मेगा बैंकले चालु आर्थिक वर्षको पुष मसान्तमा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.१३ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुलीमा सुधार आएपछि नाफामा सामान्य बढोत्तरी देखिएको हो । बैंकको ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च समेत बढ्न गएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब एक करोड रुपैंयाबाट बढेर सात अर्ब ३७ करोड पुगेको छ । यसअवधिमा बैंकले चुक्तापूँजी ८३.८६ प्रतिशतले बढाएको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो । साथै बैंकले ९.४५ प्रतिशत बोनस सेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ । यसरी पूँजी बढ्दा कमाई घटेका कारण बैंकको प्रगति सुस्त बनेको हो ।
बैंकको दोस्रो त्रैमासिम अवधिको प्रतिसेयर आम्दानी ५.३४ रुपैयाँ छ । यसलाई बार्षिकिकरण गर्दा प्रतिसेयर आम्दानी १० रुपैंया ६४ पैसा हुन आउँछ ।बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैंया ७३ पैसा, मूल्य आम्दानी अनुपात ४३.०३ गुणा तथा तरलता अनुपात २५.६५ रुपैयाँ छ ।
बैंकको खराबकर्जा भने एक प्रतिशत तल ०.९६ प्रतिशत छ । तर यो गतबर्षको भन्दा धेरै हो । जसले गर्दा उसको प्रोभिजन रकम १३ करोडबाट २० करोड पुगेको छ । यसअवधिमा बैंकले ११ करोड रुपैयाँ खराब कर्जा असुल गरेको छ ।
बैंकले यसअवधिमा ४५ अर्ब ५७ करोड निक्षेप संकलन गर्दा ४० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । जसको सिसिडी ७९.३७ प्रतिशत छ । बैंकले यो अवस्थामा थप कर्जा विस्तार गर्न मुस्किल छ । उसलाई निक्षेप बढाउनु पर्ने बाध्यता देखिएको छ ।
गतबर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको कोषको लागत नै ४.४७ प्रतिशतबाट बढेर ७.५८ प्रतिशत पुगेको छ । जसको आधार दर नै १०.९६ प्रतिशत छ ।
टुरिजम विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंक टुरिजमको सहयोगमा केही आश लाग्दो बन्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ ।