मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक नेप्से १७.१८ अंकले घटेर १३९६.७२ अंकमा झरेको छ । आइतबार नेप्से ११ अंकले बढीले घटेको थियो भने गत विहीबार ३६ अंकले बढेको थियो ।
दुई पार्टी एकिकरण भएपछि बजार बढ्ने अनुमान गरिए अनुसार नै केही सकारात्मक संकेत देखिएको थियो । तर नयाँ सरकारको अर्थमन्त्री को बन्ने भन्ने चर्चा बजारमा फैलिएसँगै सेयरबजार ओारालो लागेको हो । पूर्व-गभर्नर समेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभामा मनोनित भएपश्चात उनलाई सम्भावीत अर्थमन्त्रीको रुपमा हेरिएको छ । सेयर बजारप्रति कम उदार मानिएका खतिवडा अर्थमन्त्री बन्ने चर्चाले पनि बजारमा नकारात्मक प्रभाव परेको अर्काथरी लगानीकर्ताको बुझाई छ ।
बजारलाई आधार दिने सुधार र विस्तारका कार्यक्रम कुनै भईरहदा राजनैतिक विकास क्रमका घटनाहरुलाई आड लिएर सेयर बजारमा चलखेल बढ्न थालेको लगानीकर्ताले महसुश गर्न थालेका छन् । राजनैतिक घटनाको आडमा सेयर बजारका अल्पकालिन लगानीकर्ताहरु सक्रिय हुँदा बजारको वृद्धि नटिकेको एक लगानीकर्ताले बताए ।
तर ब्रोकरहरुले भने बैंकको ब्याजदर उच्च भएका कारण सेयर बजार बढ्न नसकेको बताउँछन् । त्यस्तै सेयर बजारमा बढ्दो आपूर्ति, हकप्रदको भारी र सार्वजनिक निष्कासनको क्रम पनि एकसाथ चलेकाले दोस्रो बजार बढ्न नसकेको उनीहरुको भनाई छ ।
मंगलबार दशवटा समूहको कारोबार भएको बजारमा आठ समूहका सूचक घटेका छन् । यसदिन वाणिज्य बैंक १५.३९, व्यापार ३.०४, विकास बैंक १८.२८, जलविद्युत २५.४२, फाइनान्स २.८८, बीमा ११०.५६, उत्पादनमूलक समूह ५०.२६ र लघुवित्त ३७.५१ अंकले घटेका छन्। होटल ३.३५ र अन्य ०.३८ अंकले बढेका छन्।
मंगलबार १६० कम्पनीका १३ लाख कित्ता शेयर ४० करोड रुपैयाँमा खरीद बिक्री भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ७० लाख रुपैयाँको कारोबार भयो। प्रोगेसिभ फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत कमाए। समिट माइक्रोफाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।