बैंक तथा वित्तीय संस्थासँग रहेको विकास ऋणपत्र खरिद गरेर आइतबार पाँच अर्ब रुपैयाँ वित्तीय बजारमा पठाएको राष्ट्र बैंकले बुधबार थप दश अर्ब रुपैयाँ पठाउने तयारी गरेपछि सेयरबजारका लगानीकर्ता उत्साहित भएको पाइएको छ । साथै राष्ट्र बैंकले आफूसँग भएको दुई अर्ब ३१ करोड रुपैयाँ समेत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । यसले पनि बजारमा तरलताको अवस्था थप सहज हुने भएपछि लगानीकर्ताको मनोबल बढ्दा सेयरबजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
विशेषगरी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मुनाफा बापतको ठूलो रकम बाहिर लैजाने टुङ्गो लागेपछि वित्तीय बजारमा तरलताको समस्या विकराल बनेको थियो । अर्कातर्फ टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्न ८ अर्ब बढी रकम बैंकिङ्ग च्यानलबाट बाहिरिने कुराले तरलता संकटको अवस्था आउने आँकलन गरिएको थियो ।
अर्कातर्फ बैंकहरुमा लगानी योग्य रकमको अभाव भएको भन्दै राष्ट्र बैंक र अर्थमन्त्रालय गुहार्न पुगेका बैंकरहरुले नै निक्षेपको ब्याजदर नबढाउने सहमति गरेपछि तत्काल ब्याज नबढ्ने आशमा लगानीकर्ता पूँजीबजार तर्फ फर्किएका छन् ।
नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले तत्काल निक्षेपको ब्याजदर १२ प्रतिशत भन्दा माथि नबढाउने सहमति गरेको थियो । बैंकहरुले धमाधम निक्षेपको ब्याज बढाउन थालेपछि सेयरबजारका केही लगानीकर्ता बैंकमा रकम जम्मा गर्न पुगेका थिए ।
पूँजी बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर्स फोरम र बैंकर्स संघले धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्न सकारात्मक बनेका थिए । आइतबार नै इन्भेष्टर्स फोरमले बैंकर्स संघलाई मार्जिन कर्जा, मार्जिन कल र मार्जिन कर्जाको ब्याजदरमा लचकता अपनाउन पहल गर्न आग्रह गरेका थिए ।
शेयर कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमा लिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रुपमा विकास गर्न लगानीकर्ताले बैकरहरुको ध्यानकर्षण गराएका थिए । जसमा बैंकहरु सकारात्मक देखिएपछि यसको प्रत्यक्ष प्रभाव सोमबारको सेयरबजारमा देखिएको हो ।
सोमबार बजार परिसुचक नेप्से ४४ दशमलव २२ अंकले बढेर एक हजार ४३४ दशमलव ८० अंकमा पुगेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको हो । यसदिन नेप्सेमा कारोबार भएका १६३ कम्पनीमध्ये १२ कम्पनी बाहेक सबै कम्पनीको सेयरमूल्य बढेको छ ।
यसदिन कारोबारमा आएका अन्य बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । तर बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबारको ५८ करोडको सेयर किनबेच भएको थियो । बजार ४४ अर्बले बढ्दा लगानीकर्ताको सम्पत्ति ५२ अर्बले बढेको छ । यो सँगै सोमबार समग्र बजार पूँजीकरण १६ खर्ब ६९ अर्ब कायम भएको छ ।
यसदिन स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको उच्च कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीका संस्थापक तथा साधारण र वल्र्ड मर्चेन्ट बैंकिङ्गका लगानीकर्ताले सबैभन्दा धेरै आठ प्रतिशत बढीले कमाएका छन् । उछाल आएको बजारमा पूर्णिमा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै तीन प्रतिशतका दरले गुमाए ।