बढ्दो बजारमा राम्रो नाफा आईरहँदा कसैले सेयर कारोबारमा लाग्ने कर ख्याल गर्दैनन् । तर अहिले बजार तिब्र रुपमा ओरालो झर्दा किनेको मूल्यभन्दा धेरै सस्तोमा सेयर बेच्नेहरु पनि लाभकर तिर्न बाध्य छन् ।
हकप्रद तथा बोनस सेयर सुरक्षित गर्नेहरु पछिल्ला दिनमा यस्तो समस्या झेल्न बाध्य भएका छन् । अझ त्यसमा सूचीकृत भएपछि पहिलो पटक बोनस तथा हकप्रद जारी गर्ने कम्पनीका सेयरधनी दोहोरो मारमा परेका हुन् ।
अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको साधारण सभा गरिसकेका छन् । प्रस्तावित लाभांश बितरण भैसकेको छ भने त्यस्ता सेयर बेच्नेहरु पनि तछाड मछाड गरिरहेका छन् ।
हकप्रदमा आवेदन गर्नेहरुको पनि हालत उस्तै छ । किनेको मूल्यभन्दा धेरै सस्तोमा सेयर बेच्दा नोक्सान व्यहोर्नुपर्ने बाध्यता अधिकांश लगानीकर्तामा छ । यस बिचमा सूचीकरण भए पश्चात पहिलो पटक शतप्रतिशत हकप्रद निष्काशन गरेको सानिमा माई हाइड्रोको सेयर कारोबारमा यस्तो अवस्था देखिएको हो ।
दुर्इ सय प्रतिशत हकप्रद निष्काशन गरेको आरएसडिसी लघुवित्त लगायत कम्पनीमा पनि यो समस्या देखिँदैछ ।
सामान्यतया खरिद मूल्यभन्दा बढी मूल्यमा सेयर बिक्री गर्दा हुने नाफाबाट लाभकर तिर्नुपर्ने हो । तर हामीकहाँ बोनस तथा हकप्रदको सेयरमूल्य समायोजन हुँदा नेपाल स्टक एक्स्चेञ्जले निकाल्ने आधार मूल्य समस्याको प्रमुख कारण बनेको छ ।
हकप्रद तथा बोनस समायोजन भएपछि उक्त सेयरको खरिद मूल्य आधार मूल्य नै हो भन्ने व्यवस्था छ । जसले गर्दा महंगोमा सेयर किनिए पनि समायोजन पश्चात नोक्सानमा सेयर बेच्दा पनि लाभ कर तिर्नु परेको हो । आधार मूल्यभन्दा माथिको मूल्यमा सेयर बिक्री भैरहेको हुनाले यी दुई मूल्यबिचको अन्तरलाई अहिलेको व्यवस्थाले नाफा मान्ने गरेको छ ।
आधारमूल्यलाई खरिद मूल्य मानिएपछि उक्त मूल्यभन्दा माथि सेयर बेच्दा पनि नोक्सान हुने सेयरधनीलार्इ पर्ने त्यो पीडा नियामकले बुझेका छैनन् । जसले गर्दा आम-लगानीकर्ता नोक्सानमा सेयर बेच्दा पनि लाभकर तिर्न बाध्य छन् ।
एउटा उदाहरण हेरौं
सानिमा माई हाइड्रोले केही समय अघि शतप्रतिशत हकप्रद बिक्री गर्यो । त्यस बेला उसको सेयर मूल्य १ हजार १ सय ६ रुपैयाँबाट ६०३ रुपैयाँमा समायोजन भएको थियो । उक्त समयमा नेपाल स्टक एक्सचेञ्जले सानिमा माई हाइड्रोको आधार मूल्य ३५१ रुपैयाँ तोकेको थियो ।
अहिले १ हजार १ सय रुपैयाँमा सेयर किनेकाहरु ४ सय ७० रुपैयाँमा सेयर बेचिरहेका छन् । सुन्दा अपत्यारिलो लाग्ने कुरा यो हो कि, हकप्रद सहितको सबै सेयर बिक्री गर्दा १ सय ३५ रुपैयाँ नोक्सान हुन्छ । तर आधार मूल्यलाई खरिद मूल्य मानिदिएका कारण नोक्सानमा सेयर बेच्नेहरु पनि लाभ कर तिर्न बाध्य छन् ।
के भन्छन् लगानीकर्ता ?
