बिजुली खेलाडी गुरु न्यौपानेलाई बैंक तथा लगानीकर्ताले नपत्याए पछि त्रिशुली गल्छी अन्यौलमा

Nov 25, 2017 Merolagani

- भारतीय कम्पनी दुतावासको शरणमा
एक पछि अर्को विवादमा तानिएका गुरुप्रसाद न्यौपानेको त्रिशुली गल्छी जलविद्युत आयोजना आर्थिक संकटमा परेको छ । लगानीकर्ता धमाधम न्यौपानेसँगको सम्बन्ध तोड्न थाले पछि आयोजना निर्माणको काम अलपत्र हुने देखिएको छ ।सिद्धकाली पावर लिमिटेडले न्यौपानेका अन्य कम्पनी तथा बैंकबाट लगानी नपाउने देखे पछि त्रिशुली गल्छीले क्षमता घटाउने भएको छ ।

७५ मेगावाटबाट जडित क्षमतालाई सिद्धकालीले घटाएर २२ मेगावाटमा सीमिति गर्ने व्यहोरा सहितको निवेदन विद्युत विकास विभागमा दर्ता गराएको छ । विभागले एकाएक भएको यस्तो निर्णयका बारेमा प्रष्ट पार्न न्यौपानेको कम्पनी सिद्धकाली पावरलाई निर्देशन दिएको छ ।

सिद्धकाली पावर कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रहेका छन् । अधिकांस आयोजनामा अध्यक्ष रहेका न्यौपानेको अगुवाइमा त्रिशुली गल्छीको काम अघि बढाइएको थियो । आयोजनाको भौगर्भिक अवस्था कमजोर हुनु, सुरुङमा जोखिम बढेको र हेड कम भएकाले आयोजना आर्थिक रुपमा संभाव्य नदेखिएको भन्दै बैंकहरु लगानी गर्नबाट पछि हटेका छन् । अपी पावरको २ सय प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत नहुनु, बैंकहरु पछि हट्नु अनि न्यौपानेका अनेक कर्तुतहरु एक पछि अर्को गर्दै सार्वजनिक हुनुले आयोजना अलपत्र पर्ने देखिएको हो ।

यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी जुटाउने सहमति भएको थियो । तर न्यौपानेका हर्कत एक पछि अर्को गर्दै बाहिर आउन थाले पछि संस्थागत तथा सर्वसाधारण लगानीकर्तामा उनको विश्वास गुम्दै गएको छ । लक्ष्मी बैंक पनि न्यौपाने नेतृत्वको सिद्धकाली पावरबाट पछि हटे पछि न्यापानेले आयोजनाको क्षमता घटाउने व्यहोरा विद्युत विकासमा बुझाएको खुल्न आएको छ । यद्यपी उनले आयोजनाको क्षमता घटाउनुको कारण भने विभागमा बुझाएका छैनन् ।

मेरोलगानीसँग कुरा गर्दै विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले आयोजनाको क्षमता घटाउनको कारण पेश गर्न सिद्धकालीलाई पत्राचार गरिएको बताए । 'यस अघि भएका सबै प्रकृया विपरित कम्पनीले किन आयोजनाको क्षमता घटाउन खोजेको हो त्यो प्रष्ट पार्न भनेका छौं,' उनले भने ।

यसअघि डलर अर्बपति विनोद चौधरीले पनि न्यौपानेको आयोजनामा लगानी गर्ने चर्चा चलेको थियो । न्यौपानेको कार्यशैलीका कारण नै चौधरीले न्यौपानेसँगको सहकार्य अघि बढाएका थिएनन् । यसरी सबै पक्षले एकाएक साथ छाडे पछि एक्लो बनेका न्यौपानेले अरु सहायक कम्पनीबाट पनि मनलाग्दी पैसा उठाउन पाएका छैनन् । जसका कारण उनको अरुको लगानीमा बन्न लागेको न्यौपानेको एकलौटी आयोजना अलपत्र पर्ने देखिएको हो । सबैको साथ एक पछि अर्को गर्दै गुम्न थाले पछि न्यौपाने अहिले नयाँ लगानीकर्ता खोज्दै हिँडेका छन् ।

सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र दिइसकेको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) पनि भइसकेको छ । सम्झौता अनुसार प्राधिकरणले हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षातको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्नेछ ।

पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा सबैको साथ छुटे पछि लगानी जुट्न सकेको छैन । सर्वसाधारणबाट भने उनले विभिन्न बाटो अपनाएर बिजुली उत्पादन गर्ने भन्दै करोडौं रुपैंया उठाई सकेका छन् । तर त्यसको प्रष्ट तथ्यांक तथा बिवरण कम्पनीमा नै नरहेका कारण भविष्यमा समस्या उत्पन्न हुने अवस्था पनि छ । अपी, अरुण काबेली लगायत न्यौपाने नेतृत्वका सबै कम्पनीको सेयर रजिष्ट्रारको काम आफैंले गर्नुको मुख्य कारण पनि यस्तै अपचलनको आधार बनाउनु रहेको कम्पनीमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

