९ अर्ब रुपियाँ निकासा पाएको गृहमन्त्रालयले मतपेटिका ढुवानी र सुरक्षाका लागि रकम अपर्याप्त हुनसक्ने भन्दै थप बजेट माग्ने तयारी गरेको छ।
कतिपय विज्ञहरुले चाहिँ चुनावी खर्च निकै महंगिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
अपुग
गृह मन्त्रालयले प्राप्त गरेको ९ अर्ब रुपियाँ आफू अन्तर्गतका सुरक्षा निकायहरुलाई पठाइसकिएको मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले बताए।
नेपाल प्रहरीलाई झन्डै ३ अर्ब रुपियाँ, म्यादी प्रहरीलाई ५ अर्ब रुपियाँ भन्दा केही बढी, सशस्त्र प्रहरीलाई सवा १ अर्ब रुपियाँ तथा अनुसन्धान अधिकारीहरुलाई ४ करोड उपलब्ध गराइएको बताइएको छ। बाँकी रकम मतपत्रको ढुवानी र प्रशासनिक काममा खर्च भएको अधिकारीहरु बताउँछन्।
यद्यपी निर्वाचन सम्पन्न गर्नका लागि उक्त बजेट पर्याप्त नहुने भन्दै थप रकम माग गर्न लागिएको गृह प्रवक्ता दुवाडीले बताए।
उनले भने, "यति रकमले पुग्दैन। जिल्ला जिल्लाबाट यति मतपत्र ढुवानीको लागि बजेट पुग्दैन भनिरहेका छन। कति रकम अपुग हुन्छ भनेर हामी हिसाब लिइरहेका छौं। सबै रकम जोडेर फेरि अर्थ मन्त्रालयलाई पठाउछौं।"
खर्च
नेपाल प्रहरीका अनुसार ९८ हजार भन्दा बढी म्यादी प्रहरीका लागि सवा ५ अर्ब रुपियाँ भन्दा बढी बजेट खर्च हुनेछ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, "सबैभन्दा धेरै खर्च म्यादी प्रहरीका लागि हुन्छ अन्य खर्च भनेको चुनावमा खटिने प्रहरीले पाउने भत्ता, गस्ती गर्ने बेलामा पाउने इन्धन खर्चहरु छन्।"
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि हालसम्म झन्डै २० अर्ब रुपियाँ निकासा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल भन्छन्, "निर्वाचन आयोगलाई १० अर्ब, सुरक्षातर्फ गृह मन्त्रालयलाई ९ अर्ब र नेपाली सेनालाई ८४ करोड निकासा भएको छ।"
कतिपयले भने चुनाव सञ्चालन खर्च निकै बढेको र सरकारी निकायहरु मितव्ययी बन्न नसकिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। बिबिसीबाट