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल लाभकरको विपक्षमा छन् । ‘औसतमा सेयर कारोबारमा लगानीकर्ता नोक्सानमा हुँदा पनि केही कम्पनीमा भएको आम्दानीबाट कर उठाउनु पहिलो गल्ती हो ।’ पौडेल भन्छन् ।
नेपाल स्टक एक्सचेञ्जले समायोजन तथा आधार मूल्य निर्धारण गर्ने आधुनिक उपकरण प्रयोगमा नल्याउँदा सानिमा माई लगायत कम्पनीको सेयरमा लगानीकर्ता दोहोरो मारमा परेको उनको भनाई छ ।
‘समायानुकुल रुपमा लगानीकर्ताको हीतमा नेप्सेले वित्तीय उपकरणको प्रयोग गर्नुपर्ने हो । त्यस्तो हुन सकेको छैन । अहिले आधार मूल्य निकाल्ने नेप्सेको सुत्रमा परिमार्जन गर्न जरुरी छ ।’ फोरमका अध्यक्ष पौडेलले मेरोलगानीसँगको कुराकानीमा भने ।
वार्षिक रुपमा हुने कारोबारका आधारमा नाफा नोक्सान हिसाब गरेर लाभकर असुली हुनुपर्ने आवाज यसअघि देखि नै उठ्दै आएको छ ।
कसरी गणना हुन्छ आधार मूल्य ?
अघिल्लो पटकको आधार मूल्यमा नयाँ समायोजित सेयर मूल्य जोड्दा आउने नतिजालाई २ ले भाग गरी औसत अाधारमूल्य निकालिन्छ । सानिमा माई हाइड्रोको पहिलो पटक हकप्रद निष्काशन हँदा आधार मूल्य एक सय रुपैयाँ थियो । नयाँ समायोजित मूल्यमा उक्त आधार मूल्य जोड्दा ७ सय ३ रुपैयाँ हुन्छ । उक्त रकमलाई औसत निकाल्दा २ ले भाग गरी ३ सय ५१ रुपैयाँ आधार मूल्य तोकिएको थियो । यही आधार मूल्य नै हकप्रद भर्नेहरुका लागि खरिद मूल्य तोकिएका कारण अहिले नोक्सानमा सेयर बेच्दा पनि लाभ कर तिर्नु परेको हो ।
के भन्छ नेप्से ?
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद धेरै विषय सुधारको क्रममा रहेको बताउँछन् । मेरोलगानीसँगको कुराकानीमा साउद भन्छन्, ‘समस्याको पहिचान नभएर कतिपय कुरा सुधार गर्न नसकिएको हो । सानिमा माईको सन्दर्भमा उठान भएको समस्या अरु कम्पनीमा नआओस् भन्नेमा हामी सकरात्मक छौं । समयानुकुल रुपमा समायोजन गराउनेमा हामी पहल कदमी चाल्छौं ।’
बजार विकास अनि लगानीकर्ताको हीतको चर्को बहस चल्दै गर्दा साना-साना विषयमा सुधार हुन नसक्नु दुःखको कुरा हो । अहिले आरएसडिसी लघुवित्त, नेशनल माइक्रोफाइनान्स, महुली लघुवित्त लगायत कम्पनीहरुमा पनि यो समस्या दोहोरिने निश्चित छ । यसमा नेप्सेले समयमा नै उचित निर्णय लिन सक्नुपर्छ ।