५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको नयाँ संस्थापक सेयर लिलामीपछि चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै जगेडाकोषको आकार ३ अर्ब ५३ करोड बाट बढेर चार अर्ब ४६ करोड पुग्नेछ ।
राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकलाई अझै एक अर्ब ७६ करोड रुपैयाँ पुँजी जुटाउनु पर्ने हुन्छ । गतबर्षको कमाईबाट लाभांस बाड्न बाँकी रहेको बैंकले गतबर्षको कमाई र जगेडाकोषको रकम उपयोग गरेर आठ अर्ब पुग्नेगरी लाभांस घोषणा गर्ने देखिन्छ । आठ अर्ब पुर्याउन बैंकले २८ प्रतिशत बोनस वितरण गर्नुपर्ने हुन्छ ।
बीओकेले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दरले लिलाममा राखेको ६१ लाख ५८ हजार ६७ कित्ता सेयरमध्ये सबैजसो सेयर कर्मचारी संचय कोषले सकारेको छ । कर्मचारी संचयकोषले २५१ रुपैयाँका दरले ६१ लख ५८ हजार कित्ता माग गरेकोमा उसले झण्डै ६१ लाख ४९ हजार कित्ता सेयर हात पारेको छ । दोस्रो बजारमा बैंकको संस्थापक सेयरको मूल्य प्रति कित्ता २७० रुपैयाँ रहेको छ ।
बाँकी सेयर अन्य २६ जना आवेदकले पाएका छन् । कुल ९१७ आवेदकले बैंकको संस्थापक सेयर खरिदका लागि आवेदन गरेकोमा ८९० जना आवेदकको भागमा सेयर पर्न सकेन । अन्य २६ जना सेयरधनीको भागमा करिब ९ हजार कित्ता सेयर परेको छ । उनीहरुले २५० रुपैयाँदेखि ३८० रुपैयाँसम्ममा सेयर कबुलेको बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिगंले जनाएको छ । क्यापिटलका अनुसार अन्तिम नतिजा भने आउन बाँकी नै छ ।
बीओकेले आफ्नो संस्थापक हिस्सेदारी ५१ प्रतिशत पुर्याउन यो सेयर लिलाम गरेको हो । अहिले संस्थापक सेयरको हिस्सा ४५ प्रतिशतको हाराहारीमा छ ।