तेलबाट उठ्ने राजस्व र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । राष्ट्रपति मडुरो अमेरिकी प्रतिबन्धहरुको विरुद्धमा पनि आवाज उठाएका छन् । जसलाई उनले ठुलो रोकावट (नाकाबन्दी) भएको बताएका छन् ।
हालै गरिएको एउटा घोषणामा मडुरोले नयाँ भर्चुअल करेन्सीले भेनेजुएलाको मौद्रिक कारोबार र नाकाबन्दीको समस्या समाधान गरी आर्थिक रुपमा सबल बन्नका लागि मद्दत गर्ने बताए । उनले २१ औँँ शताब्दी आइसकेको भन्दै यस्ता डिजिटल मुद्रा आवश्यक रहेको बताए । तर उक्त ‘पेट्रो’ नामक मुद्रा कहिले आउने भन्ने चाहिँ बताएका छैनन ।
विश्वभरमा बिटक्वाइनप्रति बढिरहेको रुचीका माझ भेनेजुएलाले यस्तो घोषणा गरेको हो । यसबाट आफ्नो देशको आर्थिक संकट हट्ने मदुरोको भनाई छ । भेनेजुएलामाथि करिब १४० अर्ब अर्थात् १४ हजार करोड डलर भन्दा बढी विदेशी ऋण रहेको छ । अर्थशास्त्रीहरुका अनुसार मदुरोले नयाँ मुद्रा पेट्रो मार्फत विदेशी ऋण तिर्ने सोच बनाइरहेका छन् ।
विपक्षी सांसदहरुले प्रस्तावित मुद्राका लागि कांग्रेसको समर्थन आवश्यक रहेको र त्यो मिल्ने सम्भावना कम भएकाले योजना कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । विपक्षी सांसद तथा अर्थशास्त्री एंजेल अल्भाराडोले भने, ‘मदुरो विचित्र व्यवहार गर्दैछन्, त्यो योजनामा कुनै विश्वसनीयता नै छैन ।’
भेनेजुएलाको अर्थव्यवस्था पूर्ण रुपमा त्यहाँ उपलब्ध तेलमा निर्भर रहेको छ तर तेलमा आएको गिरावटका कारण देशले आर्थिक र राजनीतिक संकटको सामना गर्नुपरिरहेको थियो । त्यहाँको सरकारले दमनकारी नीति अबलम्बन गरेको भन्दै केही समयअघि अमेरिका र युरोपेली देशहरुले भेनेजुएलामाथि कयौँ प्रतिबन्ध र नाकाबन्दी लगाएका थिए ।