बिग्रे भत्केका संस्थालाई एक पछि अर्को गर्दै आफुमा विलय गरेको प्रभुको वित्तीय अवस्था पनि अनिश्चित बनेको हो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ११ करोड २३ लाख रुपैंया खुद नाफा कमाएको थियो ।
ग्राण्ड बैंक तर्फको ठुलो खराब कर्जा असुल्ने क्रममा बैंकले गत वर्षको पुस मसान्तको अवधिमा १ अबै १३ करोड ३ लाख रुपैयाँ उठाएको थियो । जसका कारण उसको खुद नाफा पनि अर्ब बढी थियो ।
अहिले बैंकले जम्मा ५१ करोड २४ लाख ९१ हजार रुपैयाँको खराब कर्जा असुली गरेको छ । यो शिर्षकमा आएको गिरावटका कारण नै बैंकको खुद नाफा प्रभावित बनेको हो ।
यद्यपी बैंकको नियमित कृयाकलापलाई हेर्ने हो भने सामान्य गतिमा सुधारको बाटोमा हिँडिरहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा अहिले बैंकको कमाई केही बढेको देखिन्छ ।
चुक्ता पूँजी ८ अर्ब पुर्याउन ४० प्रतिशत हकप्रद निष्काशन गरिरहेको बैंकको चुक्ता पूँजी ६ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३ अर्ब १० करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
कर्जायोग्य रकमको अभाव बढ्दै जाँदा व्याज खर्चमा आएको बढोत्तरीले प्रभु पनि प्रभावित बनेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकले दुर्इ अर्ब ४३ करोड ५० लाख रुपैयाँ व्याज आम्दानी गरेर ९९ करोड २३ लाख रुपैयाँ मात्र व्याज खर्च गरेको थियो । अहिले बैंकले तीन अर्ब ८१ करोड ४६ लाख रुपैयाँ व्याज आम्दानी गरेर दुर्इ अर्ब ६० करोड ६६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । समिक्षा अवधिमा व्याज खर्चमा आएकाे बढोत्तरीको असर प्रभुसँगै अरु वाणिज्य बैंकहरुमा पनि देखिएको हो ।
अझै प्रभुले निष्कृय कर्जा अनुपातको आकार तल झार्न सकेको छैन । गत आर्थिक वर्षको यसै अवधिमा ४.८८ प्रतिशत रहेको यो अनुपात अहिले ४.१२ प्रतिशतमा मात्र झरेको छ । अन्य बैंकहरुको तुलनामा कर्जा निक्षेप अनुपात ७५.२४ प्रतिशत रहनुले केही खुकुलो अवस्थामा रहेको देखिन्छ ।
प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा छ ।