बैंकको साधारण सभाले साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर तथा कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।
जस अनुसार २०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्व ४३ करोड २७ लाख १२ हजार रुपैंयालाई वार्षिक ६ प्रतिशतका दरले हुन आउने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैंया नगद लाभांश बितरणको प्रस्ताव पारित गरेको हो ।
साधारण सेयरतर्फको चुक्ता पँुंजी ७ अर्व ०८ करोड ७६ लाख ८० हजारको लागि २० प्रतिशत बोनस शेयर वापत १ अर्व ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने ७ करोड ४६ लाख ०७ हजार १५८ रुपैंया नगद लाभांस साधारण सभाबाट पारित भएको हो । यो निर्णयबाट देशका कुना काप्चामा रहेका करिव २ लाख ४८ हजार शेयरधनीहरु लाभान्वित भएको बैक संचालक समितिमा अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले बताए ।
योसँगै बैंकको साधारण शेयर पुँजी ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार रुपैंयाबाट बढेर रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार रुपैंया पुगेको छ । नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैंया समेत गरी बैंकको चुक्ता पूँजी १२ अर्व ५२ करोड ०३ लाख ९२ हजार रुपैंयाबाट १३ अर्व ९३ करोड ७९ लाख २८ हजार रुपैंया पुगेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९८ अर्व १७ करोड ३४ लाख रुपैंया निक्षेप संकलन गरि ९७ अर्व १५ करोड ४९ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले १ अर्व २ करोड ९१ लाख रुपैंया नाफा आर्जन गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रमहरु संचालन गरिएको जनाएको छ । अत्यधिक प्रतिस्पर्धात्मक वजारमा समेत बैंक चालु आर्थिक बर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकांकहरुमा प्रगति गर्न बैंक लागि परेको छ । बैंक २०७४ साल माघ ७ गते ५१ औं वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा बैंकले संस्थागत सामाजिक सामुदायिक उत्तरदायित्व अन्र्तगत भूकम्प पीडित, वाढिपीडित, वृद्धाश्रम, खानेपानी, मठमन्दिर, स्कूल हाटबजार यात्री प्रतीक्षालय आदिमा आवश्यकता अनुसार सहयोग गदै आएको छ ।
हाल बैंकका २१३ कार्यालयहरूमा कोर बैंकिंग प्रणाली जडान भई कारोवार सञ्चालन भैरहेको, २८ स्थानबाट लकर सुविधा प्रदान गरिएको, ४१ कार्यालयबाट एटीएम सुविधा प्रदान भएको, १८६ वटा कार्यालयबाट आस्वा सुविधा उपलव्ध गराइएको, २२४ वटा कार्यालयबाट रेमिट सुविधा उपलव्ध गराइएको बैंकले जनाएको छ । त्यसै गरी १९८ कार्यालयहरूबाट अनलाइन बैंकिंग सेवा प्रदान हुँदै आएको र २८ वटा कार्यालयहरूबाट सरकारी कारोबारको सेवा प्रदान गरिरकेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए ।
साथै, कोर बैंकिंग प्रणाली लाई गत माघ ७ गते अझै आधुनिकीकरण गरि इन्टरनेट बैंकिंग, एटीएम, आस्वा लगायतका सेवा प्रभावकारी बनाइएको बैंकको भनाई छ । कर्जा व्यवस्थापनलाई थप वैज्ञानिक एवं प्रभावकारी बनाउन बैंकले ‘कर्जा कार्यविधि, २०७३’ लागु गरेको छ ।