बजार खुले लगत्तै निरन्तर उकालो लाग्न थालेको बजार पहिलो २० मिनेटमा नै १७ अंक बढीले उकालो लागेको थियो । त्यसपछि बजारको वृद्धि केही थामिन खोजेपनि विस्तारै उकालो लागेर २.५९ प्रतिशतले बढेर बजार बन्द भएको छ ।
निरन्तर ओरालो लागेको बजारलाई नयाँ सरकार गठनको प्रक्रिया बजार बढ्ने बहाना बनेको लगानीकर्ताहरु नै बताउने गर्छन् । शेयरबजार बढ्नुमा राजनैतिक कारण बाहेक अन्य केही नरहेको एक लगानीकर्ताले भने ।
लिन्च स्टक मार्केटका प्रबन्ध निर्देशक सरिता अधिकारीले स्थाई सरकार आउने आसामा नै लगानीकर्ता बजारप्रति उत्साही भएको बताईन् । प्रोमोटर सेयरको कारोबार नहुँदा पनि कारोबार रकममा आएको उत्साहले बजारलाई नयाँ दिशा दिने उनको बुझाई छ ।
कारोबारमा आएका सबै समूहमा हरियाली छाउदा विहीबार नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा पुगेको छ । १६५ कम्पनीको कारोबार भएको बजारमा ६६ करोड ३९ लाख बढीको शेयर किनबेच भयो ।
बजारमा एक्कासी आएको उत्साहमा राजनैतिक बाहेक अन्य कारण नभएको इन्भेष्टर फोरमका उपाध्यक्ष छोटोलाल रौनियारको भनाई छ । 'ओली सरकार आउने भएपछि विगतमा ओलीले लगानीकर्ता र शेयरबजारको विकास र सुधारका लागि ब्यक्त गरेका प्रतिबद्धता पुरा हुने आसा लगानीकर्तामा देखिदा सेयर कारोबारमा सुधार आएको हो, बजार सुधारका धेरै कामहरु गर्न बाँकी छ भोलिका दिनमा नयाँ सरकारले गर्ने कामहरुका आधारमा बजार निर्धारण हुन्छ ।; उनले भने
यसदिन सबैभन्दा बढी बीमा समूहको सूचक २१३ अंकले बढेको छ । व्यापार र अन्य समूहको सूचक एकल अंकले बढ्दा अन्य सबै समूहको सूचक दोहोरो अंकले बढेको छ ।
विहीबारको बजारमा कुमारी बैंकको सबैभन्दा धेरै ३ करोड ४८ लाख बराबरको कारोबार भयो । इन्भेष्टमेन्ट बैंकको पनि ३ करोड बढीको शेयर किनबेच भएको छ । नेपाल लाइफ, सानिमा बैंक र नबिल बैंकको पनि दुई करोड बढीको सेयर किनबेच भयो ।
यसदिन श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्सको शेयरमूल्य करिब दश प्रतिशतको हाराहारीमा बढेको छ । त्यस्तै मेरो माइक्रो, नेशनल माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्य पनि आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बढेको बजारमा एनएमबि शुलभ फण्ड, सिर्जना फाइनान्स, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य भने घटेको छ ।