एक दिनको कुरा हो, सुगाले उनीहरुलाई प्रवचन सुन्न जाँदै गर्दा म कहिले मुक्त हुन्छु भनि पण्डितलाई मेरो तर्फबाट प्रश्न सोधिदिनु होला भन्यो । सधैजसो प्रवचन सकिएपछि जिज्ञासा राख्ने पालो आयो । बडा बाले पण्डितलाई भन्नुभयो,एउटा प्रश्न छ जुन मेरो नभई मैले पालि राखेको सुगाको हो, उसले म कसरी मुक्त हुन्छु सोधिदिनु भनेको छ ।
प्रश्न सुन्नासाथ पण्डित बा बेहोस हुनुभयो र केही बेरपछि होसमा आउनुभयो । यस्तो घटना भएपछि बडा बा र आमा केही नबोली घर फर्किए । र सुगालाई सबै बेलिविस्तार सुनाए ।
भोलिपल्ट प्रवचन सुनेर घर फर्किदा सुगा बेहोस भएर पिँजडामा पल्टिरहेको भेटियो हतार हतार बडा बा र आमाले सुगालाई पिँजडाबाट निकाले, त्यती नै बेला सुगा उडेर मुक्त भयो ।
भोलिपल्ट पण्डित बाले सुगाको हाल के छ भनी बडा बा लाई सोध्नुभयो । सुगा त एकदम चलाख निस्क्यो हामीलाई बेहोसीको नाटक गरेर भाग्यो । पण्डित जीले मुस्कुराउदै भन्नु भयो उसले त मेरो जवाफ बुझेछ, तपाईहरु जसले जवाफ उसलाई सुनाउनु भयो तर आफैले बुभ्नु भएनछ ।
यो वास्तविक घटना आजको शेयर बजार संग दुरुस्त मेल खाने खालको छ । नोवेल पुरस्कार विजेता रिर्चड थेलरले भने झै मानिसमा विवेकहीनता हुन्छ । मानिसमा भिडलाई पच्छाउने प्रवृति, अति आत्मविश्वास, तिव्र प्रतिक्रिया जनाउने, उपलव्धि भन्दा नोक्सानीलाई वढि भार दिने जस्ता व्यवहार हुन्छन् फलस्वरुप विवेकहीन निर्णय गर्न पुग्छन् ।
शेयर बजारमा संलग्न मानिसहरु यस्तो बिशेषता बाट भरिपुर्ण हुन्छन् । यस्तो बिशेषताबाट प्रस्तुत हुने व्यवहारले बजार प्रभावित हुनु स्वभाविकै थियो । शेयर बजार सूचनाको आधारमा कारोवार हुने बजार हो । सूचना र भावनाले शेयर खरिद वा बिक्री निर्णयमा विपरित प्रभाव पार्दछ । अनुत्पादक शव्दले बजारमा ठुलो तरंग आयो । मानिसहरुले तिव्र प्रतिक्रिया जनाए बजारमा भारी गिरावट आयो । यसमा सूचना भन्दा भावना हावी भयो र मानिसहरुले शेयर विक्री गर्ने निर्णय गरे ।
शेयरमा गरिएको लगानी उत्पादक हो की अनुत्पादक भन्ने प्रश्नको जवाफ अरु कसै संग मागिरहन जरुरत छैन । यसको सहि जवाफ तपाई स्वयम बाहेक अरु कसैले दिन सक्दैन् ।
यदि तपाईले शेयरमा गरेको लगानीलाई सट्टेबाजी सम्झिनु हुन्छ भने, डुब्ने वाला छ, अरुको लहडमा लगानी गरेको हुँ भन्ने ठान्नु हुन्छ, कम्पनीका बारेमा केही नवुझि लगानी गर्नु भएको छ, अनुत्पादक हो भन्ने ठान्नु हुन्छ भने तपाइका लागि शेयरमा गरिएको लगानी अनुत्पादक नै हो । किनभने तपाइले देखाउने तिव्र प्रतिक्रियाको कारण अरुलाई अवसर सिर्जना भइ दिन्छ ।
