साताभर सेयर बजारको परिसूचक १७.५७ अंकले उक्लिएको छ। पहिलो दिन आइतबार १४७५.७२ अंकमा रहेको परिसूचक अन्तिम दिन बिहीबार १४९३.२९ अंकमा कायम भएको छ। अघिल्लो साताको तुलनामा नेप्से ४ अंकले बढेको हो । यो साता पछिल्ला तीन कारोबारहरुमा सूचक निरन्तर उकालो लागेको छ ।
बजारमा अल्पकालीन लगानीकर्ता हावी हुनु, ठूला तथा संस्थागत लगानीकर्ताहरुले रक्षात्मक लगानी गर्नु, नया लगानीकर्ता भित्रिन नसक्नु, अनलाईन प्रणालीको समयावधि पछाडी धकेलिनु, मार्केट मेकरको अभाव, एनआरएनबाट लगानी गर्ने वातावरण बन्न नसक्नु जस्ता कारणहरुले पनि बजारमा अझै उत्साह आउन सकेको छैन।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको दुई अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो साताको भन्दा २३.३८ प्रतिशत कम हो। अघिल्लो साता १८० कम्पनीहरुको दुई अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो। यो साता सेयरबजारमा वाणिज्य बैंक, विकास बैंक जलविद्युत, उत्पादन र व्यापार समूह उकालो लागेका छन भने होटल, वित्त, बीमा, माइक्रोफाइनान्स र अन्य समूह ओरालो लागेका छन ।
यस साता कारोबार रकम (२१ करोड ९९ लाख २० हजार रुपैयाँ) को आधारमा साना किसान विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टड तथा सिभिल बैंक कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ७२ हजार कित्ता) को आधारमा सिभिल बैंक अग्रस्थानमा रह्यो। कारोबार संख्या (१४५० पटक) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो।
यस साता ग्रिन डेभलपमेन्ट बैंक,नयाँ नेपाल लघुवित्त, मल्टि परपोज फाइनान्स लगायतका कम्पनी धेरै कमाउनेको अग्रपक्तिमा परेका छन भने नेपाल हाइड्रो डेभलपर, हिमालयन जनरल इन्स्योरेन्स, सृजना फाइनान्स तथा कैलाश विकास बैंक लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।
बजारमा पछिल्लो समयमा तिब्र उतारचढाब आउनुमा माग र आपूर्तिको असन्तुलन नै प्रमुख कारक तत्व रहेको पाइन्छ। कम्पनीहरुले पुँजीवृद्धिको शिलशिलामा जारी गरेका हकप्रद, एफपिओ तथा बोनस सेयर गरेर लाखौँ कित्ता नयाँ सेयरहरु दिनप्रतिदिन बजारमा थपिएका छन्। बजारमा सेयरको आपूर्ति बढे अनुसार माग सृजना हुन सकिरहेको छैन। मागभन्दा आपूर्ति हावी हुँदा बजार देखिएको सुधार धेरै टिक्न सक्ने स्पष्ट आधारहरु देखिएका छैनन्।
यो साता मात्रै एक करोड ३० लाख १९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन । माछापुच्छ्रे बैंकको हकप्रद, लक्ष्मी बैंक, वेस्र्टन डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो पावर र राप्तिभेरी विकास बैंकको बोनस
गरी उक्त परिमाणको सेयर सूचिकृत भएको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।