अलिकति बजार बढेको अनुभूति हुनासाथ बिक्री चाप धेरै आउने प्रवृत्तीका कारण पछिल्ला दिनमा लगानीकर्ता सशंकित हुन थालेका छन् । बुधबार पनि बजार परिसूचक ८.०२ अंकले उकालो लागेको छ । तर कारोबार रकममा आएको गिरावटले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको भान हुन्छ । केही दिन अघि मात्र झण्डै एक अर्ब रुपैंयासम्मको कारोबार हुँदै आएको बजारमा बुधबार ३४ करोड ८२ लाख रुपैंयाको मात्र सेयर किनबेच भएको छ । मंगलबार ३५ करोड ८ लाख रुपैंयाको सेयर किनबेच भएको थियो ।
बजारमा आएको सुधारसँगै बजार पूँजीकरणमा पनि झण्डै ९ अर्ब रुपैंयाको टेवा पुगेको छ । मंगलबार १७ खर्ब ११ अर्ब रुपैंयाको बजार पूँजीकरण भएकोमा बुधबार १७ खर्ब २० अर्ब रुपैंयाको पूँजीकरण भएको छ ।
बजार सुधार भए पनि वित्त र अन्य समूहमा गिरावट आएको छ । व्यापार समूहकाृ सूचक स्थिर रहेको छ । बीमा सूचकमा सबैभन्दा धेरै सुधार देखिएको हो ।
बजार परिसूचक बुधबारको सुधारसँगै १४८०.२६ अंकमा बन्द भएको छ । बुधबार विकास बैंक, बीमा कम्पनी, जलविद्युत कम्पनी लगायतका मिश्रित कम्पनीका सेयरमा धेरै कारोबार चाप देखिएको छ ।
धेरै सेयर लिएकाहरुले छाटो समयमा चक्र बनाएर नाफा सुरक्षित गर्ने क्रमको पुनरावृत्ति बजारमा देखिएको छ । जसका कारण केही दिन सुस्त गतिमा झरेको बजार त्यस्ता सेयर हुनेले सेयर बेच्न थाले लगत्तै तीब्र गतिमा तल झर्ने गरेको छ । विशेष गरी बीमा तथा लघुवित्त कम्पनीहरुमा छाटो समयमा तीब्र उछाल देखिँदा साना लगानीकर्ता समस्यामा पर्ने गरेका छन् ।
बुधबार १५९ कम्पनीका ९ लाख ३१ हजार ५३२ कित्ता सेयरहरु ४ हजार २४९ पटक किनबेच भएका छन् । यस क्रममा ग्रीन डेभलपमेण्ट बैंकको ४ सय प्रतिशत हकप्रदका पछि उचालिएर लगानीकर्ता दौडिँदा झण्डै १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसै गरी १८० प्रतिशत बढी हकप्रद निष्काशनको प्रकृया अघि बढाएको प्रोगेसिभ फाइनान्सको पनि अधिक मात्रामा सेयर मूल्य बढेको छ । धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुमा साना तथा मझौला कम्पनीहरु परेका छन् ।
सिर्जना फाइनान्स तथा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य अधिक मात्रामा घटेका छन् । हिमालयनको लाभांस प्रस्तावको नकरात्मक असर बजारमा देखिएको हो । जलविद्युत, वित्त तथा विकास बैंकहरुको सेयर मूल्य धेरै घटेका छन् ।
आसन्न निर्वाचनका दौरान बजार बढ्ने आशमा अधिकांस लगानीकर्ता रहँदै गर्दा देखिएको यस्तो दृष्यले बजार अब के होला भन्ने चासो लगानीकर्तामा छ । चुनावी सरगर्मी तीब्र बन्दै गर्दा देखिएको नगदको तरलताले अब बजारमा कस्तो असर पार्ला भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।