आइतबार बजार सुचक नेप्से १.०१ अंकको गिरावट सहित १४१०.५१ अंकमा अडिएको छ । १६३ कम्पनीहरुको सेयर किनबेच भएको बजारमा ११ लाख ४१ हजार १०५ कित्ता सेयरहरु ४ हजार ७७५ पटक किनबेच भएका छन् । बजार सुस्त बन्दै गर्दा ४६ करोड ६४ लाख ९० हजार ७४८ रुपैंयाको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका कम्पनीहरुको अधिकांस उपसमुहमा आएको गिरावटले बजार केही सुस्त बनेको हो । यस क्रममा वाणिज्य बैंक, विकास बैंक र अन्य उपसमुह मात्र माथि चढेका छन् । बाँकी ७ वटै उपसमुहमा सामान्य गिरावट देखिएको छ ।
आइतबार ६ वटा वाणिज्य बैंकसहित सानिमा माई हाइड्रो, बुटवल पावर कम्पनी, नागरिक लगानी कोष र नेपाल टेलिकमको सेयर अधिक किनबेच भएको छ ।
यस क्रममा साना तथा मझैला कम्पनीहरुको सेयर मूल्य धेरै बढेको छ । साल्ट ट्रेडिंग सहित केही लघुवित्त कम्पनी र विकास बैंकहरुको सेयर मूल्य धेरै बढेको हो ।
धेरै सेयरमूल्य घट्ने कम्पनीको सूचीमा जानकी फाइनान्स, एफपीओ बिक्री हुन नसकेको बुटवल पावर कम्पनी, युनाइटेड फाइनान्स, नेपाल इन्स्योरेन्स, साना किसान विकास बैंक लगायतका कम्पनी परेका छन् । जानकी फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले घट्दा बुटवल पावरको ५ प्रतिशतले तल झरेको छ । यसले एफपीओमा आवेदन गरेका लगानीकर्ताहरुलाई नाफा कमाउन नसकिने सन्देश दिएको देखिन्छ ।
समग्र बजार पूँजीकरण १६ खर्ब ४८ अर्ब ८६ करोड रुपैंया कायम भएको बजारमा केही कम्पनीहरुको सेयर सूचीकरणको नकरात्मक असर परेको छ ।
यस क्रममा सानिमा माई हाइड्रोको लकिंग पिरियडको सेयर कारोबारमा आउनुले कम्पनीको सेयर मूल्यमा पारेको नकरात्मक असर एउटा उदाहरण हो । यद्यपी सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासलाई नियालेका लगानीकर्ता तेस्रो त्रैमासमा आशावादी बन्ने संकेत पछिल्ला केही दिनको बजारको गतिले देखाएको छ ।