गुरु अध्यक्ष रहेको सिद्धकालीको सञ्चालक समिति पनि उनका नजिकका आसे पासेहरुको दवदबा छ । न्यौपानेकी बुहारी पूजा दाहाल तथा छोरा सञ्जीव लगायतका नजिकका व्यक्तिहरु सञ्चालक छन् । कम्पनीका सम्बन्धमा हुने कुनै पनि निर्णयमा अरु सञ्चालकहरुको बिचार तथा सल्लाहको सम्बोधन नहुनु नै न्यौपानेको उधोगतिको सुरुवात भएको बताइन्छ ।

त्रिशुली गल्छी आयोजनाको ८० प्रतिशत स्वामित्व अपी पावर कम्पनीसँग छ । अपीका सेयरधनीबाट हकप्रद मार्फत २ अर्ब १० करोड रुपैंया त्रिशुली गल्छीमा लगानी गर्ने योजना न्यौपानेले बनाएका थिए । उक्त हकप्रद पनि धितोपत्र बोर्डबाट स्वीकृत हुन सकेको छैन । यद्यपी न्यौपानेले दोस्रो बजारलाई समेत प्रभावित गर्ने गरी समय समयमा साधारण सभाको फण्डा झिकेर अपीको सेयर मूल्य तल माथि गराउँदै प्रत्यक्ष फाइदा आफुले लिँदै आएका छन् ।

विस्तृत आयोजना प्रतिवेदनअनुसार त्रिशुली गल्छी बनाउन १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने छ । ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत प्रवद्र्धकको स्वपूँजी लगानी हुने छ । बैंकबाट ९ अर्ब ८३ करोड रुपैयाँ लगानी हुँदा सेयर लगानी ४ अर्ब ३२ करोड रुपैयाँ हुने छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ७२ लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा छ । उल्लेखित लगानीका आधार भत्किन थाले पछि न्यौपाने नयाँ लगानीकर्तासँग हारगुहार गर्दै हिँडिरहेका छन् । तर विगतको उनको खराब छवी सार्वजनिक हुँदै गए पछि कतैबाट साथ पाउन सकिरहेका छैनन् ।

धादिङ र नुवाकोटको सीमानामा रहेको त्रिशुली नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक ४६ करोड ८१ लाख ८५ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले दाबी गर्दै आएको छ । आयोजनाको बाँध नुवाकोटको रातमाटे र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा रहने बताइएको छ । ८ किलोमिटर लामो सुरुङ समेत खन्नु पर्ने आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारणलाइनबाट राजधानीमा ल्याइने बताइएको छ । तर आयोजना निर्माण नै अन्यौलमा पर्ने अवस्थाले उल्लेखित कुरा यसै हुन्छन् भन्ने आधार छैन ।

कम्पनीले आयोजना प्रभावित धादिङ र नुवाकोटका बासिन्दालाई १० प्रतिशत आर्थत ४२ करोड १४ लाख रुपैयाँको सेयर छुट्टाइएको छ । यस्तै सर्वसाधारणलाई १५ प्रतिशत सेयर छुट्याएको छ । स्थानीयलाई छुट्याइएको सेयरमा पनि तिब्र विवाद उत्पन्न भएको छ । जसका कारण स्थानीय पनि न्यौपानेको योजनाको बिरुद्धमा लाग्न थालिसकेका छन् ।

भारतीय कम्पनी दुतावासको शरणमा

त्रिशुली–गल्छीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भारतको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । आयोजना निर्माण नहुने छाँटकाँट देखे पछि अध्ययनकर्ता भारतीय कम्पनीलाई न्यौपानेले अझै सम्म डीपीआर तयार गरेको रकम भुक्तान गरेका छैनन् । काम गरिसके पनि आफ्नो पैसा असुली नभए पछि अहिले डिजाइन ग्रुप कन्सलटेण्ट आफ्नो रकम उठाइदिन भारतीय राजदुतावासको शरणमा पुगेको छ ।

उसले सिद्धकालीका लागि गरेको कामको अधिकांस रकम असुली गर्नका लागि कम्पनीमा ताकेता गरेको थियो । सिद्धकालीले अनेक बहानामा लामो समयदेखि रकम भुक्तानी गर्न आनाकानी गरे पछि उक्त कम्पनी न्यौपानेबाट रकम असुली गरिदिन भन्दै दुतावासको शरणमा पुगेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।