एफपीओ भर्दै हुनुहुन्छ ? पोखरा फाइनान्सबाट पाठ सिक्नुहोस्

Dec 25, 2017 Merolagani

सेयर बजार घट्दा दोस्रो बजारमा लगानीकर्ताको चासो ह्वात्तै घट्ने गरे पनि प्राथमिक निष्काशन (आईपीओ) र थप नयाँ सेयर (एफपीओ) भनेपछि लगानीकर्ताहरु आँखा चिम्लिएर आवेदन गर्न तम्सने गरेका छन् । 

उनीहरुमा कम्पनीको अवस्थालाई चित्रण गर्ने, वित्तीय विवरण विश्लेषण गर्ने तथा कम्पनीको समग्र अवस्थालाई नै विचार गर्ने परिपाटी ज्यादै न्यून रहेको छ । कुन कम्पनीको सेयर खुलेको छ भनेर तछाडमछाड गर्दै एफपीओ भर्ने लगानीकर्ता तपाई हामीमध्ये नै धेरै छौं ।

पोखरा फाइनान्स (PFL) को एफपीओ भर्न लगानीकर्ताहरुले पनि यस्तै गरेका थिए । फाइनान्सले प्रतिकित्ता २२० रुपैयाँका दरले एफपीओ निष्काशन गरेको थियो । जसमा १४ हजार ९६८ जनाले १० कित्ता, १० हजार १०६ जनाले २० कित्ता, १९ हजार ९७० जनाले ३० कित्ता र २ जनाले ३१ कित्ता सेयर प्राप्त गरेका थिए ।

फाइनान्सले साउन मसान्तमा निष्काशन गरेको एफपीओमा आवेदन गरेका लगानीकर्तालाई भने फाइनान्सको एफपीओ अहिले आएर निल्नु न ओकल्नु जस्तो भएको छ । बजार मूल्य घट्दै जाँदा एफपीओ सेयरधनीले न त आफुसँग भएको एफपीओ सेयर विक्री गरेर उन्मुक्ती लिने आँट गर्न सकेका छन् न त एफपीओ भन्दा तल झरिसकेको हकप्रदमा आवेदन गर्ने जाँगर नै लगानीकर्तामा छ । 

१५ प्रतिशत हकप्रद नभरेपनि मूल्य समायोजन भएर तल झर्नेछ भने एफपीओ खरिद मूल्यभन्दा १० प्रतिशत सेयरमूल्य घटिसकेकाले हकप्रदमा आवेदन गर्ने जाँगर एफपीओ भरेका सेयरधनीमा छैन ।

अर्कोतिर हकप्रदपछि समायोजन भएर मूल्य घट्ने हुँदा हकप्रद नभरे सेयरधनीलाई थप घाटा बढ्ने हुँदा आवेदन नगरि पनि सुख छैन । फेरी अधिकतम ३० कित्ता सेयर पाउने सेयरधनीले पाँच कित्ता सेयर तथा १० कित्ता सेयर पाउनेले डेढ कित्ता सेयर आवेदन गर्न गनुपर्ने सास्ती त छँदै छ ।

सेयर बजारको गिरावटसँगै पोखरा फाइनान्सको सेयरमूल्य तल झर्दा फाइनान्सको अधिकतम प्रतिकित्ता २८५ रुपैयाँबाट अहिले २०० रुपैयाँमा झरिसकेको छ । तीन कारोबार दिनमा बजार बढेन भने १५ प्रतिशत हकप्रद समायोजन हुँदा कम्पनीको मूल्य अझ घट्नेछ । फाइनान्सको सेयरमूल्यमा पछिल्लो एक हप्तामा ३.८५ प्रतिशत, एक महिनामा ६.५४ प्रतिशत, र एक बर्षमा १४.५३ प्रतिशतले गिरावट आएको छ ।

एनआईबिल क्यापिटल मार्फत हकप्रद जारी गर्न लागेको फाइनान्सले पुस १४ गते बुकक्लोज गर्देछ । यस अनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

यसले सेयर आवेदन गर्नुभन्दा अगाडि एकपल्ट कम्पनीको समग्र अवस्था र बजार मूल्यको विश्लेषण गरेर मात्र आवेदन गर्नुपर्छ भन्ने मेरोलगानीको सिद्धान्तलाई थप स्थापित गराएको छ । मेरोलगानीले भन्दै आएको अर्को कुरा लगानीकर्ताले हकप्रदको लोभमा जुनसुकै कम्पनीको सेयर उचालिएर किन्नेतर्फ भने सधै सजग बन्नुपर्ने देखिन्छ । पूँजी बढेअनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

६५ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद बिक्री गरे पछि चुक्ता पूँजी ७५ करोड ४१ लाख रुपैंया चुक्ता पूँजी बनाउनेछ । उसले थप ५ करोड रुपैंया बराबरको बोनस बितरण गरेर चुक्ता पूँजी ८० करोड पुर्याउनेछ । चालू आवको प्रथम त्रैमासमा एक करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८ पैसा कायम गरेको छ ।

पोखरा फाईनान्समा एफपीओ भरेका लगानीकर्ताले त केही पाठ अवश्य नै सिके होला नै, आगामी दिनमा निष्काशन हुने एफपीओ आवेदन गर्दा झनै चनाखो हुनु पर्ने अवस्था देखिएको छ । कम्पनीको समग्र अवस्थालाई विचार गरेर मात्र आवेदन गरी सुरक्षित लगानीका लागि पाठ सिक्नुपर्ने टड्कारो आवश्यकता यसले देखाउँछ । सबै सूचीकृत कम्पनीले नाफा कमाउँछन् र प्रतिफल दिन्छन् भन्ने सोचले जुनसुकै कम्पनीमा पनि लगानी सुरक्षित हुन्छ भन्ने मानसिकता त्याग्न जरुरी देखिन्छ ।

- मेराेलगानी टिप्पणी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।