अरुण भ्याली हाइड्रोपावरले एफपिओ रद्ध गर्नुको यस्तो छ भित्री रहस्य

Feb 20, 2018 merolagani

सर्वसाधारणको लगानी जोखिममा
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तर प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत कम्पनीहरुले दोस्रो बजार प्रभावित बनाउँदै चलखेल गर्ने क्रम बढेको छ । नियामक नभएको मौका छोपेर संस्थागत निर्णय भन्दै सेयर बजारमा चलखेल गर्न थालेपछि सर्वसाधरण लगानीकर्ताको लगानीको जोखिम बढ्दै गएको हो।

कम्पनीहरुले अस्थिर निर्णयहरु गर्दै लगानीकर्तामा भ्रम छर्दै सेयरबजारमा चलखेल गर्ने गरेको खुलासा हुने क्रम बढेको हो । बुटवल पावर कम्पनीले आइपिओ निष्काशन नगरी एफपिओ बिक्रीमा ल्याएर साधारण लगानीकर्तालाई भ्रमीत पारेको खबर सेलाउन नपाउँदै अर्को जलविद्युत कम्पनीले एकाएक एफपिओको प्रस्ताव बदलेर हकप्रद अगाडि सारेपछि लगानीकर्ता अलमलमा परेका छन् ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) को फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरेको एफपिओ निष्काशनको प्रकृया स्थगित गर्दै शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले गर्न मिल्ने नमिल्ने विषयका बारेमा जानकारी नलिइ अरुण भ्यालीले मनलाग्दी रुपमा छिनछिनमा निर्णय परिवर्तन गरेसँगै कम्पनीका लगानीकर्ता जोखिममा परेका छन् ।

कम्पनीको यो निर्णयले प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुका कारण सर्वसाधारणको लगानीको जोखिम बढ्दै गएको प्रष्ट हुन आउँछ । कम्पनीहरुले सर्वसाधारण लगानीकर्ताको भन्दा संचालकहरुको हितमा निर्णय गर्दै सेयरबजारमा चलखेल गर्ने क्रम बढेसँगै लगानीकर्ताको लगानी डुब्ने सम्भावना पनि बढेर गएको छ ।

सेयर लगानीकर्ता रमेश ढुगांनाले कम्पनीहरुले यसरी छिनछिनमा निर्णय बदलेर लगानीकर्ता माथि खेलवाड गर्ने गरेको आरोप लगाए । ‘लगानीकर्ताहरुले एउटा सोचले बजारमा लगानी गरेका हुन्छन् कम्पनीले अर्को निर्णय गरिदिदा लगानीकर्ताको हित विपरीत देखिन्छ । बेला बेला निर्णय उल्ट्याउने चलनले स्वार्थलाई उजागर गर्छ ।’ उनले भने ।

अरुण भ्यालीले आफ्ना अरु आयोजनाहरुमा लगानी जुटाउने भन्दै ३१ लाख ५७ हजार ८ सय ८३ कित्ता एफपीओ एक सय रुपैयाँ अंकित मूल्यमा २०१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३०१ रुपैयाँमा विक्री गर्ने प्रस्ताव गरेको थियो ।

 

तर अहिले आएर दोस्रो बजारमा नै अरुण भ्यालीको शेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँको हाराहारीमा छ । निरन्तर सेयर बजार ओरालो लागेपछि कम्पनीको सेयरमूल्य घटेपछि कम्पनीले एफपिओ प्रस्ताव बदलेको हो । एफपीओबाट आफ्नो योजना अनुसारको रकम नउठ्ने भएपछि हकप्रदको लोभ देखाएर रकम उठाउने चक्करमा अरुण भ्याली लागेको हो ।

अर्कातर्फ केही समय अघि एफपिओ निष्कासन गरेको बुटवल पावर कम्पनीको एफपिओ सहज रुपमा बिक्री नभएपछि कम्पनीले प्रस्तावित एफपिओ स्थगन गर्ने अवस्थामा पुगेको सहजै आँकलन गर्न सकिन्छ ।

अरुण भ्याली हाइड्रोपावरकी कम्पनी सचिव रञ्जु अधिकारीले बजारको अहिलेको अवस्था हेरेर नै एफपिओ प्रस्ताव स्थगन गरिएको बताइन् । एफपीओ भन्दा हकप्रद उचित विकल्प भएकाले यस्तो निर्णय गरिएको उनको भनाई छ ।

मेरोलगानीसँग कुरा गर्दै रञ्जुले भनिन्, ‘निरन्तर बजार घटेका कारण पहिला प्रस्ताव गरेको मूल्यमा एफपिओ निष्कासन गर्न नसकिने देखियो । अर्कातिर बुटवल पावरको एफपिओ बिक्री हुन नसकेको अवस्थालाई हेरेर कम्पनीले एफपिओ स्थगन गर्दै हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।’ शतप्रतिशत हकप्रद बिक्रीबाट ९.४ मेगावाटको काबेली बि वान क्यासेड आयोजनामा लगानी गर्ने कम्पनीको योजना रहेको उनको भनाई छ ।

नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुलाई हकप्रद र थप सार्बजनिक निस्कासन (एफपीओ) जारी गर्न कडा मापदण्ड तोकेपछि कम्पनीले ती मापदण्ड पुरा गरेर एफपीओ प्रस्ताव गरेको दाबी गरेको थियो । तर अहिले आफ्नो योजना सफल हुने नदेखेपछि कम्पनीले लगानीकर्तालाई हकप्रदको भारी बोकाएर भएपनि आफु सफल हुने प्रस्ताव अघि सारेको हो ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यस्तो छ कम्पनीको अवस्था

अरुण भ्यालीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समग्र आयमा १७.९४ प्रतिशतले कमी आएको छ । विद्युत बिक्रीको आय र संचालन मुनाफा घटेपछि कम्पनीको समग्र आय घटेको हो । कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । अरुण भ्यालीको प्रति शेयर आम्दानी ३.६५ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ५५.०२ गुणा, प्रति शेयर नेटवर्थ १०२.३० रुपैयाँ र तरलता अनुपात २.७१ प्रतिशत रहेको छ ।

यस्तो वित्तीय अवस्था हुँदा प्रस्तावित हकप्रद आएको खण्डमा प्रतिसेयर आम्दानी कहाँ पुग्ला बिचारणीय प्रश्न तेर्सिएको छ । लगानीकर्ताले कति प्रतिफलको अपेक्षा गर्ने ? सिमित सञ्चालक मालामाल हुने अनि लगानीकर्ता थाप्लोमा हात लगाएर बस्नु पर्ने अवस्था निम्त्याउने बाटोमा कम्पनी अघि बढेको हो ।

कम्पनीको कमाई घट्दै गएको र सेयरबजारमा कम्पनीको सेयरमूल्य समेत घटेको अवस्थामा बजारमा चलखेल गर्ने उदेश्यले नै एफपिओ प्रस्ताव रद्ध गर्दे हकप्रद प्रस्ताव गरिएको बजारका जानकारहरु बताउँछन् । कम्पनीको यस्तो चलाखीपुर्ण निर्णयको पछि दौडिनु पहिले समग्र अवस्था बुझ्न पर्ने उनीहरु बताउँछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।