आइतबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयरबजार बन्द हुने समयसम्म आईपुग्दा १२.२५ अंकले झरेर १३७४.७३ अंकमा बन्द भएको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहका उपसूचक घटेपछि समग्र नेप्से सूचक घटेको हो ।
यसदिन १४६ कम्पनीको ५ लाख २८ हजार कित्ता सेयर २९ करोड १८ लाख रुपैयाँ बराबरमा किनबेच भए । कारोबार रकम गत विहीबारको तुलनामा १४ करोड कम हो । बजारसँगै कारोबार रकममा समेत गिरावट आएपछि सेयर बजारका लगानीकर्ता निराश बनेका छन् ।
आइतबार नै एक वाणिज्य बैंकले विभिन्न पत्रपत्रिकामा बचतको ब्याजदर बार्षिक दश प्रतिशत पुर्याएको विज्ञापन प्रकाशित गरेको थियो । त्यस्तै अर्को विकास बैकले मुद्यत्ती खातामा १२ प्रतिशतको ब्याजदरको अफर सार्वजनिक गरेसँगै सेयरबजारमा त्यसको प्रभाव परेको विश्लेषकहरुले बताएका छन् ।
निरन्तर सेयरबजार घटिरहेका बेला बैंकहरुले बचतमा ब्याजदर बढाएपछि सेयरमा आर्कषण कम आएको उनीहरुको भनाई छ । अर्कातर्फ बचतको ब्याजदर बढेपछि कर्जाको ब्याजदर समेत बढ्ने चिन्ता लगानीकर्तामा देखिएको छ ।
सिभिल बैंकले सगरमाथा बचत खातामा बार्षिक दश प्रतिशत तथा एनआइशि एशिया बैंकले समुन्नत्ति प्लस बचत खातमा दश प्रतिशत ब्याजदरको अफर गरेको छ । त्यस्तै कैलाश विकास बैंकले सिल्भर जुब्ली निक्षेप मुद्यत्ती योजनामा १२ प्रतिशत ब्याजदर अफर गरेको छ ।
आइतबारको सेयरबजारमा ९ समूहको कारोबार भएकोमा होटल समूहको सूचक मात्रै सकारात्मक देखिएको छ । बीमा समूहको सबैभन्दा धेरै ४५ अंकले घटेको छ भने बजारमा ठूलो हिस्सा ओगटेको वाणिज्य बैंक समूह नै १३ अंकले ओरालो लागेको छ । विकास बैंक तथा लघुवित्तकम्पनीको सूचक पनि दोहोरो अंकले ओरालो लागेको छ ।
यसदिन राष्ट्रिय बीमा कम्पनीको मात्रै साधारण र संस्थापक गरेर नौ करोड बढीको शेयर किनबेच भयो । कम्पनीले १२० प्रतिशत बोनस प्रस्ताव गरेपछि उच्च कारोबार भएको हो । राष्ट्रिय बीमा कम्पनीको ५ करोड ४७ लाख बराबरको संस्थापक तथा ३ करोड ४३ लाख बराबरको साधारण सेयरको किनबेच भएको छ । नबिल बैंकको पनि एक करोड बढीको सेयर कारोबार भयो ।
यसदिन सबैभन्दा बढी शेयरमूल्य बढ्ने सिनर्जीपावरको सेयरमूल्य दुई प्रतिशतले उकालो लागेको छ । सबैभन्दा धेरै सूर्यलाइफको चार प्रतिशतले घटेको छ ।