहेका नेपालीलाई ५० करोडको बचतपत्रमा लगानीको अवसर,कति पाइएला ब्याज ?

Nov 21, 2017 merolagani

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँको ५ बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर १० गतेदेखि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६ ६ महिनामा बार्षिक दश प्रतिशतका दरले व्याज भुक्तान गर्ने बताएको छ । बचतपत्रको अवधि पाँच बर्षको रहेको छ ।

बचतपत्र खरिदका लागि मंसिर १० गतेदेखि २९ गतेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने पुष ५ गते हुनेछ ।

उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ ।

यो बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ ।

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।