यदि तपाइले बजारको विशेषता बुझेर, कम्पनीको बारेमा जानेर, प्रतिफल र जोखिमको लेखाजोखा गरेर, देश आर्थिक समृद्घि तर्फ अघि बढदै छ भन्ने जानेर, राजनैतिक अस्थिरता समाप्त भएको छ भन्ने जानेर तथा आनो लगानी प्रति आफै पुर्ण विश्वस्त हुनु हुन्छ भने शेयरमा गरिने लगानी अनुत्पादक हो भनेर अक्सफोर्ड डिक्सनेरीमा लेखे पनी कुनै फरक पर्ने वाला छैन । तसर्थ भावनामा बहकिइ नोक्सानी ब्यहोर्नु भन्दा योजना बनाई लगानी गरौँ र कारोबारी होइन वास्तविक लगानीकर्ता बनौँ ।
प्राथमिक बजार पहुँच र प्रविधिको आधारमा भर्खर एक उचाइमा पुगेको छ । दोश्रो बजार, बजार हो भनेर कुरा गर्न योग्य हुन सकेको छैन । म कसैलाई दोष दिने पक्षमा छैन किनभने परिर्वतन र विकास रोक्न सक्ने सामथ्र्य कसैसँग छैन । समय क्रममा दोश्रो बजारको विकासले उचाई हाँसिल गर्ने नै छ । अहिले नै यो वा त्यो भएन भनेर आकाश खसेजस्तो रोईलो गर्न आवश्यक छैन तर खबरदारी र सकारात्मक दवाव जारी नै हुनु पर्दछ ।
नेपालको शेयर बजार कुशल बजार होइन भन्ने यावत कारणहरु छन् । जसमध्ये सुचीकृत कम्पनीमा विविधता छैन, साधारण शेयर भन्दा अरु कारोबार योग्य औजारहरु उपलव्ध छैनन्, सूचनामा पहुँचता र उपलव्धता छैन, संस्थागत लगानीकर्ताहरुको उपस्थिति न्यून छ, कारोवारमा सहजता छैन, राफसाफको सुनिश्चितता छैन, दक्ष जनशक्ति छैनन्, पारदर्शिता छैन, नियामक निकायहरु सहजकर्ता नभई शासकको भुमिकामा छन्, ।
लगानीकर्ताको कहीँ स्थान र महत्व छैन अझ महत्वपुर्ण कुरा त नेतृत्वको हिसावले, संरचनाको हिसाबले, जवाफदेहिताको हिसावले, प्राथमिकताको हिसाबले, प्रविधिको हिसाबले, नियमको हिसाबले नैतिकताको हिसाबले दयनीय अवस्थामा छ ।
यस्तो विशेषताले भरिपूर्ण बजारबाट पनि लगानीकर्ताले लाभ लिन सक्छन् । यस्तो स्वभाव भएको बजारले कस्तो प्रभाव पार्न सक्छ भनेर आँकलन गर्ने क्षमता लगानीकर्तामा छ भने त्यो लगानीकर्ता सबल र सफल लगानीकर्ता हो ।
देशले स्थिर सरकार पाएको छ । आर्थिक समृद्धि सरकारको प्रमुख प्राथमिकतामा छ । पूँजी बजार आर्थिक समृद्घिको संवाहक हो । पूँजी उपलव्धताको स्रोत पूँजी बजार हो । यो विषय खरो रुपमा बुझ्न सक्नेहरु यसको नेतृत्व तहमा देखिने नै छन् । चाँडै नै बजारमा उल्लेख्य सुधारहरु देखिनेछन् । बजारमा शुद्धता बढ्ने छ ।
प्रविधिको, औजारको, संरचनाको, जनशक्तिको, वित्तीय साक्षरताको, उपकरणको बजारमा उपस्थिति देखिने नै छ र बजार विश्वसनीय र सक्षम हुनबाट रोक्न सक्ने ताकत कसैमा हुनेछैन । विचारको, आवश्यकताको, अर्थको, विकासको , बजारको आकार र प्रकार दिन दिनै बढ्ने क्रममा नै छ । तसर्थ निकट समयमा शेयर बजार सुखद हुदैँछ ।
(बस्नेत सेयर बजारका सक्रिय लगानीकर्ता हुन् )