नागरिक लगानी कोष फाइनान्स समूहबाट बाहिरियो, अन्यमा सामेल

Jan 07, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नागरिक लगानी कोष (CIT) लाई पुस २३ गते आईतबारदेखि फाइनान्स समूहबाट हटाएको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गर्न कोषलाई फाइनान्स समूहबाट हटाएर अन्य समूहमा समावेश गरिएको नेप्सेले जनाएको छ । 

फाइनान्स समूहमा नागरिक लगानी कोषको कारोबार मापन गरिँदा लगानीकर्ताले वास्तविक प्राइस मुभमेण्ट थाहा पाउन सकेका थिएनन् । अब भने फाइनान्स समूहमा सूचीकृत नागरिक लगानी कोष त्यो समूहबाट हटेर अन्य समूहमा परिवर्तन भएको छ  । 

नगारिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाएपछि यस समूहमा सूचीकृत कम्पनीको संख्या ३० हुनेछ भने अन्य समूहमा बढेर ४ पुग्नेछ । चारवटा कम्पनी रहेपनि ठूला कम्पनीहरु नेपाल टेलिकम, नगारिक लगानी कोष, जलविद्युत्त लगानी विकास कम्पनी यस समूहमा रहनेछन् ।

नेप्सेले यसभन्दा अघि विकास बैंक समूहबाट माइक्रोफाइनान्सलाई छुट्याएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत परिसूचक सुरु गरिसकेको छ । हाल नेप्सेमा समूहगत परिसूचकको संख्या १० रहेका छन् ।

नागरिक लगानी कोष नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कम्पनी नभएकाले अन्य समूहमा लगिएको हो । सरकारी लगानीको फरक प्रकृतिको वित्तीय सेवा प्रदान गर्ने नागरिक लगानी कोषको नेप्सेमा ७४ लाख २ हजार ४४७ कित्ता सेयर सूचीकृत छ । आइतबार कोषको प्रतिकित्ता सेयरमूल्य तीन हजार ५६५ रुपैयाँ रहेको छ । 

नेप्से परिसूचक १४३१ अंकमा रहँदा अन्य समूहको समूहगत परिसूचक ७७२ अंकमा छ भने फाइनान्स समूहको परिसूचक अन्यभन्दा थोरै ७३१ अंकमा रहेको छ ।

नेप्सेको स्थापना हुँदा सुरुमा ६ वटा मात्र उपसमूह थिए । सूचकलाई वास्तविक बनाउनका लागि २०५८ सालमा ती सूचकलाई टुक्राएर नौ वटा बनाइएको थियो । कात्तिक पहिलो हप्ताबाट लघुवित्त समूहलाई विकास बैंकबाट टुक्राएपछि अहिले बैंक, विकास बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादन, अन्य र व्यापार र लघुवित्त गरी १० समूहमा कम्पनीहरुको सेयर कारोबार मापन भैरहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।