सप्तकोशी डेभलपमेन्ट बैंकले ४.७८ प्रतिशत बोनस पारित गर्न माघ १३ गते होटल संगम एन्ड पार्टी प्यालेस, विराटनगरमा बिहान १०.३० बजे साधारण सभा बोलाएको छ । सभाका लागि पुस २३ गते आईतबारदेखि बैंकले बुक क्लोज गर्ने भएकाले बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बोनस पाउने भएकाले बोनस पाउन विहीबारसम्म सेयरधनी बन्नुपर्छ ।
बैंकले १३० प्रतिशत हकप्रदलाई नदिने गरि ११ प्रतिशत बोनस घोषणा गरेपनि हकप्रदलाई समायोजन गर्दा ४.७८ प्रतिशतमा झरेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।
उता कञ्चन डेभलपमेन्ट बैंकको १२.३३ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार नै अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि शुक्रबारदेखि बुकक्लोज गर्न लागेकाले विहीबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउने भएका हुन् ।
बैंकले पुस २९ गते होटल ओपेरा महेन्द्रनगर कञ्चनपुरमा बिहान साढे ११ बजे साधारण सभा डाकेको छ । उक्त सभाले ५ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि २९ लाख २३ हजार ६ सय ८४ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्देछ ।