दुई कम्पनीले दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लो पटक सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकाई बिक्री गर्ने भएको छ ।
सो क्यापिटलले १० रुपैयाँ प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला हुन लागेको हो ।
कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात् १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानी कोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । म्युचुअल फण्डले ७ वर्षको औसतमा साढे २२ प्रतिशतको वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ ।
एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डको बिक्री समेत मंगलबारदेखि शुरु हुने भएको छ । एनआइसी एशिया क्यापिटल म्युचुअल फण्डको आकार एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।
उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौं वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।