नेपाल बैंकको एफपिओ कहिले आउला ? सेयरधनीलाई १ वर्षपछि मात्र लाभांश

Mar 09, 2018 Merolagani

नेपाल बैंक (NBL) ले सरकारी स्वामित्वलाई ५१ प्रतिशतमा झार्नका लागि थप नयाँ सेयर (एफपीओ) निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित गराएको छ । अधिकांश सेयरधनी एफपिओ पक्षमा नरहेपनि ६२ प्रतिशत सरकारी स्वामित्वले एफपिओ प्रस्ताव पारित गरेको हो । तर तत्काल बैंकको एफपिओ निष्काशन नहुने अवस्था देखिएको छ ।

पछिल्ला दिनमा एफपिओ निष्काशनको क्रममा सेयर बिक्री नहुने समस्या बढेर गएका छन् । पछिल्ला केही निष्काशनले यसलाई पुष्टि गरिरहेको सन्दर्भमा नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको हो । यस अघि नै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले कम्तीमा प्रिमियम सहित ३ सय रुपैयाँमा मात्र सेयर निष्काशन हुने बताई सकेका छन् ।

अहिले दोस्रो बजारमा नै नेपाल बैंकको प्रतिकित्ता सेयर ३३७ रुपैयाँमा किनबेच भैरहेको छ । यस आधारमा बैंकले प्रस्ताव गर्ने एफपीओको मूल्य निकै महंगो पर्न जाने भएकाले बैंकले एफपिओको प्रकृया तत्काल अघि नबढाउने देखिएको हो ।

साथै बैंकले लाभांश खुवाउनकै लागि एफपिओ ल्याउन लागेको भए पनि सस्तोमा नल्याउने योजनामा रहेकाले पनि तत्काल एफपिओ नआउने देखिएको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीमा नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतमा ल्याउन एफपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । एफपीओ बिक्री गरेर बैंकले सेयरधनीलाई लाभांश खुवाउने लक्ष्य बनाए पनि आगामी आर्थिक वर्षसम्ममा त्यो लक्ष्य पुरा हुने देखिँदैन ।

८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सञ्चित नोक्सानी २ अर्ब रुपैयाँ छ । सञ्चित नोक्सानी धनात्मक नबनुन्जेल बैंकले लगानीकर्तालाई कुनै पनि किसिमको प्रतिफल बितरण गर्न सक्दैन । यसै आधारमा एफपिओ निष्काशन प्रकृयालाई धितोपत्र बोर्डले पनि मापदण्डको प्रश्न चिन्ह उठाउन सक्छ ।

बैंकको पूँजीगत जगेडामा २५ करोड ९७ लाख, सेयर प्रिमियममा १३ करोड २८ लाख रुपैयाँ सञ्चित छ । यो रकम मात्र बैंकले प्रतिफलका लागि सदुपयोग गर्न सक्ने रकम हो ।

सञ्चित नोक्सानीको अवस्थामा रहेकाले बैंकले यो रकम सञ्चित नोक्सानी धनात्मक बनाउन सदुपयोग गर्नुपर्छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब हाराहारीको कमाई गर्न सकेमा सञ्चित नोक्सानी बल्ल धनात्मक हुनेछ । त्यस पछिका आर्थिक वर्षमा हुने कमाईबाट मात्र बैंकले लाभांश बितरण गर्न सक्छ ।

उल्लेखित सबै अवस्थाका आधारमा बैंकले तत्काल एफपिओ निष्काशन गर्न नसक्ने देखिएको हो । धेरै समय पछि मात्र एफपिओ आउने सम्भावना मात्र रहेकाले एफपीओ आउँछ नै भनेर अहिले ठोकुवा गर्न सकिन्न ।

बुटवल पावर कम्पनीको एफपीओ बिक्री नहुनु, एफपीओ प्रस्ताव पारित गरेका केही कम्पनीले एफपिओ छाडेर हकप्रदमा ध्यान केन्द्रित गर्नु लगायत कारणले नेपाल बैंकको एफपीओ प्रभावित हुने देखिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।